• असार १६ २०८१, शनिबार

तिम्ल्याहा दिदी-बहिनी : जसले ल्याए एसईईमा बराबर जीपिए

श्रावण ३२ २०७८, सोमबार

काठमाडौँ । एकै घरकी, एउटै बाबु र आमाकी छोरीहरु एकैदिन मात्रै होइन एक मिनेटमै जन्मिएका तीन दिदी–बहिनी । अर्थात् तीम्ल्याहा दिदी–बहिनीहरु जसले यस पटकको कक्षा १० को वार्षिक परिक्षा एसईई पनि एकैचोटी पास गरेका छन् । यो कुराले धेरैमा एकखाले उत्प्रेरणा पैदा गरायो । जन्मदै एउटै गर्भबाट एकैचोटी जन्मिएका तीन दिदी–बहिनीहरु लवीका खातुन, अतिका खातुन र सबिका खातुनसँगै पढ्ने मात्रै होइन उनीहरु पढाईमा पनि अब्बल रहेका छन् । जसले २०७७ सालको एसईई परिक्षा एकैसाथ ए प्लस अंक ल्याएर पास गरेका हुन् ।

परिक्षा हलमै जन्मिएका दिदी–बहिनीहरु

तीन दिदीबहिनीहरु लबीका खातुन, अतिका खातुन र सबिका खातुन
तीन दिदीबहिनीहरु लबीका खातुन, अतिका खातुन र सबिका खातुन

एसईई परिक्षामा एकदम राम्रो अंक ल्याएर पास गरेका तीनजना खातुन दिदी–बहिनी २०६२ साल चैत १६ गते तत्कालिन एसएलसी परिक्षा हलमै जन्मिएका थिए । उनीहरूकी आमा सबिला खातुन त्यतिबेला अर्थात् २०६२ सालमा उनीहरुलाई आफ्नो गर्भमा बोकेर आफ्नो एसएलसी परिक्षाको लागि तेस्रो दिनको परिक्षामा सामेल भइरहेकी थिइन् । उतिबेलै सबिलालाई सुत्केरी व्यथाले च्याप्यो । सबिला छट्पटिन थालिन । पर्सा जिल्ला बिन्दवासीनी गाउँपालिका वडानम्बर ५ साबिक पर्सौनीभाटा गाविसकी सबिला आफ्ना श्रीमान भारतको पञ्जाबमा अध्ययनको लागि गएको समयमा पनि गर्भमा तीनजना छोरीहरु बोकेर घर व्यवहारसँगै आफ्नो पढाईलाई निरन्तरता दिइरहिन् ।

एसएलसी परिक्षा हलमा सुत्केरी व्यथाले उनलाई च्यापेपछि साथीसंगी तथा आफन्तको सहयोगमा उनलाई अस्पताल पुर्याइयो । परिक्षा दिन बिहान घरबाट कापी र कलम बोकेर विद्यालय पुगेकी सबिला बेलुका घर आउने बेला तीनजना छोरीहरु एकैचोटी जन्माएर आइन् । पर्सौनीभाटा गाबिसभरी तीन छोरीहरु एकैपटक जन्मिएको खबर सनसनी फैलियो । तीनछोरीलाई एकैचोटी जन्माउने सबिलाको औपचारिक पढाईले तीनछोरी पाएको दिनदेखि विश्राम लियो । अब एकैचोटी जन्मिएका तीनछोरीलाई सकुशल हुर्काउनु नै उनको जीवनको लक्ष्य बनेर अगाडी आयो ।

