• असार २३ २०८१, शनिबार

दाङका पालिका : चुनावमा चर्का नारा लगाए, तर आज फोहोर व्यवस्थापनमा छैन चासो

भाद्र ३ २०७८, बिहीबार

दाङ, ३ भदौ ।
२०७४ सालको स्थानीय तह निर्वाचनको समयमा आफ्नो पालिकालाई फोहर व्यवस्थापन गर्ने सबै दलको चुनावी नारा थियो । निर्वाचित भएका जनप्रतिनिधिले फोहोरको उचित व्यवस्थापनको विषय नीति तथा कार्यक्रममा जोडतोडका साथ समावेश गरे । तर, जनप्रतिनिधि आएको चार वर्ष बितिसक्दा पनि फोहोर व्यवस्थापन हुन सकेको छैन ।

अहिले बजार क्षेत्रका फोहोरलाई उठाएर जंगल क्षेत्र तथा डम्पिङ गर्ने ठाउँमा फाल्नेबाहेक अरु काम हुन सकेका छैनन् । दाङको तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले बजार क्षेत्रबाट संकलन गरेको फोहोर डम्पिङ गर्ने ठाउँमा लगेर फाल्ने गर्छन् । उनीहरुले फोहोरलाई फेरि प्रयोग गर्ने योजना बनाएपनि अहिलेसम्म कार्यान्वयन भएको छैन । यता दाङका गाउँपालिकाले चाहीँ फोहोरको पुनः प्रयोग गर्न त परै जाओस्, डम्पिङ साइड समेत बनाएका छैनन् ।

बजार सानो भएकाले कम मात्रै फोहोर उत्पादन भइरहेको भन्दै चासो नदेखाएको उनीहरुको भनाई छ । गाउँपालिकामा फोहोरमैला व्यवस्थापन शाखा समेत छैन । अहिले पालिकामा फोहोर व्यवस्थापनमा चासो नदेखाउँदा यत्रतत्र रुपमा फोहोर छरिएका छन् । व्यवस्थित रुपमा फोहोरको व्यवस्थापन गर्न नसक्दा डम्पिङ साइडमा डम्प गरिएको फोहोर तलसीपुर उपमहानगरपालिका १२ स्थित पातुखोलाबाट लाग्ने गौरीगाउँ कुलोबाट स्थानीयको खेतबारीमा पुग्ने गरेको छ । यसले गर्दा स्थानीय मर्कामा परेका छन् भने तुलसीपुरमा फोहोर व्यवस्थापन ठूलै समस्याको रुपमा रहेको छ ।

“हाम्रो घर वरिपरी फोहरको डंगुर छ, स्थानीय पालिकामा जनप्रतिनिधि निर्वाचित भएको करिब चार वर्ष पूरा भएको छ तर, डम्पिङ साइड बनाउने विषय अन्योलमा छ” पातुखोलाबाट गौरीगाउँ लगिएको कुलो सफा गर्दै स्थानीय भिमबहादुर चौधरीले भने ।

तुलसीपुर उपमहानगरपालिकामा स्थायी डम्पिङ साइड छैन । उपमहानगरपालिकामा फोहोर व्यवस्थापनको लागि स्थायी डम्पिङ साइड बनाउने भन्दै करिब एक करोड रुपैयाँमा तुलसीपुर–१३ फुलबारीमा जग्गा किनिएको पनि वर्षौ भैसक्यो । बस्ती नजिक रहेको जमिनमा स्थानीयले डम्पिङ साइड बनाउने कुरामा विरोध गर्दा स्थायी डम्पिङ साइड बनाउन नसकिएको उपमहानगरपालिकाले जनाएको छ । स्थायी डम्पिङ साइड गराउने भन्दै लिएको जग्गा भने उपमहानगरपालिकाले भाडामा दिएको छ । फूलबारीस्थित जग्गा तुलसी गौशालालाई लिजमा दिएको प्रवक्ता सूर्यप्रकाश डाँगी (श्याम) ले बताए ।

