• मंसिर १२ २०८१, बुधबार

कम्युनिष्ट ध्रुविकरणबारे अन्तरक्रिया (तस्बिरहरु)

भाद्र २ २०७८, बुधबार

काठमाडौँ । काठमाडौँमा ‘कम्युनिष्टहरुबीच ध्रुविकरणः आवश्यकता र चुनौती’ विषयक एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्रान्तिकारी पत्रकार संगठन केन्द्रिय समितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपालका प्रायःजसो सबै कम्युनिष्ट घटकका नेताहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

संवाद डबलीको हलमा आयोजित सो अन्तरक्रिया कार्यक्रममा बोल्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले नेपालको कम्युनिष्ट आन्दोलनमा संसदवादी धार र क्रान्तिकारी धार रहेकोमा सबै कम्युनिष्टहरु क्रान्तिकारी धारमा आएर कम्युनिष्ट ध्रुविकरण हुनुपर्ने धारणा व्यक्त गरे ।

नेता धर्मेन्द्र बास्तोला
नेता धर्मेन्द्र बास्तोला

संसदीय व्यवस्था कुनै हालतमा पनि प्रजातान्त्रिक व्यवस्था हुन नसक्ने बताउँदै वैज्ञानिक समाजवादी राजनैतिक व्यवस्था नै सच्चा कम्युनिष्टहरुको लक्ष्य भएकोले यही व्यवस्था स्थापना गर्न नै कम्युनिष्टहरुको ध्रुविकरण आवश्यकता रहेको उनले बताए । उनले भने, ‘प्रतिगामी सत्तालाई विस्थापित गरेर जनताको सत्ता स्थापना गर्ने सर्तमा कम्युनिष्टहरुको ध्रुविकरण हुन सक्छ ।’ राजतन्त्रको बेलाजस्तै जनताको अवस्था अहिले पनि उस्तै भएकोले संसदवाद खाएर, पचाएर क्रान्तिकारी कम्युनिष्टहरुको ध्रुविकरण हुनुपर्ने उनको भनाई थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सचिवालय सदस्य इन्द्रमोहन सिग्देलले नेपालमा धेरै मानिसहरुले आफूलाई कम्युनिष्ट भनेर दावी गरेपनि उनीहरु खासमा कम्युनिष्ट नभएको धारणा व्यक्त गरे । क्रान्तिकारी कम्युनिष्टहरुको ध्रुविकरण अहिले सबैभन्दा बढी आवश्यक भएको बताउँदै सिग्देलले नेपालमा संसदवाद असफल भइसकेकोले देशलाई नयाँ निकास दिनुपर्ने धारणा व्यक्त गरे । कम्युनिष्टहरुको ध्रुविकरण र एकता हुनुका लागि पहिले पार्टीहरुको कार्यदिशा समान हुनुपर्ने भन्दै उनले भने, ‘ध्रुविकरणको लागि कम्युनिष्टहरुको कार्यदिशा मिल्नुपर्छ ।’

नेता इन्द्रमोहन सिग्देल
नेता इन्द्रमोहन सिग्देल

कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य लिलामणी पोखरेलले समूहहरुमा आएको कार्यदिशाको भिन्नताले गर्दा कम्युनिष्ट पार्टीहरु टुक्रिएको बताउँदै फेरि मिल्न कार्यदिशा नै मिल्नुपर्ने धारणा व्यक्त गरे । कम्युनिष्ट पार्टीहरुमा मनले भन्दा आवश्यकताले ध्रुविकरण हुने उल्लेख गर्दै ऐतिहासिक तथा द्वन्दात्मक भौतिकवादको सिद्धान्त मान्ने कम्युनिष्ट पार्टीहरुको ध्रुविकरणको जहिले पनि सम्भावना हुन सक्ने बताए ।

एक अर्को विषय प्रसंगमा पोखरेलले नेपालमा एमसीसी लागु भयो भने देश अफगानिस्तान बन्ने मात्रै होइन हाम्रो देशको स्वतन्त्र अस्तित्व नै नहुने धारणा व्यक्त गरे । आजका कम्युनिष्टहरुमा उन्नत चेतनाको अभावका साथै विचार र व्यवहारको सन्तुलन समेत नभएको विचार उनले  व्यक्त गरे ।