जन्मदै संघर्ष गरेका दिदी–बहिनीहरुः

बाल्यकालमा खातुन तीन दिदी-बहिनी
बाल्यकालमा खातुन तीन दिदी-बहिनी

एउटै गर्भमा एउटै मानिस अर्थात् बच्चालाई त कसरी गुटुलमुटुल भएर बस्नु परेको हुन्छ भने तीनजना मानिस एउटै गर्भमा बस्दा कति गुटुलमुटुल भएर बस्नु पर्यो होला ? एउटा सानो गर्भमा तीन तीनजना बसेर ९ महिनासम्म हुर्कंदा उनीहरु बीचमा कति धकेलाधकेल र ठेलठेला भयो होला ? हामी केवल कल्पना मात्र गर्न सक्छौं । न त ती दिदी–बहिनीहरु नै गर्भमा रहँदा भएको आफ्नो अफ्ठेरोको अनुभव अहिले हामीलाई बताउन सक्छन् । तीनजनाले एउटै आमाका दुइवटा दुध चुस्दा पनि पक्कै सहज भएन नै ।

एउटा महिलाको छातीमा प्रकृतिले दुइवटा स्तन बनाएको हुन्छ भने त्यही प्रकृतिले सबिला खातुन र उनका श्रीमान समिन अहमदलाई एकैचोटी तीनवटा छोरीहरु उपहार दिएको थियो । मुस्लिम धर्म अबलम्बन गर्ने समिन र सबिला दम्पती यस्तो कुरालाई ‘अल्लाहको देन’ ठान्छन् । जसरी होस् र जे होस् जन्मनु के थियो र ? तिम्ल्याहा दिदी–बहिनीको संघर्षको समय सुरु भएको थियो । एउटा आमाको काखमा तीनजना बालिका हुर्काउनै धौ । दुइटा स्तन तीनजनालाई एकैसाथ कसरी चुसाउने ? दुध चुस्नलाई तीनजनासँगै रुन थाल्ने ।

आफ्ना भाइको साथमा तीन दिदीबहिनीहरु लबीका खातुन, अतिका खातुन र सबिका खातुन
आफ्ना भाइको साथमा तीन दिदीबहिनीहरु लबीका खातुन, अतिका खातुन र सबिका खातुन

दम्पतीले जसरी तसरी तीन बहिनीलाई हुर्काए । आमाको बाहेक गाई–भैंसीको दुध खुवाएर पनि छोरीहरुलाई हुर्काए, बचाए र ठूलो बनाए । उनीहरु जन्मेको १ वर्षपछि तीनबहिनीलाई लिएर समिन अहमद आफ्नी श्रीमती सहित आफूले पढिरहेको ठाउँ भारतको पञ्जाब गए । दुइवर्ष उनीहरु उतै बसे । दुइवर्षपछि आफ्नै थलोमा आएर छोरीहरुको शिक्षाको लागि पर्सानीभाटामा मुस्लिम संगठन अहमदीया संघ नेपालले सञ्चालन गरेको विद्यालय मसरुर पब्लिक स्कूलमा छोरीहरुलाई भर्ना गरे । अब तिम्ल्याहा दिदी–बहिनीको औपचारिक शिक्षा सुरु भयो ।

पढाईमा सधैं अब्बल तीन–बहिनी:

मसरुर पब्लिक स्कूलमा कक्षा ४ सम्म उनीहरुले पढे । उता उनीहरुका बुवा समिन अहमदले आफ्नो पढाईपछि मुस्लिम संगठन अहमदीया संघ नेपालमा जागिर सुरु गरे । ४ कक्षासम्म छोरीहरुलाई मसरुर पब्लिक स्कूलमा पढाएपछि समिनले उनीहरुलाई काठमाडौँ ल्याए । काठमाडौँमा गुह्यस्वरी माध्यमिक विद्यालयमा भर्ना गर्न खोज्दा सो विद्यालयले छोरीहरुलाई २ कक्षामा मात्रै भर्ना गर्यो । पर्सामा ४ कक्षा पढेका नानीहरु काठमाडौँ आउँदा २ मा भर्ना गरे ।

