• मंसिर ११ २०८१, मंगलवार

मष्ट धर्ममा जनै लगाउनु पर्दैन, किन ?

भाद्र ६ २०७८, आईतवार

जनै लगाउने संस्कारलाई ‘उपनयन संस्कार’ भनिन्छ । उपनयन संस्कारको अर्थ ईश्वरको नजिक जानु भन्ने हुन्छ । तर मष्ट धर्ममा ईश्वरीय अवधारणा छैन ।

उपनयन संस्कार अन्तर्गत लगाइने जनैमा नौवटा डोराहरु हुन्छन् । हरेक डोरालाई ब्रम्हा, विष्णु, महेश्वर जस्ता देवताको प्रतिक मान्ने गरिन्छ । जबकी ब्रम्हा, विष्णु, महेश्वर भन्दा ठूला देवता मष्ट देवाइ हुन् भनि मष्ट धर्मको फागमा भनिएको छ ।

‘न माः जैका को रे होलो ठुला
तेत्तिस कोटी देउइ को रे होलो ठुलो
देवता मा: जैका मुन्ठाइ रे ठुला ।’

मष्ट भन्दा ठूला अरु कुनै देवता छैनन् भन्ने धर्मले जनै लगाउनु पर्ने देखिँदैन ।
दोश्रो, हिन्दु धर्मको स्कन्दपुराणमा षोडशोपचार पुजा अन्तर्गत अष्टम उपचारमा एउटा श्लोक जनैका बारेमा रहेकोछ । ब्रम्हाले नारदलाई जनैका बारेमा उपदेश दिँदा भनिएको श्लोकमा भनिएकोछ,

‘जन्मना जायते शूद्रः संस्कारात् द्विज उच्यते ।
शापानुग्रहसामथ्र्यं तथा क्रोधः प्रसन्नता ।’

यसको अर्थ जनै नलगाएसम्म जन्मँदा ब्रह्मण नै भए पनि संस्कारले शुद्र नै हुन्छ, जनै धारण गरेपछि वेद अध्ययन गर्न योग्य हुन्छ भन्ने हो ।

मष्ट धर्ममा चार वेद, चार उपवेद आदि अध्ययन गर्न अनिवार्य नभएको हुँदा जनै लगाएर वेद अध्ययन गर्न र यज्ञ गर्न योग्य हुनुपर्ने प्रावधान नभएको हुँदा जनै लगाउनु पर्दैन ।

तेश्रो कुरा, मष्ट धर्म मुलतः खसजातिले मान्ने गरेको पाइन्छ । इ.पु. ४०० वर्ष अघि लगभग पाँचौ सताब्दीको आसपासमा कुमाउ गढवाल छेत्रको बाटोहुँदै चित्राल गीलगिट पर्वतको नाकाबाट नेपाल प्रवेश गरी बस्ती विस्तार गरेका खसहरु धेरै कालाखण्डसम्म अवैदिक नै थिए ।

विस्तारै पछि मात्र साँस्कृतिक माध्यमबाट हिन्दु बनेका हुन् भन्ने ऐतिहाषिक तथ्य घाम जस्तै छर्लंग छ भनि लेखक भिमबहादुर थापाले लेख्नु भएको छ । खसहरु लामो समयसम्म अवैदिक अवस्थामा नै रहेका थिए । हिन्दु धर्म अन्तर्गरगत अवैदिक खसजातिलाई जुम्लाका गगनिराज नाम गरेका राजाले जनै लगाउन लगाएको कुराको उल्लेख योगी नरहरीनाथको सन्धि पत्र संग्रहमा छ ।

जनै पूर्णिमालाई भदौरे पूर्णे पनि भनिन्छ । भदौरे पूर्णे मष्ट देवाताको विशेष पूजा गर्ने दिन पनि हो ।
मष्ट गोसाईंको घर माण्डौ वा वन माण्डौमा सुख, शान्ति तथा रोग विनाशका लागि पूजा गर्ने, धुपबत्ती बाल्ने र पूजा पश्चात प्रसादको रुपमा धामी वा घरको मुलीबाट गोसाईंलाई चढाएको आलम (राता, सेता, पहेंला धजा) वा डोरा ग्रहण गर्दा कुनै दोष लाग्दैन ।

मष्टका धामी अरुण छेत्रीले भदौरे पूर्णिमाका बारेमा यसरी लेख्नु भएको छ, ( भदौरे पूर्णेमा बाह्र भाइ मष्टो, नौ भुवानी र अठार लाडेरो माथि अथाह श्रद्धा, प्रेम राखेर धुपढुवाँर गरिने गरिन्छ, यसैले सबै खस सन्तानमा महामष्टको असिम कृपा रहने विश्वाश गरिएको छ, हामी माझ प्रेमभाव, एकता, धैर्य, दृढता आदिका शुभ गुणमा बढोत्तरी हुने हुँदा भदौरे पूर्णिमाका दिन मष्ट गोसाईंको पूजा गरिन्छ ।)

यसरी मष्ट गोसाईंको पूजाई गरिसके पछि आशिर्वाद सहित आलम लगाउँदा भन्ने फाग (मन्त्र) यस्तो रहेको छ ।

‘मष्ट गोसाईं दाहिना भया
कुल देवा खुशी भया
माता भुवानी प्रसन्न भया
आयु वढ्न्या, श्री सम्पत्ती बढ्न्या
सुख मिल्न्या, शान्ती मिल्न्या
इष्त मित्र दायिना हुन्या
माङगल हुन्या, निरोगी हुन्या
दुःख नाश, सत्रु नाश
रोग, दोस बिनास
पित्री फल महाफल
पित्र वल महावल
श्री मष्ट गोसाइ,
श्री कुल देवाइ,
सधैं दाहिना भया’
लेखकः मष्ट धर्म महासंघका केन्द्रिय सचिव हुन् ।