• फाल्गुन २४ २०८२, आईतवार

यता काबुल कब्जा उता वासिंगटनमा वाकयुद्ध सुरु

श्रावण ३२ २०७८, सोमबार

काठमाडौं । तालिवान विद्रोहीले अफगान राजधानी काबुल कब्जा गरेलगत्तै वासिंगटनमा वाकयुद्ध सुरु भएको छ । काबुल कब्जाको विषयलाई लिएर अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनको राजीनामा मागगरेपछि वाक युद्ध सुरु भएको हो ।

अफगानिस्तान यति छिट्टै र यति सजिलै कब्जा होला भन्ने आफूलाई नलागेको भन्दै राष्ट्रपति वाइडनले आफ्नो अभिव्यक्ति सार्वजनिक गरेसँगै असरफ घानी नेतृत्वको सरकार परास्त हुनुमा बाइडेन प्रशासन जिम्मेवार रहेको भन्दै उनले बाइडेनको राजीनामा मागेका ट्रम्पले आपत्ति प्रकट गरेका छन् ।

काबुलमा घानी सरकारलाई निरन्तरता दिन र तालिबानलाई काबुल बाहिर राखिरहन बाइडन प्रशासन असफल भएको ट्रम्पको जिकिर रहेको छ । तर हाल वाइडनको कडा आलोचना गरिरहेका ट्रम्पले उनको कार्यकालमै अफगानिस्तानबाट अमेरिकी सरकार फिर्ता लैजाने आधिकारिक निर्णय गरिसकेका थिए । त्यो निर्णय कार्यान्वयन हुँदै गर्दा वाइडन विजयी भएका थिए ।

तर जनताको ध्यान आफूतिर आकर्षण गर्न ट्रम्पले यदि आफू राष्ट्रपतिमा निर्वाचित भएको भए यसो हुन नदिने तर्क पेस गरिरहेका छन् । अफगानी राष्ट्रपति घानीले देश छोडेपछि तालिवान विद्रोहीले काबुलमा आफ्नो शासनभार सम्हाल्ने तयारी गरिरहेका छन् ।

राजधानी काबुल छाडे लगत्तै राष्ट्रपति घानीले ट्वीट गर्दै राजधानी काबुलमा रक्तपात हुन नदिन आफूले शान्तिपूर्ण तरिकाले देश छोडेको उल्लेख गरेका छन् ।

काबुलमा तालिबान नेता अली अहमद जलाली अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने तयारी गरिरहेका छन् ।

एजेञ्सीको सहयोगमा ।