जो हतियारसँग खेल्छ, ऊ हतियारबाटै मर्छ । हो उनी हतियार चलाउँथे । हतियारसँग खेल्थे । उनी रगतसँग खेल्थे, रगत नै बगाउँथे । उनी युद्धमा बाँचे, युद्धमै हुर्के, युद्ध गरे । उनी अर्थात् युद्ध उन्मादी । हो, उनको मृत्यु पनि त्यही युद्धकै कारण भयो । युद्धकै क्रममा उनी मरे ।
युद्ध बाँच्ने, युद्ध पढ्ने, युद्ध खेल्ने, अनि युद्धकै कारण सिल्टिमुर खाने ती व्यक्ति हुन्– चेंगिज खाँ । जसको जन्म पालभित्र भएको थियो । जसको कुनै थातबास थिएन ।
भनिन्छ, उनी जन्मदा नै हातमा रगतको दाग थियो । उनका बाबु पनि बहादुर लडाकु थिए । उनको सुरुको नाम तेमुलिन थियो । उनी तेह्र वर्षको हुँदा नै उनका बाबुको निधन भएको थियो ।
उनले कहिल्यै पढ्न लेख्न सिकेनन् । चेंगिज खाँको अर्थ हुन्छ सिपालु लडाकु । उनी आफ्नो नामजस्तै थिए, नामजस्तै भए, सुरवीर लडाकु बने । लाखौँ मान्छे मारे, उनी एक नम्बरका अन्धविश्वासी पनि थिए ।
उनी मङगोलियन समुहको नेता बने । अनि, त्यसको नेतृत्व गरे ।
उनी आफ्नो प्रभुत्व जमाउन चाहन्थे । तर उनलाई रिस गर्नेहरुले उनलाई आँखाको कसिङगर सम्झे । मार्ने प्रयास पनि गरे । उनी भागे, भोकभोकै जंगल पसे । दुश्मनबाट बच्न अनेकन प्रयत्न गरे ।
उनलाई दुश्मनले बाँधे । तर सबैजना खान व्यस्त भएको मौका पारी डोरी फुकालेर सबैलाई ढाले । कुलेलम ठोके घनघोर जंगलभित्र । खोलैखोला, भीरपाखा हुँदै उनी ज्यान जोगाउँदै भागे, दौडे ।
उनको निम्ति हार भन्ने शब्द नै थिएन । उनी युद्धमा बाँचे, युद्ध नै लडे । उनी बडो पराक्रमी थिए । सैनिकहरू उनीप्रति वफादार थिए । त्यसैले उनी चांडै नाइके वा सरदार बने । उनले मंगोलियामा मंगोल उलुस कविला जाति जन्माए ।
उनले घोडचढी सेना पनि तयार गरे । उनले आफ्ना पिताका साथी तुकरल खाँलाई समेत खत्तम गरे । त्यसपछि आफ्नै साथी जमुगालाई मारे । अनि उनी समस्त मंगोलका सम्राट बने । उनी बडो शक्तिशाली थिए ।
सम्पूर्ण एसियामा उनले कब्जा जमाए । एसियाको नयाँ कानुन बनाए । सेनालाई तालिम दिए । अनि देश जित्न हिँडे । यसक्रममा सन् १२१५ मा पेकिङग कब्जा गरे । अनि पश्चिमतिर बढे ।
त्यसअघि उनले चीनको कमजोरी पत्ता लगाई त्यहाँको भूगोलसमेत अध्ययन गरेका थिए । उनले चीन, पर्सिया, अफगानिस्तान, रुससम्मको पश्चिम एसियाको ठूलो भाग जिते ।
उनको शक्ति देखेर कोही त लुरुक्क परेर आत्मसमर्पण गर्थे । तुर्किस्तानका बादशाहले आफ्ना दुतलाई मारेको झोकमा उनले तुर्किस्तानलाई तहसनहस पारे ।
उनी सैनिकहरुमा आँट भर्थे । हिम्मतिला बनाउँथे । साहसी बनाउँथे । उनले मंगोल जातिलाई अरुभन्दा शक्तिशाली बनाए । उनी लड्नमा खप्पिस थिए । शत्रु एकातिर जम्मा हुन्थे, उनी अर्कोतिरबाट आक्रमण गर्थे ।
झुठो प्रचार गरेर जित्थे, जासुसी गर्न लगाउँथे । शत्रु देशका जनतालाई भडकाउँथे । अनि फाटो सिर्जना गरेर आक्रमण गर्थे । उनी एक नम्बरका कुटिल चालवज थिए ।
उनी तातो चिसो मान्दैनथे । भोकप्यास भन्दैनथे । भीरपाखा, डाँडाकाडाँ जंगल सबै ठाउँ कुद्थे । उनलाई जित्न सक्ने कोही भएन । उनले आफ्नो पराक्रमलाई शिखरमा पुर्याए । यसका कारण कुब्ला खाँ जस्ता नाति तयार गरे ।
उनी दुश्मनलाई जित्नु लखेट्नु अनि घरबार बिगार्नु र सम्पति खोस्नुलाई जिन्दगीको मज्जा सम्झन्थे । उनी घोडालाई प्रेम गर्थे । सिकार खेल्थे ।
तर उनी अत्याचारी थिए । उनले युद्धमा गरेका कुकुत्यको लेखाजोखा नै थिएन । रगतको खोलो बगाउँथे, लुट्थे । उनले आफ्नै भाइ मारे । साथी काटे । उनले सहर भस्म पारे, सत्रु डढाए ।
उनी विलासी थिए । स्वास्नी मात्रै चारवटी थिए । रखौटी त धेरै संख्यामा थिए । कति कति उनी वरिपरि सुन्दरीद्वारा घेरिएर बस्थे । सुन्दरीहरु बाजा बजाउँथे, नाच्थे । हुँदाहुँदै लडाइँमा समेत स्वास्नी लिएर हिँड्थे, तर उनी रक्सी भने पिउँदैनथे ।
सन् १२२७ मा उत्तर चीनमा युद्ध गर्ने क्रममा उनी घोडाबाट लडेर मरे । सैनिकहरुले उनको लास पहाड, पर्वत मरुभूमि, खोलानाला पार गरेर मंगोलियासम्म ल्याइपुराए ।
उनीहरुले बाटोमा भेटेजतिलाई मारे । उनीको लाससँगै थुप्रै खजाना राखे । अहिलेसम्म उनको लास कहाँ गाडिएको थियो अत्तोपत्तो छैन । यतिसम्म कि गोप्यता भंग गर्छन् भनेर मलामी गएर फर्केका सैनिकलाई समेत मारिएको थियो ।