• फाल्गुन २८ २०८२, बिहीबार

लुम्बिनी प्रदेशसभा सदस्य शाही र वलीलाई पदमुक्त गर्न मिल्दैन : प्रदेशसभा सचिवालय

भाद्र ६ २०७८, आईतवार

काठमाडौँ। लुम्बिनी प्रदेशसभा सचिवालयले नेकपा एमालेले दुई सांसदलाई गरेको कारबाही मान्य नहुने जनाएको छ।

सांसदद्वय अजय शाही र विमला खत्री वलीमाथि एमालेले गरेको कारबाही प्रक्रिया कार्यान्वयन हुन नसक्ने ब्यहोराको पत्र प्रदेशसभा सचिवालयले एमालेलाई पठाएको छ। सचिवालयले दुवै सांसदलाई पदमुक्त गर्ने आधार नभएको भन्दै पदमुक्तको सूचना जारी गर्न नमिल्ने पत्र पठाएको हो।

एमालेले प्रदेश सरकारमा सहभागी शाही र उपनिर्वाचनबाट प्रदेशसभा सदस्यमा विजयी वलीलाई पार्टीले कारबाही गरेको विवरणसहित उनीहरुलाई पदबाट मुक्त गर्न प्रदेशसभा सचिवालयमा पत्र पठाएको थियो।

एमालेलाई पठाएको पत्रमा प्रदेशसभा नियमावलीको अनुसूची ७ अनुसार दलले भर्ने फारममा सांसद वली र शाही दुवैको नाम दलका सदस्यका रुपमा समावेश गरेको भए पनि उनीहरुले भर्ने अनुसूची ६ अनुसारको व्यक्तिगत विवरण फारममा आफू एमालेको सदस्य नभएको ब्यहोरा भरेका कारण पदमुक्त गर्न नसकिएको सचिवालयले प्रस्ट पारेको छ।

सचिवालयले एमालेलाई पठाएको जवाफी पत्रमा शाही निर्वाचनमा स्वतन्त्र समूहबाट सहभागी भएको र उनको व्यक्तिगत विवरणमा पनि स्वतन्त्र समूहको तर्फबाट प्रदेशसभा सदस्य रहेको उल्लेख भएको कारण उनलाई पदमुक्त गर्न नमिल्ने उल्लेख छ। दाङबाट उपनिर्वाचनमार्फत विजयी वलीले फागुन २३ गते सर्वोच्चको फैसलापछि आफू कुनै दलको संसदीय दलमा सहभागी नभएको दाबी गरेकी छन्।

एमालेले ती दुवै सांसदलाई पदमुक्त गर्न माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ भने मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिनसमेत ढिला हुँदै गएको छ। प्रदेशसभाको बैठक सोमबार बस्दै छ।