टोलभरि हल्ला चल्यो ‘बोक्सी आई बोक्सी’
अलच्छिना डंकिनीले मान्छेलाई टोक्छी
नारी नारी अघि सरे लछार पछार गरे
नाङ्गै पारी तिनको मुखमा दिशा पिसाब भरे
चुट्दै भने यो बोक्सीले सत्य बोल्नु पर्छ
नत्र भने आगो लगाई ज्युँदै पोल्नुपर्छ
टोलभरी………. ।
झुत्री तिनी कुप्री थिइन् दाँत झरेकी थोते
विधवा ती बुढीआमै थिएनन् चुरा पोते
जाडो छल्न थोत्रा लुगा सय ठाउँ टालेकी
आफ्नो भन्ने कोहि नहुँदा माग्दै पेट पालेकी
टोलभरि……..।
संसारलाई सृष्टि गर्ने पूज्य नारी जाति
ढुङ्गा जस्तो नबनाइदेऊ तिम्रो कोमल छाती
ती आमा त देवी पो हुन् ‘बोक्सी’ हुँदै हैनन्
विश्वास गर यो धर्तीमा ‘बोक्सी’ छँदै छैनन्
टोलभरि…….. ।
साहित्यकार नरबहादुर विसीद्धारा प्रकाशित ‘रातो घाम’ नामक गीत संगालोबाट ।