कृष्णलाल अधिकारी नेपालका प्रथम साहित्यिक शहीद हुन् । उनको जन्म विसं १९४४ मा भएको हो भने मृत्यु चाहीँ १९८० सालमा भएको हो । अधिकारीको जन्म रामेछाप जिल्लाको कठजोर तिल्पुङ गाउँमा भएको थियो । उनी लक्ष्मणराज अधिकारी र ईन्द्रकुमारी अधिकारीका माहिला छोरा थिए । १३ वर्षको उमेरमा कृष्णलालको विवाह रामेछापमा नै धर्मकुमारी सुवेदीसँग भएको थियो । उनका १ छोरा २ छोरी थिए ।
उनकी श्रीमतीको वि.सं. १९७७ वैशाख २१ गते निधन भयो । कृष्णलाल त्यतिबेलाको राणा सरकारका कर्मचारी थिए । उनले साहित्यमा पनि धेरै रुची राख्थे । कविता र कथाहरुमा उनको रुची रहेको थियो । उनको लोकप्रियता देखेर उनका प्रतिस्पर्धी रुष्ट भइरहेका थिए । त्यसकारण उनका दुष्मनले उनको बेइज्जत गर्न खोजिरहेका थिए । उनको संगत आशुकवि शंभुप्रसाद ढुंगेलसित थियो । साहित्यिक रचना गर्ने वियषयमा उनीहरुका बीचमा छलफल हुन्थ्यो । साहित्यमा रुची रहेकाले कृष्णलालले पुस्तक लेख्ने चाहना गरेका थिए ।
‘मकैको खेती’ नामक पुस्तक लेखेवापत् उनलाई थुनियो र कारागारमा नै उनको निधन भयो । मकैको खेती कसरी गर्ने भन्ने बारेमा उनले पुस्तक रचना गरेका थिए । खासगरी माटोको छनोट, बीउको छनोट, खेती गर्ने तरिका, मलजल गर्ने तरिका, खेती गर्ने विधिजस्ता कुराहरुमा उनले सो पुस्तकमा उल्लेख गरेका थिए । तर जब उनको सो पुस्तक लेखे तब उनीमाथि विभिन्न आरोपहरु आइलागे ।
यसरी लेखिएको पुस्तकका बारेमा रामहरि अधिकारी, भोजराज काफ्लेहरुले उनीमाथि राणा शासनको विरुद्धमा सो पुस्तक लेखेको भन्दै राणाहरुलाई चुक्ली लगाए । उनको पुस्तकमाथिको सो गलत व्याख्या थियो । मकैलाई जनता र राणा शासकहरुलाई बेलायती कुुकुर भनेको आरोप लगाई सो कुराको चुक्ली चन्द्र शमशेरकोमा पुर्याइयो ।
६० पृष्ठको उनको पुस्तक काठमाडौंको नक्साल भगवती नजिकै पशुपति छापाखानामा १ हजारप्रति छापिएको थियो । पुस्तकको भूमिकामा कृष्णलालले उल्लेख गरेका ‘बेलायती कुकुर’ शब्दले तत्कालिन ब्रिटिस सरकारलाई इंगित गरेको रूपमा व्याख्या गरियो । पुस्तकमा ‘मकै खाने रातो टाउको र कालो टाउको भएको कीरा’ भनेर गरिएको उल्लेखलाई राणाहरूले आफूलाई व्यंग्य गरेको ठानेर पुस्तकलाई प्रतिबन्ध गरे ।
स्मरणीय के छ भने चन्द्र शमशेरले रातो र भीम शम्शेरले कालो टोपी लगाउने गर्दथे । कृष्णलालालाई वि.सं. १९७७ श्रावण ११ मा पक्राउ परे र सुरुमा ६ वर्षको जेल सजाय तोकियो । पछि छापिएको १ प्रति पुस्तक नभेटिएका कारण ३ वर्ष समय थपेर कैद सजायको अवधि ९ वर्ष बनाइयो । विविध रोगले समाएपछि विरामी परेका कृष्णलालको विसं १९८० कारागारमै निधन भयो ।
उनलाई राजद्रोही तथा देशद्रोहीको मुद्दा लगाइयो । कृष्णलाल अधिकारी त्यसबखत कौशील अड्डाका सुब्बा थिए । राणाकालिन दरवारिया दाउपेचमा उनका विरोधीहरूको यस सजायमा ठूलै हात रहेको पनि विश्वास गरिन्छ । राणाकालिन समयमा ‘सुब्बा’ निजामति सेवामा उपल्लो दर्जा मानिन्थ्यो ।
आफ्नो मातहतमा काम गर्ने मानिसबाट नै आफूहरुलाई होच्चाउने काम भएकाले उनलाई झन् कडा सजाय भएको विश्वास गरिन्छ । कृष्णलालका छापिएको १००० प्रतिमध्ये ९ सय ९९ पुस्तक राणाहरुले जलाए भने १ प्रति पुस्तक हालसम्म फेला परेको छैन । उनको जेलमै मृत्यु भएकाले उनलाई प्रथम साहित्यिक शहीद भनिन्छ । जेलमा सुब्बा कृष्णलालको मृत्युले तत्कालीन समाजमा ठूलो सनसनी ल्याइदिएको थियो । लेखपढ गर्ने कार्यप्रति नेपालीहरूको रुचिलाई यो घटनाले कुण्ठित पारेको थियो । यस घटनाले राणा शासकहरुप्रति नेपालीको अनास्था भित्रभित्रै बढ्दो गतिमा जान थाल्यो ।
राणा सरकारले सो पुस्तक छापेको थाहा पाएर चुक्ली लगाइदिए वापत भोजराज काफ्ले र रामहरी अधिकारीलाई भने पुरस्कार दिए । यो घटनाले जनतामा एकप्रकारको त्रास उत्पन्न भएको थियो । यो घटनाको देशैभर चर्चा भएको थियो । यो पर्वलाई ‘मकै पर्व’का नामले चिनिन्छ । कृष्णलाललाई माफी मगाएर सजाय कम गर्न राणाहरुले भने तर उनले आफूले कुनै पनि गल्ती नगरेका कारण माफी नमाग्ने बताए । खासमा केष्णलालले मकैको खेती गर्ने बारेमा जनतालाई जानकारी दिने उद्देश्यले नै सो पुस्तक प्रकाशन गरेका थिए ।
उनका दुश्मनहरुका कारण उनलाई राणा शासकने दण्ड दिने माध्यम बन्यो । वास्तवमा प्रवासमा बसेका कृष्णप्रसाद कोइरालासित सम्बन्ध, सम्पर्क गरेको आरोपमा जाहेरी दिइएको थियो । कृष्णप्रसाद कोइराला राणाहरुको जहानियाँ शासन फालेर प्रजातन्त्र ल्याउनका लागि भारतमा रहेर राणाविरोधी गतिविधिमा संलग्न थिए । सो आरोपको जाहेरीमा कृष्णलाललाई सजाय दिने निहुँ चाहिँ सो पुस्तक बन्न आयो । राणा विरोधी आन्दोलनलाई सघाएको आरोप लाग्न गयो ।
विभिन्न पुस्तकहरुको सहयोगमा ।