काठमाडौँ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । साउनको पहिलो साता नै सार्वजनिक हुनुपर्ने चालु आर्थिक वर्षको मौद्रिक नीति सरकारको हेराफेरीका कारण एक महिना ढीलो सार्वजनिक हुन लागेको हो ।
मौद्रिक नीति सार्वजनिक गर्नेबारेमा छलफल गर्न शुक्रबार बिहानै राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेको छ । शुक्रबार अपरान्ह ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने तयारीका लागि बैठक बोलाइएको बताउँदै सकेसम्म आजै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको जनाइएको छ ।
ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गरिने अर्थमन्त्री जनार्दन शर्माले संसदलाई बताएका छन् । मूलतः बजेट आइसकेपछि त्यसको कार्यान्वयनलाई सहयोग पुग्ने गरी वित्तीय नीति निर्माणका लागि मौद्रिक नीति बनाइने गरिन्छ । यही कारणले बजेट आएपछि मात्रै मौद्रिक नीति ल्याउन अर्थमन्त्रालयले यसअघि राष्ट्र बैंकलाई सुझाएको थियो ।