हाल तुलसीपुर १२ मा अस्थायी डम्पिङ साइड बनाएर फोहोर फाल्ने गरिएको छ । नगरको फोहोरलाई मोहरमा बदल्न र दीर्घकालीन व्यवस्थापन गर्न डम्पिङ साइडको व्यवस्था र फोहोरलाई वर्गीकरण तथा व्यवस्थापनको लागि वर्षेनी उपमहानगरपालिकाले नीति तथा कार्यक्रममा प्राथमिकता दिँदै आएको छ । फोहोर संकलन, ढुवानी, फोहोरको प्रकृति अनुसार छुट्याउने र फोहोरबाट उर्जा, प्राङ्गारिक मल र पुनः उपयोगमा ल्याएर सामाग्री उत्पादन गर्न निजी सरकारी र सामुदायिक क्षेत्रसँग सहकार्य गरिने नीति कार्यक्रममा समावेश छ ।

दैनिक रुपमा उत्पादन हुने घर परिवार तह वा अस्पताल, विद्यालय, कार्यालयजस्ता सार्वजनिक क्षेत्रबाट संकलन हुने फोहोरलाई व्यवस्थित रुपमा विसर्जन गर्न वा प्रशोधन गरी विक्रि गरिने, फोहोरमैला प्रशोधन केन्द्रको स्थापना गरिने बुँदालाई प्रत्येक वर्षको नीति तथा कार्यक्रममा निरन्तरता दिइएको छ । तर, सो नीति तथा कार्यक्रम कार्यान्वयन भएको छैन । यो वर्ष पनि उपमहानगरले नगरको फोहरलाई मोहरमा बदल्न र दीर्घकालीन व्यवस्थापन गर्न डम्पिङ साइडको व्यवस्था र फोहरलाई वर्गीकरण तथा व्यवस्थापनका लागि १ करोड २५ लाख विनियोजन गरेकोे छ ।

हाल उपमहानगरपालिकाले काम चलाउका रुपमा तुलसीपुर महेन्द्र स्कुल नजिकै शिवशक्ति टोलको खोल्सामा फोहर विसर्जन गर्दैै आएको छ । स्थायी डम्पिङ साइडको अभावका कारण फोहर विर्सजनमा समस्या हुने गरेको छ । उपमहानगरपालिकाका प्रवक्ता डाँगीले फोहरलाई मोहरमा बदल्न दीर्घकालीन डम्पिङ साइडको व्यवस्थापनका लागि आफूहरु लागेपनि स्थान अभाव भएको बताए ।

तुलसीपुरमा स्थायी डम्पिङ साइड निर्माणका लागि पहल गरिएपनि सो विषय छलफलमा मात्र सीमित भएको छ । डम्पिङ साइड नहुँदा त्यसको प्रत्यक्ष मारमा बजारदेखि दक्षिण क्षेत्रका गाउँ परेका छन् । कुलो तथा नालामा पसलबाट निस्कने फोहर, सुई, सिसा तथा प्लाष्टिकजन्य बस्तु तथा कपडाको टुक्रा जस्ता फोहरहरु जथाभावी फाल्नाले वर्षातको समयमा बाढी आएको बेला सो फोहर किसानको खेतबारीमा सोझै जाने गरेको छ । वर्षातको पानीले सबै फोहोरहरु बगाएर किसानको खेत तथा घर आँगनमा थुपारेको हुन्छ । दिनहुँजसो खेतमा प्लाष्टिक र कुलोले बगाएर ल्याएको फोहर टिप्न बाध्य भएको किसानहरु बताउँछन् । खेतैभरी फोहोरको डुंगुर जम्मा हुने समस्या रहेको छ ।