नेता लिलामणी पोखरेल
नेता लिलामणी पोखरेल

आयोजित अन्तरक्रिया कार्यक्रममा नेकपा (एमाले)का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले नेपालमा अहिले पनि कम्युनिष्टहरुको एकताको आवश्यकता रहेको बताए । नेपाल कम्युनिष्टहरुको उर्वर भूमि भएको उल्लेख गर्दै उनले भने, ‘विश्वमा कम्युनिष्टहरु रक्षात्मक हुँदापनि नेपालमा आक्रामक तरिकाले संसदमै दुइतिहाई आउने कुरा अचम्मको विषय हो ।’ साम्राज्यवादीहरुले नेपालमा कम्युनिष्ट एकता हुन नदिने उनको भनाई थियो ।

नेता टोप बहादुर रायमाझी
नेता टोप बहादुर रायमाझी

कार्यक्रममा बोल्दै जन समाजवादी मञ्च नेपालका संयोजक कृष्ण धमलाले संसदीय लम्पसारवादी सिद्धान्तले नेपालको राष्ट्रियता रक्षा गर्न नसक्ने भएकोले खास कम्युनिष्ट क्रान्तिकारीहरु ध्रुविकरण भएर अर्को ठूलो आन्दोलन गर्नुपर्ने धारणा व्यक्त गरे ।

संयोजक कृष्ण धमला
संयोजक कृष्ण धमला

कार्यक्रममा नेकपा माओवादी केन्द्र (समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकीले यो युग भनेको युवा र सचेत प्राणीहरुको युग भएकोले कम्युनिष्ट ध्रुविकरणको लागि सचेत युवाहरुले पहल लिन आवश्यक भएको धारणा व्यक्त गरे । नेपालमा संसदीय व्यवस्था असफल भइसकेकोले समाजवादी व्यवस्था ल्याउनलाई समाजवादीहरूको ध्रुविकरण हुनुपर्ने उनले बताए । प्रचण्ड, माधव नेपाल र केपी ओलीको नेतृत्वमा कुनैपनि एकता सम्भव नभएकोले युवाहरुको नेतृत्वमा कम्युनिष्ट एकता हुनुपर्ने जिकिर उनले गरे ।

अध्यक्ष कर्णजित बुढाथोकी
अध्यक्ष कर्णजित बुढाथोकी

एमसीसी राष्ट्रघाती भएको हुनाले नेपालमा यसलाई लागु गर्न नहुने उनको धारणा थियो । एमसीसी लागु गर्नुपर्छ भनेर हस्ताक्षर गर्ने सांसदहरुका आफ्नो पार्टीले खुट्टा भाँचिदिने अध्यक्ष कर्णजित बुढाथोकीले बताए । देशलाई विदेशीको गुलाम हुनबाट बचाउन बरु आफूहरु जेलजाने तर एमसीसीमा हस्ताक्षर गर्ने सांसदको खुट्टा भाँचेरै देखाउने उनले बताए ।

कार्यक्रमको अध्यक्षता संगठनका केन्द्रिय उपाध्यक्ष जन्मदेव जैसीले गरेका थिए भने महासचिव बाबुराम भुषालले सञ्चालन गरेका थिए । कार्यक्रमा उपस्थित सबैलाई संगठनका केन्द्रिय सदस्य कमल बुढाले मन्तव्य मार्फत् स्वागत गरेका थिए ।

हेरौं अन्तरक्रियाका थप तस्बिरहरु⇓

 अन्तरक्रिया कार्यक्रमको ब्यानर
अन्तरक्रिया कार्यक्रमको ब्यानर
 अन्तरक्रिया कार्यक्रममा उपस्थित संचारकर्मीहरु
अन्तरक्रिया कार्यक्रममा उपस्थित संचारकर्मीहरु
 अन्तरक्रिया कार्यक्रममा उपस्थित वक्ताहरु
अन्तरक्रिया कार्यक्रममा उपस्थित वक्ताहरु
 अन्तरक्रिया कार्यक्रममा उपस्थित वक्ता तथा आयोजक
अन्तरक्रिया कार्यक्रममा उपस्थित वक्ता तथा आयोजक