• फाल्गुन २७ २०८२, बुधबार

देउवा प्रधानमन्त्री भएको महिना दिन पूरा, किन भएन मन्त्रिपरिषद् विस्तार ?

श्रावण २९ २०७८, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री शेबहादुर देउवाले पदभार ग्रहण गरेको एक महिना पूरा भएको छ । आजकै दिन अर्थात् गत असार २९ गते देउवाले प्रधानमन्त्रीको पदभार ग्रहण हुन् । उनले पदभार ग्रहण गरेको आजै (शुक्रबार) एक महिना पूरा भएको छ ।

महिना दिन पूरा हुँदा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै गठबन्धन भित्रैबाट मुद्दा लडेर ल्याएको संसद् त्यतिकै खेर जाने त होइन भन्ने संशय उत्पन्न भएको छ । प्रमुख प्रतिपक्षी दल एमाले ओली पक्षका सांसदहरूले परमादेशबाट ल्याइएको सरकार दिनानुदिन पंगु बन्दै गएको आरोप लगाउँदै आएका छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा एमाले ओली इतर सांसद कोमल वली लगायतका अन्य केही सांसदले मन्त्रिपरिषद् विस्तारमा किन ढिलाइ भएको हो भन्दै प्रश्न उठाएका छन् ।

यद्यपि एमाले ओली पक्षका सांसदको भनाइ सापटी लिएर भन्ने हो भने सरकार पंगु हुने सम्भावना पनि छ । ओली–नेपाल दुवै पक्ष एकढिक्का भए सरकार पंगु बन्न कुनै बेर लाग्ने छैन । यही बुझेर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवले माधव नेपाललाई सरकारमा सहभागी गराउन फकाइरहेका छन् । नेपाल देउवा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा आफूनिकट नेताहरूसँग छलफल गरिरहेको स्रोत बताउँछ । त्यस्तै उनले यसबारे साउन २१ गते नेताहरूको अभिमत बुझ्न नेपालले आफूनिकट केन्द्रीय कमिटीको बैठक बसाएका थिए ।

बैठकमा सहभागी अधिकांश नेताहरूले अहिले एकता प्रयास भैरहेकोले सरकारमा जान नहुने धारणा राखेको नेपालनिकट केन्द्रीय सदस्यहरूले बताएका थिए । केन्द्रीय सदस्यहरूको अभिमत बुझेपछि नेपालले तत्काल सरकारमा नजाने धारणा राखेका छन् । तर, पार्टी भित्रको बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै सरकारमा जाने वा नजाने केही दिनको छलफलमार्फत प्रधानमन्त्री देउवालाई जानकारी गराउने वरिष्ठ नेता नेपाललाई उधृत गर्दै केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।

केही दिनयता सत्ता सञ्चालनको विषयलाई लिएर गठबन्धनभित्रै विवाद देखिएको छ । यो विवादले दीर्घकालिन पभाव पार्न सक्ने बुझेर देउवा नेपालबिना मन्त्रिपरिषद् विस्तार नगर्ने पक्षमा छन् । उता एमाले ओली पक्षका सांसदहरूले परमादेशबाट ल्याइएको सरकारले राष्ट्रिय महत्वका प्रस्ताव ल्याउन चुनौती दिँदै आएका छन् । किनकि यतिबेला जसपा अध्यक्ष उपेन्द्र र एमाले वरिष्ठ वरिष्ठ नेता नेपाल पक्ष सरकारमा सहभागी छैन । त्यस्तै सरकारले निर्णयार्थ प्रस्तुत गर्नुपर्ने अधिकांश विषय संसद् सचिवालयमा थन्काइएको छ । र, देउवा सरकारका लागि सबैभन्दा चुनौतीको विषय यसअघि ओली सरकारले ल्याएको बजेट पारित गर्नुपर्ने छ । यदि बजेट पारित भएन भने भदौ महिनादेखि सत्ता सञ्चालनमा स्वतः कठिनाइ आउने छ । यही बुझेर एमाले अध्यक्ष ओली पक्ष बौरिएको छ ।

