काठमाडौं । अमेरिकी बालबालिकामा कोरोना भाइरस संक्रमण उच्च हुँदै जाँदा अस्पताल भर्ना हुने बालबालिकाको संख्या ह्वात्तै बढेर गएको छ । यसरी भर्ना हुनेमा १२ वर्षमुनिका बालबालिका रहेका छन् ।
निकै आक्रामक देखिएको कोरोना संक्रमण डेल्टा भेरियन्ट नै रहेको विज्ञहरुको दाबी छ । यो संक्रमणका कारण अस्पताल भर्ना हुने बालबालिकाको संख्या बढ्न थालेपछि यसले विकराल रुप लिनसक्ने पूर्वानुमान गरिएको छ ।
सुुरुआतमै अमेरिकाभरि संक्रमित बालबालिकाको संख्या झन्डै २ हजार रहेको बताइएको छ । अस्पताल भर्ना भएका बालबालिका बढी नै गम्भीर अवस्थामा छन् । यो महामारी पहिलेको जस्तो नभएको आम अमेरिकीको टिप्पणी छ ।
महामारी निकै डरलाग्दो भएकाले बालबालिका धेरै नै प्रभावित हुँदैछन् । यसअघि एकाध बालबालिकामा संक्रमण देखिए पनि त्यो त्यति गम्भीर थिएन । जटिलता पनि कम थियो ।
कतिपयको आरोप पनि छ, यसो हुनुको कारण खोप लगाउन अस्वीकार गर्ने प्रवृत्ति पनि हो । खोप लगाउन नमान्ने र बालबाबलिकामा तिनैले नयाँ भ्यारिन्टको कोरोना संक्रमित गराउने आशंका पनि ती विज्ञहरुले गरिरहेका छन् ।
बाहिर प्रचारमा जे जति कुरा ल्याए पनि हालसम्म अमेरिका ५० प्रतिशत मानिसले मात्र पूर्ण खोप लिएका छन् । मात्र ५९ प्रतिशतले एक डोज खोप लिएका छन् । देशभर खोप सर्वसुलभ भए पनि मानिस खोप लगाउन इच्छुक छैनन् ।