• मंसिर ११ २०८१, मंगलवार

एमाले विभाजित हुँदा देखिएको ‘विचौलिया धार’

भाद्र ५ २०७८, शनिबार

काठमाडौं । देउवा सरकारले दल विभाजनको अध्यादेश ल्यायो । शायद, सत्ताधारी गठबन्धनका नेताहरुको सहमतिमै होला । यसले माधव नेपालको नेतृत्वमा अर्को पार्टी दर्ता हुनससक्ने ढोका पनि खोलिदियो ।

नेपाल समूहको दल दर्ता हुने भएपछि उक्त समूहबाट आआफ्ना नाम कटाएर लुरुक्क बालकोट पुगे केही युुवा नेताहरु । बालकोटले उनीहरुलाई मुखभरि जवाफ दिएर आक्रोशित बनाएर फिर्ता पठायो ।

तर पनि एकताको आवरणमा यो विचौलिया समूह ‘तेस्रो धार निर्माण’को ढोल पिट्दै पार्टी एकताको हल्लामा दत्तचित्त रहिरह्यो ।

यो धारमा तात्कालीन माधव–झलनाथ पक्षको स्थायी कमिटीमा आवद्ध युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

एकताका यी युवा नेताहरु तात्कालीन एमालेभित्रका आशालाग्दा अनुहार थिए । विचारको आवरण दिंदै कुरा पनि चर्का चर्का नै गर्दथे । तर यिनैले पार्टी एकताका नाममा ‘घुर्की, धम्की र बार्गेनिङ’ को कुट अपनाउन विचौलिया धार निर्माण गरे ।

बालकोटमा ‘राजाका अगाडि बाबाका दुहाई’ को चटनी चर्को भएपछि फर्कने बित्तिकै घनश्याम भुसाल आक्रोशमै गर्जिए– ‘एमाले विभाजनको मुख्य जिम्मेवार ओली हुन्, १०–बुँदे लागू नभए एमालेमा ठूलो विद्रोह हुन्छ ।’ तर उनले संकेत गरेको यो विद्रोह ओली एमालेबाट हुनसक्ने संभावना नै छैन ।

माधव नेपालको पंक्तिबाट युवा नेताहरुको अनुहारमा जुन विचौलिया धार बाहिरियो, त्यसै गरी ओली एमालेबाट बाहिरिने संभावना देखिदैन । युवा नेताको विचौलिया प्रवृत्तिमा अब आक्रोशसँगै निरीहता पनि मिसिन गएको छ ।

‘अङ्गुर अमिला छन्’ भन्ने ‘चतुरे स्याल’को नीतिकथाबाट नेपालीहरु दिक्षित छन् । जनताले यसलाई जस्ताको तस्तै अर्थात् ‘ब्ल्याक एण्ड ह्वाइट’ मा सपाट रुपमा बुझेका छन् । कतै ‘एकताको आवरण’मा ‘अवसरको खोजी’ नै अन्तिम प्रण बन्नजाने भयाबह अवस्था आएको त होइन भन्ने जनतामा पर्न थालिसकेको छ । नाटकको कलात्मक प्रदर्शन हेर्न लायककै हुन्छ, तर कलाविहीनता पाच्य हुँदैन ।

अब त नेकपा एमाले र नेकपा समाजवादीले यो ‘धार’ कतै ‘बार्गेनिङ ग्रुप’ त होइन भनी नियालेर हेर्न थालेका छन् । यसका केही वस्तुगत आधारहरु पनि छन् ।

यिनीहरुमा ‘इधरका माल उधर, उधरका माल इधर’ गर्ने र ‘अवसर समात्ने’ प्रवृत्ति हाबी हुँदै गएको त होइन भन्ने आशंकाले पुट पाउँदै पनि गएको छ । सामान्य मानिसको पनि इमान हुन्छ, जमान हुन्छ र तदनुरुप उसको स्थान र सम्मान पनि ।

यी युवा नेताहरुले यी सबै गुमाउनु राजनीति होइन । ओली पक्षतिर निरन्तर पक्षधरता लिइरहेको भए पनि सामान्य इमान त बच्ने थियो । राजनीति हो, विचार र धैर्यताको खाँचो हुन्छ नै । माधव नेपाल र झलनाथ खनाललाई नानाभाती कुरा गरेर बोक्नुसम्म बोक्ने र बोकेपछि पछार्ने यिनै युुवा नेता देखिन आए ।

उता ओली एमालेसँग धम्कीपूर्ण बार्गेनिङ गर्ने पनि यिनै देखिन गए । नेपाली राजनीतिले देश हाँक्ने सुपात्र खोजिरहेको छ । दलाल होइन, जसले इधरका माल उधर, उधरका माल इधर गरोस् ।

पार्टी फुटिसक्यो, त्यो पनि यिनीहरुकै कारणले ! उता कार्यदलबाट सिफारिस गरिएको १०–बुँदे सहमति अक्षरशः पालना हुनु पर्ने ‘त्यान्द्रो’ समाएर यो टिम कहिले बालकोट त कहिले कोटेश्वर देउसीभैलो खेलिरहेको छ ।

यो समूहलाई थाह भएकै हुनुपर्छ कि विदेशी शक्तिको नेपाली राजनीतिमा ध्रुवीकरणको चासो र दबाब कम छैन । भित्र जोडिन खोजे पनि बाह्य शक्तिले तोडताड पारिरहेकै छ । ‘अलिकति तिम्रो पनि गल्ती भो, अलिकति मेरो पनि गल्ती भो, बाँकी गर्यो पापी संसार’ बोलको नेपाली गीत नेपाली राजनीतिमा चरितार्थ भैसकेको छ । तर यही कुराको बुझ बचाउनु अज्ञानता भन्न त मिल्दै मिल्दैन, बरु निहित स्वार्थ भन्न बढी उपयुक्त होला ।

कम्तिमा पनि भुलेरै भए पनि युवा नेताहरुको यो टिमले यो ‘बालरोगी गल्ती’ नगरेको भए जनतामा कुरा काट्ने र हाँसेर दिन बिताउने अवसर त आउने थिएन कि ? निधार खुम्च्याएर सोच्ने बेला आएको छ ।