• असार २५ २०८१, सोमबार

हात नधोएरै कुपुकुपु खान्छन् बजारका फुल्की

भाद्र १ २०७८, मंगलवार

घोराही ।
हप्हपी उम्सोमा पसिना पुछ्दै फुल्की पसलमा छिर्छन् । सालका बगौतामा दिएको फुल्की टिप्दै कुप्लुक्क कुप्लुक्क खान्छन् । कतिपय चाट र फुल्की पसलहरुमा खानेहरुको लाइन साँझैसम्म हुन्छ । उनीहरु कसैले पनि हात धुने तर्फ ध्यान दिएको पाइँदैन । हतार हतार खाएको देख्दा हात धुने सोचै छैन जस्तो लाग्छ । केहिले हातले र कतिले रुमालले मुख पुछेर चोखिन्छन् ।

फरर्र छोडेको बाल मिलाउँदै हिँडेका हुन्छन् । लररर छरिएको कपाल पटकपटक हातले सम्हाल्दै गरेका देखिन्छन् । त्यसले उनीहरुको सौन्दर्यतामा निखार ल्याएको हुन्छ । रुपमा मादकता थपेको देखिन्छ । पहिरनलाई अझै चमक दिएर खुलेको हुन्छ । त्यसका लागि पटकपटक हातले मिलाउनै पर्छ । तिनै हातहरु नधोएर फुल्की टिप्न जान्छन् । मुखमा ख्वाप्पै पारेर हाल्छन् ।

पार्लरहरुमा पस्ने र अनेकखाले केमिकल प्रयोग गर्ने फेसनै बनेको छ । मेकपले नै बजारीया र सभ्य देखाउँछ भन्ने भ्रम जवरर्जस्त स्थापित भएको छ । कालोलाई गोरो, छिप्रेलाई चिल्लो, झुसेलाई रगरग सफा देखाउने मेकअपले हो । तिनै मेकअप गर्दा प्रयोग भएका हातहरु पनि फुल्की खाँदा धोइँदैनन् । चाट खाने चमच राखिएको हुन्छ । फुल्की खान भने हातको विकल्प छैन । फुल्की बेच्नेहरुले चमच दिएर पनि हुँदैन । खानेहरुले तिनवटा औंलाले भएपनि टपक्क टिप्नैपर्छ ।

यसैगरी गहना, फेन्सी र कपडा पसलह?रुमा पनि तिजको झल्को आउने गरी महिलाहरुको चहलपहल शुरु भएको छ । धेरै पसलमा पस्ने बित्तिकै सेनिटाइजर छर्किने व्यवस्था गरिएको छ । घोराही उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाका अनुसार केही सेनिटाइजर नक्कली छन् । तिनले छालामा समेत चिरा चिरा पार्नेदेखि अनेक समस्या ल्याउन सक्छन् । तिनै शरीरका लागि हानिकारक सेनिटाइजर मलेका हातले कुपुकुपु फुल्की खान्छन् ।

पुरुषको तुलनामा महिला तथा बालबालिका फुल्की खाने ग्राहक अधिक रहेको दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगीको भनाई छ । उहाँका अनुसार बालबालिकाका लागि खतरा मानिएको कोभिडको तेस्रो भेरियन्ट आउने हल्ला छ । यता हातै नधोएर फुल्की खानेको संख्या बढि देखिन्छ । यसलाई चाँडै सुधार नगरिएमा जोखिम निम्तिन सक्छ । आपसमा नछोइने, मास्क लगाउने, सरसफाई मापदण्ड अपनाउने भन्ने तर, हातै नधोएरै खाने गलत भयो । कोरोना सर्छ भनेर डरले लकडाउन गर्ने, हात धुन नसिक्ने हो भने बचिँदैन ।

घोराही उपमहानगरपालिका, दाङ जिल्ला उद्योग वाणिज्य संघले समन्वय गरेर सरसफाई मापदण्ड पुरा गर्न लगाउनु पर्छ । सडकमा डुलाउने कतिपय ठेलाहरुमा पिउने पानी पनि खुला राखिएको हुन्छ । त्यसमा झिंगा–माखा भन्किने, धुलो पस्ने जस्ता खतराहरु रहि रहन्छन् । तिनलाई पनि व्यवस्थित गर्नुछ । सटरमा व्यवसाय गर्नेले पनि हात धुने प्रबन्ध मिलाउनु पर्ने संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताउनुभयो । ‘सिधै हात प्रयोग हुने ठाउँमा झन् ख्याल गर्नुपयो’ अध्यक्ष बुढाथोकीले भन्नुभयो, ‘हामीले सबै व्यवसायीलाई स्वास्थ्य मापदण्ड पुरा गर्नुस् भनेका छौँ ।’

उहाँका अनुसार अनुगमन टोलीले सबै क्षेत्र हेरिरहेको छ । आवश्यक परेका व्यवसायीसँग छलफल गर्छ । लकडाउन पूर्णरुपमा खुलेको छैन । कोरोना भाइरस बढ्दैछ । त्यसैले सबै क्षेत्रमा सजगता अपनाउने होइन भने लापर्वाहीले अकल्पनीय जोखिम निम्तिन सक्छ ।

यसैगरी घोराही उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख श्रीधर अधिकारीले पनि सबै क्षेत्रको सुक्ष्म अध्ययन गरिरहेको बताउनुभयो । उपभोक्ता सचेत हुने र व्यवसायीले मापदण्ड पुरा गर्नेतिर ध्यान दिनुपर्छ । उपभोक्ताले हात धुने ठाउँ खोज्यो भने व्यवसायीले व्यवस्था गर्न कर लाग्छ । हात धुने ठाउँ नभएको फुल्की पसलमा नपस्ने बानीको विकास गर्नुपर्छ ।

उहाँले अवस्था हेरेर दर्ता, नविकरण, सरसफाई तथा स्वास्थ्य सुरक्षा मापदण्डको अनुगमन गर्न सकिने बताउनुभयो । सबैलाई स्वास्थ्य सुरक्षा विधि अपनाउन आग्रह गर्नुभयो ।