‘संसद्को गठजोडले सरकारले कठिनाइ मोल्नुपर्ने भए हामी त्यसबारेमा थप निर्णय गर्नेछौँ । तत्काल मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनुको कारण जसपा उपेन्द्र र एमाले वरिष्ठ नेता नेपाल लयागतका केही नेताको छलफल र निर्णयमा ढिलाइ भएकाले विलम्ब भएको हो । गठबन्धको सरकार काँग्रेस, माओवादी केन्द्र, जसपा उपेन्द्र–बाबुराम र एमाले नेता नेपाल पक्षको पनि भएकोले हामी सबैले निर्णय गरेर अगाडि बढ्नुपर्ने भएको भन्दै नेपालले आग्रहपछि ढिलाइ भएको छ । जतिसक्यो चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ भन्छन्,’ माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, ‘गठबन्धनको सरकार बनाउनुको मुख्य उद्देश्य सरकार र संसद्को पूर्ण कार्यकालका लागि हो । संसद् दुर्घटना हुनबाट हामी सबै सांसदहरूले एैक्यवद्धता जनाउनु पर्ने नै हुन्छ । यो बीचमा संसद्लाई जोगाएरै भएपनि सरकारलाई निरन्तरता दिनुपर्छ । यसका लागि गठबन्धनमा आवद्ध दलहरूले सरकारमा सहभागिता जनाउनका लागि छलफल गरिरहनु भएको छ ।’

त्यस्तै जसपाका नेताहरूका अनुसार, ‘सरकारमा सहभागी हुनुपूर्व हामीले हाम्रो पार्टी जसपाभित्र केही छलफल र निर्णय गर्नुपर्ने भएकाले हाम्रो तर्फबाट थप ढिलाइ भएको छ । सायद हाम्रो अगामी भदौको पहिलो साता हुने पार्टीको बैठक पश्चात सरकारमा सहभागी हुने सम्भावना छ । तर, हामी जरुर सरकारमा जान्छौँ ।’

तथापि तत्कालिन प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यराति दोस्रो पटक संसद् विघटन गरिन् । विघटित संसद् पुनःस्थापनाको माग गर्दै जेठ १० गते नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), एमाले वरिष्ठ नेता माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चा (राजमो)ले संयुक्त विपक्षी गठबनधन गरे ।

उक्त विपक्षी दलको गठबन्धनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने माग राख्दै काँग्रेस, माओवादी केन्द्र, जसपा उपेन्द्र–बाबुराम, एमाले वरिष्ठ नेता नेपाल पक्ष र राजमोका सांसद सहित १ सय ४६ सांसदले आफ्नो हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दर्ता गराए । त्यसपछि गत असार २८ गते र्सोेच्चले दोस्रो पटक विघटित संसद् दोस्रो पुनःस्थापना गर्यो । र, बहुमत सांसदको समर्थन भएकोले विपक्षी गठबन्धनका नेता तथा काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गर्यो ।

जारी प्रमादेशअनुसार गत असार २९ गते देउवा पाँचौँ पटक देशको प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । देउवा प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पूरा भएको छ । तर, उनले आजसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । प्रधानमन्त्रीले तत्कालिन विपक्षी दलको गठबन्धनमा सामेल भएका सबै दलहरूलाई मिलाएर मन्त्रिपरिषद् विस्तार गर्ने सोच राखे पनि त्यसो हुन भने सकेको छैन । किनकि यसअघि नै राजमोले संसद् पुनःस्थापनाका लागि देउवालई समर्थन गरे पनि सरकारमा सहभागी नहुने बताइ सकेको छ ।

त्यस्तै जसपा आधिकारिकता गुमाएको महन्थ–राजेन्द्र पक्षले पनि संसदको बचाउका लागि देउवालाई विश्वासको मत दिए पनि सरकारमा सहभागी नहुने भन्दै बाहिरिएको छ । जसपा उपेन्द्र–बाबुराम पक्षले पार्टीको आन्तरिक विवाद र केही प्राविधिक कठिनाइका कारण तत्काल सरकारमा सहभागी नहुने बताएको छ । त्यस्तै एमाले वरिष्ठ नेता नेपाल पक्षले पनि पार्टीको लामो आन्तरिक विवाद र त्यसले निम्त्याएको चुनौतीका कारण तत्काल सरकारमा सहभागी नहुने नजाने बताइ सकेको छ ।

