काठमाडौँ। अमेरिकाको नेश्नल अस्ट्रनाउट एण्ड स्पेस एड्मिनिस्ट्रेशन (नासा)ले सौर्य परिवारमा रहेको सबैभन्दा तातो ग्रह शुक्रमा अन्तरीक्ष यान पठाउने आन्तरिक तयारी गरिरहेको छ । अबको सात वर्षभित्र मिसन पूरा गर्नका लागि यान पठाइसकिने नासाको दाबी रहेको छ ।
पृथ्वीको नजिक रहेर पनि निकै तातो अवस्थामा रहेको शुक्रग्रहबारे हुने जानकारीले अन्तरीक्षबारे थप अध्ययनका लागि ठूलो सहयोग पुग्ने छ । नासाको आशा छ, सन् २०२८ र २०३० को बीचमा यो मिसन पूरा भैसक्ने छ । यस अघि नासाले सन् १९९०मा म्याजेलन मिसन शुक्र ग्रहनजिक पठाएर केही सूचना संकलन गरिसकेको छ ।
अव प्रक्षेपण गरिने ‘डाभिन्ची प्लस’ नामक मिसनले उक्त ग्रहको भौगर्भिक बनावट, विकास र हालको अवस्थाबारे थप जानकारी लिन मद्दत गर्ने छ ।
त्यहाँ एक जमानामा महासागर थियो भन्ने अनुमान गरिरहँदा यो खोज पृथ्वीवासीका लागि निकै रोचक र ज्ञानवद्र्धक हुने छ । त्यसलगत्तै दोस्रो मिसन ‘भेरिटास’ लाई शुक्रग्रहको सतह नक्साङ्कनको अपेक्षासहित प्रक्षेपण गरिने छ ।
यति बेलासम्म रडारको प्रयोग गरिसकिने भएकाले यसले शुक्र ग्रहमा भूकम्प र ज्वालामुखी जान्छ कि जाँदैन भनेर जानकारी पनि दिने आशा गरिएको छ ।
सबैभन्दा महत्वपूर्ण कुरा त पृथ्वीजस्तो हरित ग्रहको नजिक रहेर पनि शुक्र किन यति तातो अवस्थामा छ, सोको जानकारी सबैभन्दा बढी उपलब्धीमूलक हुने छ । किनकि, यसको सतहको तापक्रम नै ५०० डिग्री सेल्सियस भन्दा माथि रहेको छ ।
यो ग्रह निकै तातो अवस्थामा रहेकाले यसको सतहको अनुसन्धान बढी नै जोखिमपूर्ण हुने छ । कतै यो ग्यासको पिण्ड मात्रै त होइन भन्ने प्रश्नले पनि सटिक जवाफ पाउन सकिरहेको छैन ।
हालै मात्र मंगलग्रहमा नासाको खोज अभियानलाई पछ्याउँदै चिनियाँ स्पेस अभियान पुगेपछि शुक्रलगायतका अन्य ग्रहहरुको खोजीमा चीन पनि अव्यक्त रुपमा तयारीमा लागि रहेको हुनसक्ने अन्तरीक्ष विज्ञहरुको दाबीलाई भने इन्कार गर्न सकिने अवस्था छैन ।