• असार २३ २०८१, शनिबार

लुम्बिनीमा ट्राफिक प्रहरीले उठायो २० करोड राजश्व

श्रावण २८ २०७८, बिहीबार

दाङ, २८ साउन ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले आर्थिक वर्ष ०७७-७८ मा झण्डै २० करोड राजश्व संकलन गरेको छ । १२ जिल्लामा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रदेश कार्यालयले ट्राफिक नियम मिच्ने सवारी साधनलाई कार्वाही गर्दा उक्त राजश्व उठेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

१२ जिल्ला र प्रदेश कार्यालय गरी १३ वटा कार्यालयले चेकजाँच गर्दा २ लाख ८६ हजार ३ सय ६९ सवारी साधन कार्वाहीमा परेका छन् । कारवाहीमा परेका सवारी साधनवाट १९ करोड ३२ लाख ४२ हजार ५ सय रुपैयाँ राजश्व उठेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख छ ।

लुम्बिनी प्रदेशमा रहेका ट्राफिक कार्यालयहरु मध्ये जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सवैभन्दा धेरै ५ करोड ७३ लाख १० हजार ५ सय राजश्व संकलन गरेको छ भने सवैभन्दा कम रुकुम पूर्वले ९ लाख ८१ हजार रुपैयाँ राजश्व उठाएको प्रदेश कार्यालयले जनाएको छ । त्यस्तै धेरै राजश्व संकलन गर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीपछि दोस्रोमा दाङ जिल्ला रहेको छ । दाङमा ५६ हजार २ सय ८२ सवारी साधनको कारवाहीवाट ३ करोड ३८ लाख ५४ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ४७ हजार १ सय ४१ सवारीका साधनलाई कारवाही गर्दा २ करोड ६८ लाख ७ हजार ५ सय रुपैयाँ राजश्व संकलन गर्दै प्रदेशमा राजश्व संकलनमा तेस्रो भएको छ । त्यस्तै नवलपरासीमा २० हजार १ सय २४ सवारी कारवाहीमा पर्दा १ करोड १९ लाख ४७ हजार ५ सय, कपिलवस्तुमा २८ हजार ७ सय ८८ सवारी कारवाहीमा १ करोड ७८ लाख ६३ हजार, पाल्पामा १५ हजार ३ सय १८ सवारीलाई कारवाही गर्दा ८८ लाख ५९ हजार ५ सय, बर्दियामा १७ हजार ९ सय ३९ सवारीका साधन कारवाहीबाट १ करोड १ लाख ५९ हजार ५ सय, गुल्मीमा ७ हजार ९ सय ४९ कारवाही बाट ५१ लाख २३ हजार, अर्घाखाँचीमा ६ हजार ७९ सवारी कारवाही बाट ३९ लाख २४ हजार, प्यूठानमा ५ हजार २ सय सवारी कारबाहीबाट ३१ लाख २३ हजार ५ सय र रोल्पामा ३ हजार ४ सय ३२ सवारी कारवाही बाट २२ लाख २३ हजार रुपैयाँ राजश्व संकलन गरेका प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेश ट्राफिक प्रहरी प्रमुख योगेन्द्र सिंह थापाका अनुसार विभिन्न वर्गका सवारी साधन ट्राफिक नियम विपरित सञ्चालन भएका कारण कार्वाहीमा परेका हुन् । “ट्रक, टिप्पर, बस, जिप, कार, ट्रयाक्टर, मोटरसाईकल, टेम्पो जस्ता सवारी साधनहरु धेरै कार्वाहीमा परेका छन्” प्रदेश ट्राफिक प्रहरी प्रमुख थापाले भने ।

प्रदेशभरमा कार्वाहीमा परेका सवारी साधन मध्ये सवैभन्दा धेरै ट्रकहरु रहेका छन् । ट्राफिक नियम मिचेर सवारीका साधन चलाउनेको संख्या दिनानुदिन बढ्ने क्रममा रहेको उनले जानकारी दिए । “सवारीका साधनहरु दिनानुदिन बढ्ने क्रममा छन् भने ट्राफिक नियमालाई मिच्नेक्रम पनि त्यत्तीकै बढेको छ” प्रमुख थापाले भने ।

आर्थिक वर्ष ०७६-७७ मा सबैभन्दा धेरै ४७ हजार २ सय ७१ वटा ट्रक कार्वाहीमा परेका थिए भने बितेको आर्थिक वर्षमा पनि १ लाख ३८ हजार ४ सय ४१ वटा ट्रक कारवाहीमा परेका छन् । त्यस्तै आर्थिक वर्ष ०७६-७७ मा १२ हजार ५७ वटा बस कारवाही परेकोमा बितेको आर्थिक वर्षमा १५ हजार १ सय २० कारवाहीमा परेका छन् ।

आर्थिक वर्ष ०७६-७७ मा १८ हजार ७ सय २९ वटा जिप तथा कार, १२ हजार १ सय ८७ ट्रयाक्टर, २५ हजार ६ सय ३४ मोटरसाईकल र ३ हजार ५ सय ६३ वटा टेम्पो कार्वाहीमा परेका थिए भने आर्थिक वर्ष ०७७÷७८ मा ३७ हजार ४ सय ९४ जीप कार, २० हजार १ सय ३२ ट्रयाक्टर, ६५ हजार ३ सय १४ मोटरसाईकल र ९ हजार ८ सय ६८ टेम्पो कारवाहीमा परेका छन् ।

आर्थिक वर्ष ०७६-७७ मा प्रदेशमै सवैभन्दा धेरै राजश्व संकलन गर्ने जिल्लाको रुपमा परिचय बनाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ बितेको आर्थिक वर्षमा दोस्रो भएको छ । कार्यालय प्रमुख थम्मन जिसीले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७६-७७ भन्दा कारवाहीमा पर्ने सवारीको संख्या र राजश्व संकलनमा बृद्धि भएको बताए । उनले आर्थिक वर्ष ०७६-७७ मा रुपन्देही भन्दा कम सवारी साधन भएको जिल्लाले सवैभन्दा धेरै राजश्व संकलन गरेकोले त्यसको प्रेसरले यो वर्ष रुपन्देही पहिलो भएको दावी गरे ।

जिल्लामा सवैभन्दा धेरै ट्रक, टिप्पर र मोटरसाईकल चालकले ट्राफिक नियम मिच्ने गरेको उनले बताए । बितेको आर्थिक वर्षमा सवारीका साधन चलाउँदा मोबाईल फोन प्रयोगकर्तालाई पनि कारवाही गरिएको उनले जानकारी दिए । राजश्व संकलन बढ्नु भन्दा सवारी चालकले नियम अनुसार सवारीका साधन चलाउनु पर्ने उनले बताए । ट्राफिक नियम मिच्दा सडक दुर्घटना हुँदा धन र जनको क्षति हुने भएकोले चालकले सावधानी अपनाउनु पर्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख जिसीको भनाई छ ।