काठमाडौं । अफगानिस्तानमा तालिबान लडाकुहरुले आधाभन्दा बढी प्रान्तीय राजधानीमा कब्जा जमाएका छन् । उनीहरु अब राजधानी काबुल भन्दा ११ किलोमिटरमात्रै टाढा रहेको समाचार छ ।
समाचार एजेञ्सी एफपीका अनुसार अफगानिस्तानका एक स्थानीय प्रशासकले भनेका छन्, ‘तालिबान लडाकु अब केबल ११ किलोमिटर मात्रै टाढा छन् । यद्यपि सरकारको तर्फबाट भने यसको पुष्टि भएको छैन ।
बीबीसीले लेखेको छ, ‘यदि तालिबानले काबुल कब्जा गर्यो भने यो अफगानिस्तान सरकार र सेनाका लागि निकै ठूलो झट्का हुने छ । तालिबानले काबुलमा पनि कब्जा जमाउन सक्ने विश्लेषण आइरहेका बेला विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई फिर्ता लैजान काबुलमा सेना पठाउने क्रम जारी छ ।
पछिल्लो जानकारी अनुसार अमेरिका र ब्रिटेनपछि अष्ट्रेलियाले पनि आफ्नो सेनाको एक टुकडी काबुल पठाउँदै छ । यी सेनाहरुले आआफ्ना देशका नागरिक र दूतावासका कर्मचारीहरुलाई फिर्ता लैजाने छन् ।
शनिबारमात्रै तालिबान लडाकुहरुले पक्तिका र कुनार प्रान्तका राजधानी कब्जा गरेका छन् । यससँगै शनिबारसम्ममा तालिबानले आधाभन्दा बढी प्रान्तीय राजधानीमा कब्जा जमाइसकेको बीबीसीले जनाएको छ । पक्तिकाको परिषद अध्यक्षले भनेका छन्,‘गुप्तचर विभाग, प्रदेश प्रमुखको कार्यालय, प्रहरी हेडक्वाटर र स्थानीय जेल तालिबानको नियन्त्रणमा छन् ।
यसैगरी एक सांसदले कुनार प्रान्तको राजधानी असदाबाद पनि तालिबानले नियन्त्रणमा लिएको बीबीसीलाई बताए । ट्वीटरमा सार्वजनिक एक अपुष्ट भिडियोमा तालिबानी झण्डाका साथ मानिसहरु हिंड्डुल गरिरहेको देखिन्छ । मजार–ए–शरीफ शहरमा अफगान सेना र तालिबान लडाकुहरुबीच भयानक गोलीबारी जारी छ ।