काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सन्तुलित विकासमा ध्यान दिने बताएका छन् । उनले कुनै नेता विशेषको जिल्लामा ठूलो योजना नहाल्ने प्रतिबद्धता गरेका छन् ।
बिहीबार राष्ट्रिय सभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले सन्तुलित विकासमा ध्यान दिइने बताए । सांसदहरूले प्रधानन्त्रीको जिल्लामा पाँच अर्बसम्मका योजना गएको भन्दै प्रश्न गरेका थिए ।
“यो सरकारले आवश्यकतालाई हेर्छ । कहाँ कुन योजना अगाडि बढ्दा बढी भन्दा बढी जनतालाई फाइदा हुन्छ, त्यसलाई हेर्छ । सन्तुलित विकास पनि हेर्छ,” अर्थमन्त्री शर्माले भने, “पाँच अर्बका योजना आफ्नै ठाउँमा हालिँदैन । डडेल्धुरामा पाँच अर्बका योजना नहाल्ने अर्थमन्त्रीको हैसियतले प्रतिवद्धता गर्दछु ।”
डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो । अब प्रधानमन्त्रीको जिल्ला भनेर योजना नहालिने उनको भनाइ थियो ।
उनले यसअघि सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गरिने बताए । “अध्यादेश मार्फत बजेट नल्याउनु पथ्र्यो, ल्याइयो । अब संशोधन, परिमार्जन, प्रतिस्थापन लगायतका कुरा संसद्मा निर्णय हुनेछन्,” शर्माले भने ।
उनले पूर्वाग्रही बनेर श्वेतपत्र नल्याएको बताए । देशको वर्तमान आर्थिक अवस्था देखाउन श्वेतपत्र ल्याएको उनको भनाइ थियो ।
उनले संघीयतालाई बलियो बनाउने गरी योजना आउने बताए । ससाना योजना संघीय सरकारले नहेर्ने उनको भनाइ थियो ।