• मंसिर १७ २०८१, सोमबार

२०१७ को संसद बहस : कम्युनिस्टलाई छात्रवृत्तिमा विभेद !

भाद्र १ २०७८, मंगलवार

२०१७ जेठ २६ गरे नेपाल कम्युनिस्ट पार्टीका सांसद तुलसीलाल अमात्यले शिक्षामन्त्री परशुनारायण चौधरीसँग सोधे,‘के यो सत्य हो की सरकारले विघार्थीहरुलाई छात्रवृत्ति दिनुभन्दा अघि कम्युनिस्ट हो होइन, बुझी कम्युनिस्ट भएमा या कम्युनिस्टसँग सम्पर्क भएको विघार्थीलाई छात्रवृत्ति नदिने गरेको छ ?’
शिक्षामन्त्री चौधरीले भने, ‘यो कुरा साँचो होइन ।’
तुलसीलाल अमात्य–‘धेरै उदाहरण छन्, टोलटोलमा आएर बुझेको पनि देखिएको छ । मामुली हेल्थ एसिस्टेन्टको ट्रेनिङमा त यसो गरियो ।’
गृहमन्त्री सुर्यप्रसाद उपाध्याय–‘विदेशमा पठाउँदा पुलिस भेरिफिकेसन चाहिन्छ । छात्रवृत्ति अन्तर्गत जानेहरुमा कति कम्युनिस्ट पनि होलान् । कम्युनिस्ट भएमा नपठाउने सरकारको कुनै नीति छैन ।’
सवाल–जवाफ चलिरह्यो । सांसद तुलसीलालले फेरि सोधे,‘के यो सत्य हो की सरकारले कुनै व्यक्तिलाई नोकरीमा भर्ना गर्नु भन्दा पहिला कम्युनिस्ट हो होइन बुझी कम्युनिस्ट भएमा सरकारी नोकरी नदिने गरेको छ ?’

गृह सहायकमन्त्री देवानसिंह राई–सरकारी सेवामा भर्ना हुने व्यक्तिले कुनै पनि राजनीतिक संस्थामा भाग लिन हुँदैन भन्ने कानुनी व्यवस्था छ । र कम्युनिस्ट पार्टीको विषयमा मात्रै कुनै बेग्लै व्यवस्था यस सिलसिलामा श्री ५ को सरकारले गरेको छैन ।’

तुलसीलाल अमात्य–कुनै पनि पार्टीको व्यक्तिलाई सरकारी सेवामा लिइँदैन तर व्यवस्थामा पार्टीकाले पाइराखेको छ । नोकरी पाउन कांग्रेस नै हुनुपर्छ ?

गृहमन्त्री उपाध्याय–श्री ५ को सरकारको कुनै पनि सेवामा पब्लिक सर्भिस कमिसनबाट आउनुपर्छ । यसपाली अस्थायीमा भर्ना भएकालाई पनि श्री ५ को सरकारले पब्लिक सर्भिस कमिसनमै पठाउने निर्णय गरेको छ । त्यहाँ जुनसुकै पार्टीको भए तापनि जान पाइन्छ । कसैलाई पनि राजनीतिक प्रतिबन्ध छैन ।’

तुलसीलाल अमात्य–‘जाँचमा त हुँदैन तर जब अन्तवार्ता हुन्छ, त्यसबेला नेपाली कांग्रेसले मात्र नोकरी पाउँछ । भर्खरै हामीलाई प्राप्त भएको रिपोर्टमा पनि यस्तै भएको छ कि जुन कुराका लागि विज्ञापन भएको थियो, त्यसै विषयको दिग्गजले नपाएर पढन पनि नसक्नेले पायो ।

गृहमन्त्री उपाध्याय–यो त माननीय सदस्यको ठूलो प्रवचन भयो । श्री ५ को सरकारको यस्तो नीति छैन ।’
निस्तर राय यादव–यस्तो नीति छैन भनिन्छ तर सिडीओ, लोकल अफिसर आदि स्थायी राजनीतिक नियुक्ति होइन ?

गृहमन्त्री उपाध्याय–स्थायी, अस्थायी नबुझेर या माननीय सदस्यले बुझ पचाएर यसो भन्नुभए जस्तो लग्यो । सिडीओ आदि अस्थायी नियुक्ति हुन् ।

सांसद आवास :

राष्ट्रिय गोर्खा परिषदका सांसद भरतशमशेर राणाले २०१६ चैत २४ को प्रतिनिधि सभा बैठकमा प्रश्न गरे, के सरकारले सांसदका सदस्यहरुका लागि बस्ने घरको व्यवस्था गर्ने विचार गरेको छ ? छ भने कहिलेसम्ममा व्यवस्था हुन्छ ?

