• बैशाख ९ २०८२, मंगलवार

तत्काल सत्ता हस्तान्तरण गर्न तालिवानको आग्रह, राष्ट्रपतिद्धारा आपतकालीन बैठक आह्वान

श्रावण ३१ २०७८, आईतवार

काठमाडौं । विद्रोही तालीबानी लडाकूहरु राजधानी काबुलमै पस्न थालेपछि राष्ट्रपति असरफ घानीले आपतकालीन बैठक बोलाएका छन् । उनले नेटोका अधिकारीहरुसँग वार्ता थालेका छन् । राष्ट्रपति घानीले शनिबार एक वक्तव्यमा देश गम्भीर संकटमा परेको बताएका थिए । अफगानिस्तानको सुरक्षा मजबुद बनाउनका लागि सेनालाई संगठित बनाइने राष्ट्रपति घानीले बताएका थिए ।

आइतबार बिहानैदेखि तालीबानीहरु काबुलमा घुस्न थालेपछि त्यहाँको संकट थप गहिरिएको छ । तालीवानीहरुले काबुल बाहेकका शहरहरु कब्जामा लिइसकेका छन् । उनीहरु तीव्र गतिमा काबुलतर्फ बढिरहेका अन्तराष्ट्रि सञ्चार संस्थहरुले जनाएका छन् । प्रमुख शहर जलालाबादका सरकारी अधिकारीहरुले कुनै प्रतिवादबिनै तालिवानीसँग आत्मसमर्पण गरेपछि उत्साहित देखिएका तालिवानीहरु काबुलतर्फ अघि बढेका हुन् ।

यसैबीच अमेरिकाले आफ्ना ५ हजार सैनिकहरुलाई अफगानिस्तान पठाएर आफ्ना नागरिकहरुको उद्धार सुरु गरेको छ । काबुलबाट उसले आफ्नो दूतावासका कर्मचारीहरुलाई तीव्र रुपमा बाहिर निकालिरहेको छ । शहरका कैंयौं इलाकाहरूमा तालिबानी झण्डा फहराइएका छन् । केही स्थानमा गोली चलेका आवाजहरू आइरहेका छन् ।

यसैबीच तालिवानी नेताहरुले शान्ति पूर्णरुपमा सत्ता हस्तान्तरण गर्न घानी सरकारलाई आग्रह गरेका छन् । उसले नागरिकहरुलाई देश छाडेर नजान आग्रहसमेत गरेको छ । अफगानिस्तानको शासन सत्तामा पुनः कब्जा गर्ने तयारीमा रहेको तालिवान लडाकू समूहले अफगान सरकारलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न चेतावनी दिएको छ ।

तालिवान प्रवक्ताले कुनै हिंसाबिना आत्मसमर्पण गर्न सरकारलाई आग्रह गरेका हुन् । तालिवानले आफूहरु बल प्रयोग गरेर काबुल छिर्न नचाहेको भन्दै आफ्ना सबै मुजाहिद्दिनहरुलाई काबुल गेटमै रोकिन निर्देशन दिएको बताएका छन् ।

यता अफगानिस्तानका एक मन्त्रीले शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण र संक्रमणकालीन प्रशासनको बारेमा छलफल भइरहेको बताएका छन् ।