लमही नगरपालिका पनि फोहोर व्यवस्थापनमा सफल हुन सकेको छैन् । बजार क्षेत्रबाट संकलन भएको फोहोर लमही नगरपालिका-५ मा रहेको अजम्मरी सामुदायिक वनमा बनाइएको डम्पिङ साइडमा फाल्ने गरिएको छ । जनप्रतिनिधि आएको पहिलो वर्ष गल्ने फोहोरलाई कम्पोष्ट मल बनाउने तथा नगल्ने फोहोरलाई फेरि प्रयोग गर्ने गरी योजना बनाइए पनि चार वर्षसम्म पनि काम हुन सकेको छैन । लमही नगरपालिका वातावरण तथा सरसफाई शाखाका प्रमुख गायत्री थापाले फोहोर व्यवस्थापनको योजना अनुसारको काम हुन नसकेको बताइन् । तीन वर्षमा फोहोरलाई संकलन गरी फाल्ने काम मात्र गरिएको छ ।

आर्थिक वर्ष २०७७-०७८ को पहिलो महिना गल्ने र नगल्ने फोहोरलाई छुट्ट्याएर डम्प गर्ने योजना अनुसार अभ्यास गरिएको थियो । करिब एक महिना गल्ने र नगल्ने फोहोरलाई छुट्याएर उठाउने काम गरियो । तर, पछि बजार क्षेत्रका बासिन्दाले गल्ने र नगल्ने फोहोरलाई छुट्याएर दिन सकेनन् जसले गर्दा यो काम पनि सफल हुन सकेन । जनप्रतिनिधि आएको चार वर्षमा फोहोरलाई मोहर बनाउने कामलाई प्राथमिकता नदिँदा पालिका फोहोर व्यवस्थापनमा असफल देखिएको हो ।

अहिले गल्ने, नगल्ने, सिसाका टुक्रा, प्लाष्टिक एकैठाउँमा डम्प गर्ने गरिएको छ जसले गर्दा वन क्षेत्रमा कामका लागि जानेहरुलाई दुर्गन्धले सताउने गरेको छ । लमहीकी स्थानीय सरिता चौधरीले गाई भैंसीका लागि घाँस काट्न तथा अन्य कामका लागि जंगल जाँदा दुर्गन्धले सताउने गरेको बताइन् । बजार क्षेत्रमा खासै फोहोर नभएपनि जंगल भने फोहोर बन्दै गएको चौधरीको भनाई छ ।

फोहोर व्यवस्थापनको लागि सचेत हुन आवश्यक भएको भन्दै नगरपालिकाले पालिकाका एक सय ३ टोल विकास संस्थाका पदाधिकारीलाई तालिम दिएको छ । नगरबासीमा भएको चेतनाको अभावका कारण फोहोर व्यवस्थापनमा चुनौती भएको भन्दै तालिम दिने काम गरिएको सरसफाई शाखा प्रमुख थापाले बताइन् । फोहोर व्यवस्थापन गर्न भन्दै यो वर्ष ७५ लाख रुपैँया विनियोजन गरिएको पनि उनले जानकारी दिइन् । पहिले बजार तथा बसपार्क क्षेत्रमा अत्याधिक फोहोर हुने गरेको भएपनि पछिल्लो समयमा भने बजारको फोहोरलाई उठाउने र नियमित सफा गर्ने काम गरिएको छ । तर, फोहोर उठाएपनि त्यसलाई फेरि प्रयोग गरिने योजना अनुसारको काम भने गर्न सकिएको छैन । फेरि प्रयोग गर्ने विषय पालिकाको प्राथमिकतामा नपरेको हुँदा समस्या भएको हो ।

