काठमाडौं । दुईतिहाईको वाम सरकार ढलेको छ । देउवा सरकार गठन भएको छ । तर वाम सरकार ढल्नुमा पृष्ठभागीय भूमिका निर्वाह गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एम्सीसी) ले बसाइसराइ गर्यो, नयाँ सरकारमा । कलियुगमा कली जहिले पनि सुनमा बस्ने भएकाले त्यो सधैं श्रीपेचमा बस्छ, सत्तासँग अभिन्न भएर रहन्छ ।
एमसीसी कलीका रुपमा नेपाल प्रवेश गरेको केही समय भएको छ । नेपालमा यसले सत्ता ढलाउँदै र बनाउँदै आएको छ । ओली गएका छन् भर्खरै । देउवा आएका छन् त्यो ठाउँमा । कलीरुपी एमसीसी त्यहीं छ, सत्तामा । अहिले देउवाको शीरमाथि बसेको छ ।
सरकार बनेको एक महिना भैसक्यो । मन्त्रीमण्डल बिस्तार हुन सकेको छैन । फगत झगडा छ, लफडा छ । हरेक पार्टीमा गुटगत पाखुरा सुक्र्याइ चलेको छ । सत्ता गठबन्धन अन्तरविरोध र समस्याको पोको बनेको छ ।
सरकार किन सुचारु हुन सकेन ? मन्त्रीमण्डल बिस्तार किन भएन ? संसद किन ‘बिजनेस’ विहीन हुँदैछ ? गठबन्धनले किन मन्त्रीका नाम दिन सक्दैन ? पार्टी किन अबोला भएका छन् ? प्रतिपक्षी दलका नेताले संसदभित्र प्रधानमन्त्रीलाई किन धम्क्याउँदै छन् ?
यसको एउटै जवाफ हो– एमसीसी ! प्रम देउवालाई एउटा प्रश्न सोधियो भने जवाफ अर्को आउँछ । ‘प्रमज्यू ! मन्त्रीमण्डल बिस्तार किन हुन सकेन ?’ अनपेक्षित तर सिधा जवाफ आउँछ– ‘सरकारको साझा कार्यक्रममा प्रचण्डले एमसीसी राख्नै मानेनन् !’ प्रश्न र जवाफमा असंगति छ, बेमेल छ र हास्य पनि, तर यथार्थ कुरा यही हो ।
सभामुखमाथि प्रश्न छ – ‘संसदले बिजनेस किन पाउन छोड्न थाल्यो ? सभामुखको सिधा भनाइ हुन्छ– ‘एमसीसी जनतामा पुगिसकेको छ, मैले संसदमा पेस गर्दैन !’ प्रश्न एउटा तर जवाफ अर्कै, असंगति ! तर वास्तविकता उही !
लेकोक्तिको एउटा प्रसँग यो कुरासँग ठ्याक्कै मेल खान्छ । रोल्पामा खुंग्री भन्ने गाउँ छ, साबिक गाउँ विकास समिति पनि । त्यहाँ बाजे पुस्तामा एउटा यस्तै घटना घट्न गयो, संयोगले बा बाध्यताले !
त्यो साबिक गाविसको हरिगाउँ भन्ने गाउँबाट एकजना खुंग्रीगाउँबासीले घर प्रयोजनका लागि एक धोक्रो धानको भूस लिएर घरतिर हिंडिरहेका रहेछन् । त्यही बाटोबाट खुंग्रेली राजा फत्तेप्रचण्ड सिंह महेन्द्री–हरिगाउँ जाँदै रहेछन् ।
भूस बोकेर आइरहेका ती मानिस राजा आएको देख्ने बित्तिकै ‘के भनूँ के भनूँ झैं’ अलमलअलमल परिरहेका रहेछन् । भूस बोकेको छ, राजालाई ढाँट्न पनि भएन । राजाले जम्काभेटमै सोधेछन्– ‘कहाँबाट आइस् ?’ ती मानिसको मुखबाट एक्कासी जवाफ आएछ– ‘भूस !’ राजासँग आएका आठ पहरियासहित सबै हाँसेछन् ।
अहिले सदनदेखि सरकारसम्म सोध्यो भने कुरा उही छ, ‘एमसीसी !’ एमसीसीको भूतले लखेटिइरहेका प्रम, मन्त्री वा राजनीतिक दलका जिम्मेवार नेताहरुलाई ‘खाना खानु भो त ?’ भनेर सोधे पनि जवाफमा ‘एमसीसी !’ भन्ने जवाफ पाइनु नौलो र अनौठो नमानिने भैसकेको छ ।