काठमाडौँ। एक व्यक्तिलाई अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भिजिट भिषामा अमेरिका पठाई कोकाकोला कम्पनीमा मासिक ३ लाखको जागिर लगाइदिन्छु भनेर पाँचथर जिल्लाका ध्रुर्वकुमार राईबाट ११ लाख ५० हजार रकम लिई सम्पर्क बिहीन भएको आरोपमा ताप्लेजुङ्ग जिल्ला फुङ्लिङ्ग नगरपालिका वडा नम्बर ९ स्थायी घर भई हाल काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा १४ तिनकुने बस्दै आएका ५९ वर्षका लालबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
कार्कीले जिल्ला पाँचथर तुम्बेवा गाउँपालिका वडा नम्बर ५ हाङ्गुम बस्ने ३० वर्षका राईबाट अमेरिका जान ४० लाख रुपैयाँ लाग्छ भनि प्रलोभनमा पारेर ११ लाख ५० हजार लिई ठगी गरेको आरोपको आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको समूहले पक्राउ गरेको बताएको छ ।
कार्कीले ठगी गरी सम्पर्क बिहीन भएकोमा वैदेशिक रोजगार विभागले पक्राउ गरि उपस्थित गराइदिन भनेर पत्राचार गरेको आधारमा निज कार्कीलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा बुझाइएको महाशाखाले जना को छ ।
जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा कार्कीलाई सोमबार झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नम्बर ५ शान्तिचोकबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । मंगलबार कार्कीलाई पक्राउ गरि सोमबार वैदेशिक रोजगार विभागमा बुझाइएको हो ।