उता दाङको पश्चिम बबई गाउँपालिकामा डम्पिङ साइड बनाउन सकिएको छैन । डम्पिङ साइड नहुँदा फोहोर व्यवस्थापनमा सकस परेको छ । बजार क्षेत्रबाट उत्पादन हुने फोहोर व्यक्तिले नै व्यवस्थापन गर्ने गरेका छन् जसले गर्दा बजार नजिक बस्ती, खाली जमिनमा तथा बजार क्षेत्रमा फोहोर देखिने गर्छ । बजार क्षेत्र सानो भएकाले फोहोर खासै संकलन नहुँने भन्दै फोहोर व्यवस्थापनको विषयलाई पालिकाले प्राथमिकता नदिएको हो । गाउँपालिका सुचना अधिकारी भुवन चन्द (बालान) ले यो वर्ष डम्पिङ साइड बनाउने प्रक्रिया अगाडी बढेको जानकारी दिए । त्यसका लागि बजेटको व्यवस्थापन समेत गरिएको छ ।

ल्याण्डफिल साइटका लागि १० लाख रुपैँयाँ, फोहोर व्यवस्थापन शीर्षकमा ४ लाख रुपैँया तथा फोहोर उठाउने ट्याक्टर खरिदका लागि २० लाख रुपैँया बजेट विनियोजन गरिएको बताए । आगामी वर्षसम्म फोहोर व्यवस्थापनको सबै कामहरु गरिने चन्दको भनाई छ । राप्ती गाउँपालिकामा डम्पिङ साइड बनाइएको छैन । बजार क्षेत्र सानो भएकाले डम्पिङ साइड बनाउने काम प्राथमिकतामा नपरेको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।

गाउँपालिकाले स्थायी डम्पिङ साइड नबनाएर पुरानो भालुवाङ क्षेत्रस्थित जंगलमा बजारको फोहोर जथाभावी फाल्ने गरेको छ । गाउँपालिकामा भएको एउटा ट्याक्टरले फोहोर संकलन गरेको छ । पालिकामा फोहोर मैला व्यवस्थापन शाखा हुनुपर्ने भएपनि राप्ती गापामा छैन । उता गढवा गाउँपालिकाले चाहीँ वडा नं. ५ को जंगलमा फोहोर फाल्ने गरेको छ ।

फोहोरमैला ऐन २०६८ ले फोहोरमैला व्यवस्थापन गर्ने गराउने दायित्व स्थानीय तहलाई तोकेको छ । फोहरमैलाको व्यवस्थापन गर्न स्थानान्तरण केन्द्र (ट्रान्सफर स्टेशन), ल्याण्डफिल साइट, प्रशोधन प्लाण्ट, कम्पोष्ट प्लाण्ट, बायो ग्यास प्लाण्ट लगायत फोहोरमैलाको संकलन, अन्तिम विसर्जन तथा प्रशोधनका लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचनाको निर्माण र सञ्चालन गर्ने जिम्मेवारी स्थानीय तहको हुने ऐनमा समेटिएको छ ।

डम्पिङ साइड बनाउने र डम्पिङ साइड बनाउँदा जनस्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर नपर्ने गरी बनाउनुपर्ने छ भने त्यस स्थानमा दुर्गन्ध नआउने गरी आवश्यक व्यवस्था समेत गर्नुपर्ने ऐनमा उल्लेख छ । स्थानीय तहले आफ्नो क्षेत्रभित्र संकलन भएको फोहरमैलालाई व्यवस्थापन तथा स्थायीरुपमा विसर्जन गर्नको लागि वातावरण सम्बन्धी प्रचलित कानूनको अधिनमा रही फोहरमैला व्यवस्थापन स्थल (स्यानिटरी ल्याण्डफिल साइट) तोक्न सक्ने, जथाभावी फाहोरमैला फाल्न नहुने ऐनमा उल्लेख छ ।

दाङको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका तथा लमही नगरपालिकाले फोहोर मैला व्यवस्थापन कार्यविधि बनाएको भएपनि अन्य गाउँपालिकाले भने कार्यविधि नै बनाएका छैनन् । त्यसैले पनि दाङका गाउँपालिकाले अहिलेसम्म उचित रुपले फोहोरको व्यवस्थापन गर्न सकेका छैनन् ।