संसदीय प्रबन्ध मन्त्री,‘सांसद सदस्यहरु बस्नलाई स्थायी व्यवस्था गर्ने कारबाही चलिरहेको छ । तत्काल बस्नलाई जाउलाखेल र त्रिपुरेश्वरमा पनि व्यवस्था गरिन लागेको छ ।’

देशको पहिलो जननिर्वाचित संसदले सांसद आवासगृह बनाउन गृहकार्य थालेको दस्तावेजले देखाउँछ तर आवास बनाउने काम ५६ वर्षमा अर्थात् २०७२ सालमा पनि पुरा हुन सकेको छैन, न त संसदको आफ्नै भवन छ । राणा शासकले बनाएको सिंहदरबारस्थित ग्यालरी बैठक पनि २०६४ सालमा ६०१ सदस्यीय संविधान सभाको बैठक बनेपछि प्रयोगहिन भयो ।

२०७२ बैसाखको महाभूकम्पपछि ग्यालरी बैठक काम नलाग्ने गरी क्षतिग्रस्त भएको छ । पहिलो र दोस्रो संविधान सभाको बैठक बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर काम चलाइँदै आएको छ । सरकारले संसद भवन निर्माणका लागि सिंहदरबारस्थित पुतली बगैचामा ६३ रोपनी जग्गा छुट्याएको छ ।

नक्सा डिजाइन तयार छ तर संसद सचिवालय आफैले बनाउने की सिंहदरबार पूननिर्माण आयोजनाले भन्ने झमेलाका कारण काम अगि बढ्न सकेको छैन । सासंद आवासका लागि भनेर भैंसेपाटीमा १२३ रोपनी जग्गा संसद सचिवालयको नाममा छ तर त्यहाँ पनि भवन बनाउने काम भएको छैन ।

महाकविको निधन :

महाकवि लक्ष्मीप्रसाद देवकोटाको २०१६ भदौ २९ गते साँझ पशुपति आर्यघाटमा ५१ वर्षको उमेरमा निधन भयो । वि सं १९६५ सालमा जन्मिएका देवकोटा लामो समयदेखि पेट क्यान्सरबाट पीडित थिए । काठमाडौँ र कलकत्ताका अस्पतालहरुमा भर्ना गरी उपचार गरिए पनि निको नभएपछि उनलाई पशुपतिमा राखिएको थियो । सरकारले महाकविको शोकमा दिउँसो २ बजेपछि सिंहदरबार सचिवालय र अरु अड्डामा विदा दियो भने सबै शिक्षण संस्था एक दिन बन्द गरिए ।

देवकोटाको निधनपछिप्रति दुःख व्यक्त गर्दै प्रधामन्त्री वीपी कोइरालाले २०१६ भदौ ३० गते प्रतिनिधि सभा बैठकमा भनेका थिए,‘नेपाली साहित्य जगतका एक महान विभूति महाकवि देवकोटाको असामयिक निधनबाट देशलाई ठूलो क्षति भएको छ नेपाली साहित्यको इतिहासको सबभन्दा ठूलो व्यक्तिको निधन भयो । प्रधामन्त्रीले प्रतिनिधि सभा र महासभा बैठक स्थगन प्रस्ताव राखेपछि दुवै सदनमा २ मिनेट मौन धारण गरेर महाकविप्रति श्रद्धञ्जाली अर्पण गरियो ।

महाकविप्रति श्रीद्धञ्जली अर्पण गर्दै राष्ट्रिय गोर्खा परिषदका नेता मृगेन्द्रशमशेर राणाले भने देवकोटा नेपालको साहित्यिक जगतको मात्र होइन कि नेपाल भरको एउटा तारा हुनुहुन्थ्यो । उहाँको निधन भो भन्ने त मलाई लाग्दैन । त्यसैले आज हामी उहाँलाई श्रद्धञ्जली अर्पण गर्न आएका छौं भन्ने मलाई लाग्छ । त्यो विभूति हाम्रा अगाडी छैन । हामीमा ठूलो क्षति भएको छ । उहाँको मृत्यु भो भन्ने मलाई लाग्दैन उहाँ मर्नु भएको छैन । मर्नुहुने पनि छैन । जो मानिस १ करोड जनताको हृदयमा बसेको छ । त्यो मानिस मर्न सक्तैन, मर्ने छैन ।

नेपाल कम्युनिस्ट पार्टीका तुलसीलाल अमात्यले भने,‘ देवकोटाजी निधनले हाम्रो देशको साहित्यलाई मात्र होइन, संसारको साहित्यलाई नै एउटा ठूलो धक्का दिएको छ ।’

सरकारले तिरिदियो महाकविको ऋण :

२०१६ भदौ ३० गतेको गोर्खापत्रमा प्रकाशित समाचार अनुसार भदौ २९ गते प्रधानमन्त्री वीपी कोइरालाका तर्फबाट निर्माण तथा सञ्चारमन्त्री गणेशमान सिंह पशुपति आर्यघाट पुगी महाकवि देवकोटासँग उनको अन्तिम इच्छाबारे सोधेका थिए ।

मन्त्री सिंहसँग देवकोटाले आफ्नो ऋण र छोराहरुको पढाइबारे चिन्ता व्यक्त गरे । लक्ष्मीप्रसाद नाम भए पनि जीवनभर आर्थिक सङ्कटमा बाँचेका देवकोटा आफूसँग पैसा आयो भने बाटोमा भेटिने गरिब दुःखीलाई बाँड्दै रित्तो हात घर पुग्थे रे । त्यो बेला महाकविको २२ हजार ऋण रहेछ ।

सरकारले देवकोटाको पुरै ऋण तिर्नुका साथै किरिया खर्चका लागि ३ हजार उपलब्ध गराएको थियो । त्यसैगरी उहाँका दुई छोराहरू वालिग नभएसम्म प्रत्येकलाई पढाइका लागि सरकारले मासिक एक सय रुपैयाँका दरले रकम उपलब्ध गराएको दस्तावेज पनि संसदको रेकर्डमा देखिन्छ ।

जगत नेपालद्धारा लिखित ‘पहिलो संसाद, वीपी-महेन्द्र कटराव’ पुस्तकबाट साभार, शिर्षक हामीले दिएका हौं ।