देशभर विभिन्न रुपमा निषेधाज्ञा जारी भैरहेका बेला विद्यार्थीहरु परीक्षा केन्द्रहरुमा परीक्षा दिइरहेका छन् । उनीहरु पहिले खोप र पछि परीक्षा भने पनि विना खोप परीक्षा दिन बाध्य छन् । परीक्षाको बाध्यता जीवन हुनुको संवेदनशीलतासँग कति जोडिएको छ, त्यसको गाम्भीर्यतालाई बुझ्नु पर्छ ।
परीक्षा समूहमा दिइने सामूहिक क्रियाकलाप हो । यसले निषेधाज्ञाको उल्लंघन त गर्छ नै, त्यसमा पनि महामारी संक्रमण फैलाउन अनुकूल वातावरण पनि निर्माण गर्छ । विद्यार्थीको सामूहिक उपस्थितिले संक्रमणलाई बल दिन्छ । आफैमा सामूहिक उपस्थिति सोचनीय कुरा हो ।
विज्ञ तथा अभिभावकमा बहस पनि चलेको छ, स्वास्थ्य ठूलो कि परीक्षा ! त्यसैले परीक्षार्थी विद्यार्थीहरुले पहिले खोप त्यसपछि परीक्षा भन्ने माग गरेका थिए । यो नाजायज थिएन र होइन ।
कोरोना महामारी संक्रमणसँगै परीक्षा प्रणालीमा आधुनिकीकरण गर्ने र यसको प्रक्रियामा विचार गरी विविध उपायहरु खोज्ने बहस पनि चलेकै हो । यसका कारण अनलाइन परीक्षा प्रयोगमा आइसकेको छ । साथै, विद्यालयको आन्तरिक मूल्यांकन पनि अर्को विकल्पमा प्रयोग भै आएको छ ।
यस्ता विविध उपाय र विकल्पको खोजी र प्रयोग भैरहेका बेलामा भौतिक उपस्थिति सहितको पुरानो विधि र मान्यता महामरी संक्रमणका बेला उचित देखिएको छैन । शिक्षाविद, जानकार र अभिभावकहरु प्नि यसमा खुशी देखिएका छैनन् । बाध्यता सिर्जना गरिएको महसुस भएको छ ।
परीक्षार्थी विद्यार्थीका लागि परीक्षापूर्व खोप लगाउनु कोरोना संक्रमण रोकथामको भरपर्दो उपाय पनि हो । कम्तिमा पनि यसले संक्रमण प्रतिरोधात्मक क्षमता बढाउँछ । आत्मविश्वासमा बल पुर्याउँछ ।
यी काम नगरिदिंदा युवा विद्यार्थीमा केही मनोवैज्ञानिक जटिलता पैदा हुन गएको देखिन्छ । उनीहरुको भनाइ पनि छ– ‘खोपको त कुरै छाडौं, परीक्षा हलमा स्यानिटाइजर, तातो पानी र ज्वरो नाप्ने यन्त्र पनि छैन ।’
विश्व विद्यालयस्तरका ६० हजार परीक्षार्थीलाई मात्रै खोप दिने किटानी सरकारबाट भए पनि परीक्षाका बेला तयारी गर्ने कि घण्टौं खोपको लाइन कुर्ने ? यसले दुविधा मात्र होइन, चिन्ताजनक स्थिति खडा गरिदिएको छ ।
यस चिन्ताजनक अवस्थाको अन्त्य गर्न परीक्षा केन्द्रमै खोप दिने व्यवस्था मिलाउनु जरुरी भएको छ ।