४ पढेर आउँदा पनि काठमाडौँको विद्यालयले नपत्याएर २ मा भर्ना गर्दा छोरीहरुलाई झन् राम्रो गरेर देखाउने चुनौती आइलाग्यो । नभन्दै काठमाडौँमा भर्ना भएको पहिलो वर्षमा नै तीनजना छोरीहरु नै कक्षाको वार्षिक परिक्षामा पहिलो, दोस्रो र तेस्रो भएर देखाए । अहमदीया संघले समिनलाई इटहरी हेर्ने जिम्मा दियो । जता अभिभावकको जागिर हुन्छ उतै जानु पर्ने बाध्यता नानीहरुमा थियो । समिनले छोरीहरुलाई इटहरी लिए । कक्षा ५ देखि ८ सम्म खातुन दिदी–बहिनीहरुले इटहरीमै शिक्षा लिए ।

लबीका खातुन, अतिका खातुन र सबिका खातुन
लबीका खातुन, अतिका खातुन र सबिका खातुन

समिनलाई अहमदीया संघले राजधानी उपत्यका हेर्ने जिम्मा दिएर काठमाडौँ बोलायो उनी यतै आए । छोरीहरुलाई पनि कक्षा ९ र १० मा राजधानीको शिवपुरी माध्यमिक विद्यालयमा भर्ना गरे । तीन दिदी–बहिनीहरु हुने कक्षामा अरुको पालो चौथो हुने मात्रै हुन्थ्यो किनकि पहिलो, दोस्रो र तेस्रो त उनी दिदी–बहिनीहरु नै पालैपालो हुन्थे । दिदी–बहिनीहरुमा आफैमा पनि कडा प्ररिस्पर्धा रहेको छ । पहिलो दोस्रो र तेस्रो हुन लगातार कुनैले पनि पाएका छैनन् । किनकि उनीहरुमध्ये एक वर्ष एउटा प्रथम भयो भने त्यसलाई अर्को वर्ष अर्कोले जितिहाल्ने गरेको देखिन्छ । गर्दै जाँदा कक्षा १० को वार्षिक परिक्षा एसईईमा तीनैजना दिदी–बहिनीको समान अंक जिपिए ३.९५ आएको छ । कस्तो संयोग ! सँगै जन्मिएका दिदी–बहिनीहरुको परिक्षामा पनि उस्तै बराबर नम्बर त्यो पनि शतप्रतिशतको नजिक ।

तीन दिदीबहिनीको समान लक्ष्यः

बराबर अंक ल्याएर एसईई पास गरेका खातुन दिदी–बहिनीहरुको जीवनको लक्ष्यपनि समान रहेको छ । कक्षा ११ र १२ मा विज्ञान विषय पढेर भविष्यमा चिकित्सक हुने उनीहरुको लक्ष्य रहेको छ । पहाडको दुर्गम गाउँ पुरै रुपमा देख्न नपाए पनि तराईको दुर्गम गाउँमा एकैसाथ जन्मिएका तीन दिदी–बहिनी भन्छन्, ‘शरीर फरक भएपनि हाम्रो सोचाई, भोगाई र भविष्यप्रतिको आशा एउटै रहेको छ।’ जे सोच्छन्, उनीहरु एउटै सोच्दा रहेछन् । त्यही भएर होला सायद भविष्यमा के बन्ने भनेर सोध्दा तीनैजनाले एकै स्वरमा भन्छन्, ‘चिकित्सक बन्ने ।’

आफ्ना बुवा र भाइको साथमा तीन बहिनी
आफ्ना बुवा र भाइको साथमा तीन बहिनी

नेपालका प्रख्यात आँखा चिकित्सक डा.सन्दुक रुइतबाट प्रभावित उनीहरु पनि भविष्यमा डा.रुइत जस्तै बनेर देशको सेवा गर्न चाहन्छन् । खासगरी तराईका दुर्गम गाउँहरुमा अहिलेपनि मानिसहरुले आधारभूत स्वास्थ्य सेवा नपाएको देखेर उनीहरुको मन कटकटी खाइरहेको छ । जतिसक्दो तराईका दुर्गम गाउँमा चिकित्सक बनेर गई गाउँलेलाई सेवा गर्ने उनीहरुको सपना र धोको पुरा होओस् शुभकामना !