• मंसिर ८ २०८१, शनिबार

कुखुराको सुली, बल्यो बिजुली

श्रावण ३१ २०७८, आईतवार

काठमाडौं । विज्ञान प्रविधिले हरेक क्षेत्रलाई छोएको मात्र छैन, भिन्न पनि बनाएको छ । पूर्वी चितवनमा मलको रुपमा प्रयोग गरिदै आएको कुखुराको सुलीबाट बिजुली निकालेर थप आम्दानी सुरु गरेपछि व्यवसायी अर्जुन अर्याल अहिले चर्चामा छन् ।

कुखुराको सुलीबाट ६२ केभिएको जेनेरेटर चलिरहेको र यसबाट हरेक महिना रु. एकलाखको आम्दानी हुने गरेको छ । विजुली उत्पादन भएपछि अर्याललाई थप नयाँ काम गर्ने जाँगर चलेको छ ।

खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको अन्नपूर्ण पोल्ट्री बिडर्स फार्म प्रालीमा बायोग्यास प्लान्टबाट विद्युत् उत्पादन भएसँगै ६२ केभिएको जेनेरेटर फार्मले सञ्चालनमा ल्याएको छ । सञ्चालक अर्यालले १२ लाख सुरु लगानी गरे पनि गर्दै जाँदा हाल रु. एक करोड ६५ लाख खर्च गरी त्यसलाई अत्याधुनिक बनाइसकेका छन् ।

यसले वातावरणीय सफाइमा पनि सहयोग पुर्याएको छ । सुलीबाट ग्यास उत्पादन हुन थालेपछि फार्ममा दुर्गन्ध हराउन थालेको छ ।

 

एक लाख कुखुरा रहेको उक्त फार्मको खोर आधुनिकीकरणसँगै दुई लाख १५ हजार अट्ने क्षमतामा स्तरोन्नति गरिँदै छ । यो सबै विजुलीका कारण संभव हुन गएको हो ।

सुरुमा ६० हजार कुखुरापालनबाट पेशा थालेका अर्याल सत्तरी वर्षका उमेरमा पनि युवाहरुसँग व्यावसायिक प्रतिस्पर्धा गर्न सफल भएका छन् ।