• बैशाख ९ २०८२, मंगलवार

तालिवानले अफगानिस्तान कब्जा गरेपछि अमेरिकी राष्ट्रपति चकित

श्रावण ३२ २०७८, सोमबार

काठमाडौं । तालिवानले अफगानिस्तान कब्जा गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेन चकित परेका छन् । आफ्ना दूतावासका कर्मचारी र नागरिकको उद्धार गरी नसक्दै विद्रोही तालिबानले राजधानी काबुल कब्जा गरेपछि अमेरिकी राष्ट्रपति बाइडेन चकित परेका हुन् ।

समाचार संस्था एपीका अनुसार २० वर्षसम्म अमेरिकाले युद्ध लडेको अफगानिस्तानमा तालिबानले यति चाँडै काबुलमा सत्ता ढाल्ला भन्ने राष्ट्रपति बाइडेन र उनको टिमका कसैले सोचेका थिएनन् । आइतबार काबुलमा जसरी घटनाक्रम विकसित भए त्यसले बाइडेन प्रशासनलाई अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धार गर्नुमात्रै पनि ठूलो चुनौती बनाइदियो ।

‘हामीले अफगान सुरक्षा फौज देशको रक्षा गर्न असक्षम भएको देख्यौं तर यो हामीले सोचेभन्दा निकै छिटो भयो,’ अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले सिएनएनसँग भनेका छन् । अहिले पनि काबुलमा आफ्ना नागरिक र अरुलाई उद्धार गर्न अमेरिकाले ६ हजार सैनिक तैनाथ गरेको छ ।

बाइडेनले यसअघि नै अगस्ट अन्त्यसम्ममा मात्रै अमेरिकी सैनिक काबुलबाट फर्किने योजना सार्वजनिक गरेका थिए । अमेरिकीहरुको योजनाअघि नै तालिबानहरुले काबुल कब्जा गरेपछि बाइडेन प्रशासनको रणनीतिमाथि पनि प्रश्न उठेको छ ।

राष्ट्रपति बाइडेनको टिममा विदेश मामिलामा अनुभवी व्यक्तिहरू थिए र उनले अफगानिस्तानबारे नियमित ब्रिफिङ लिइरहेका थिए तर कसैले पनि तालिबानले यति छिटो सत्ता कब्जा गर्छन् भन्ने आँकलन गरेका थिएनन् । राष्ट्रपति बाइडेन अहिले क्याम्प डेभिडमा छन् ।

त्यहीँबाट उनले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमबारे उनले जानकारी लिइरहेका छन् । ह्वाइटहाउसका स्रोतहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले अफगानिस्तानबारे बाइडेनले सार्वजनिक सम्बोधन गर्ने जनाएको छ । त्यस्तो सम्बोधन गर्ने भएपछि बाइडेन बुधबारसम्म क्याम्प डेभिडमा बस्ने योजना छोट्ट्याएर ह्वाइटहाउस फर्किने छन् ।