संसद्मा १ सय ६५ मत ल्याएर विश्वास प्राप्त गरेका प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेपछि उनकै पार्टी भित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलेसमेत औँला उठाएको छ । उक्त पक्षले प्रधानमन्त्री देउवाले नेपाललाई पर्खेर बस्न नहुने तर्क राख्दै आएको छ । पार्टीगत तथा सरकारी काम कारबाहीमाथि प्रश्न उठिरहेको बेला एमाले नेपाल पक्षको बाटो नकुरी मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने भन्दै पौडेल पक्षले दबाव दिएको छ । तर, देउवा नेपाल पक्षलाई सरकारमा सहभागी नगराएसम्म मन्त्रिपरिषद् विस्तार नगर्ने मुडमा छन् । किनकि नेपाल पक्षलाई सरकारमा सहभागी नगराए देउवा सरकार प्राविधिक रूपमै अपाङ्ग हुने निश्चित छ । र, सरकार स्वतः अप्ठ्यारोमा पर्नसक्ने सम्भावना बलियो छ ।

यदि नेता नेपाल पक्ष सरकारमा सहभागी हुन सकेन भने संसद्को गठजोडमा तलमाथि पर्ने छ । कदाचित नेपाल पक्षले सरकारमा सहभागी नभई एमाले अध्यक्ष ओलीसँग पुनर्मिलन गर्यो भने त्यसको प्रत्यक्ष तथा परोक्ष असर सरकारमा पर्ने निश्चित नै छ । उक्त पक्षका २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए । ती सांसदहरू एमाले संस्थापन पक्षमै फर्किए संसद्मा हुने विभिन्न निर्णय र विधेयकहरू पारित गर्न देउवालाई निकै कठिन हुने पक्का छ । यद्यपि जसपाका ३२ सांसदले देउवालाई विश्वासको मत नदिएका होइनन् । तर, निर्वाचन आयोगको फैसलापछि महन्थ ठाकुर पक्ष यतिबेला दलविहीन अवस्थामा छ । असन्तुष्ट महन्थ पक्षका १२ जना सांसद विपक्षको रेखामा उभिएका छन् । उनीहरू विपक्षमा उभिएपछि प्रधानमन्त्री देउवा उनीहरूप्रति विश्वस्त छैनन् । त्यस्तै नेपाल पक्षका २२ जना सांसद विपक्षको बित्तामा उभिए सरकारले जतिबेला पनि चुनौती मोल्न पर्ने हुनसक्छ ।

साउन ३ गते काँग्रेसका ६१, माओवादी केन्द्रका ४९ जसपाका ३२, एमाले नेपाल पक्षका २२ र जनमोर्चाका १ जना सांसदले देउवालाई विश्वासको मत दिएका थिए । उनको पक्षमा १ सय ६५ मत परेको थियो । यद्यपि नेपाल पक्षका २२ सांसद र महन्थ पक्षका १२ सांसद दायाँ–बायाँ लागे भने संसद् भित्रको गठजोठमा देउवा १ सय ३१ मा तल झर्न सक्छन् । किनकि संसद्बाट महत्वपूर्ण प्रस्ताव, निर्णय र विधेयक पारित गर्न बहुतको आवश्यकता पर्छ । बुहमतका लागि १ सय ३६ जनाको समर्थन अनिवार्य हुनेपर्ने प्रावधान छ । यही जोखिबाट उन्मुक्ति पाउन प्रधानमन्त्री देउवा नेपाल पक्षलाई जसरी पनि सरकारमा सहभागी गराउन चाहन्छन् । र, मन्त्रिपरिषद विस्तार गर्ने पक्षमा छन् ।