(एमाले पार्टीमा संस्थापन ओली पक्ष र माधव नेपाल पक्षबीच एकताको संभावना टर्दै गैरहेको छ । निरन्तर प्रयासका बाबजुद पनि किन एकता असंभव देखिदै गैरहेको हो भनी ? संस्थापन पक्षका नेता ईश्वर पोखरेलसँग गोलमेडियान्युज डटकमका संवाददाताले लिएको अन्तर्वार्ताको मुख्य अंश-सम्पादक ।)
१. निरन्तर प्रयासका बाबजुद पनि एकता प्रक्रिया किन टाढिदै गएको हो ?
कतिपय असमझदारीका कुराहरु छन् । साथै, समझदारीका बलिया आधारहरु पनि छन् । पार्टी एकता मुख्य कुरा हो, यसका लागि पार्टी विधि र विधानअनुसार चल्नुपर्छ । तय गरिएका विधि र विधानभन्दा फरक किसिमले चल्न खोज्दा समस्या पैदा भएका हुन् । यसमा थप नेताहरुले अनेकन अभिव्यक्ति दिंदा जनमानसमा नकारात्मक सन्देश प्रवाह भैरहेको छ । यी कुराहरुको बाबजुद पनि एकता प्रक्रिया अघि बढ्नु पर्छ र बढाइनु पर्छ पनि ।
२. पार्टी र देश हाँकिसकेका नेताहरुबाट किन त्यस्ताखाले अभिव्यक्ति आइरहेका होलान् ?
अनुचित र अप्रिय अभिव्यक्ति अवश्यै गइरहेका छन् । यो एमालेसँग सम्बन्धित नेता कार्यकर्ता तथा जनतालाई मात्र होइन, सबै जनताका लागि अप्रिय लागेको छ । यसका केही पृष्ठभागीय कारणहरु पनि छन् । आजै र एक्लाएक्लै यसको समिक्षा संभव पनि छैन । कुनै समयमा यसको समिक्षा होला पनि । हाल एमालेमा घटिरहेको घटना नेपाली जनताका लागि आश्चर्यको विषय बनिरहेको छ ।
३. एमाले पार्टीको आन्तरिक विवाद कसरी सबै नेपालीका लागि अध्ययनको विषय हुन सक्छ ?
घटना एमालेमा देखिए पनि यो सार्वजनिक र राजनीतिक चासोको विषय हो । यो एक नेपाली राजनीतिक परिघटना हो । हामीले स्वीकार-अस्वीकार जे गरे पनि यो सिंगो नेपाली राजनीतिसँग सम्बन्धित छ । त्यसमा पनि वामपन्थी वृत्तका लागि त विशेष घटना नै बन्न पुगेको छ ।
४. एकताका लागि कार्यदल पनि त बनेको हो । १०-बुँदे आधारहर पनि थिए, कहाँ गए ?
हो, पार्टी एकताका लागि कार्य दल पनि बनाइयो र १०-बुँदे आधार पनि तयार गरियो । यो प्रस्ताव पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालको सहमतिमा भएको हो । कार्य दलले तयार पारेको आधारपत्र दुवै नेताहरुलाई बुझाइएको पनि हो । पार्टी स्थायी समिति र केन्द्रीय समितिमा छलफल पनि भैसकेको हो । तर लगत्तै माधव नेपालको तर्फबाट असहमतिका संकेतसहित सार्वजनिक अभिव्यक्तिहरु आउन थाले । तथापि अहिले पनि ती १०-बुँदे आधारहरुलाई मानेर गए एकता संभव छ, कुनै पनि बाधा अड्चन छैन ।
५. त्यसो हो भने तपाईहरु विधान महाधिवेशनतर्फ किन लागेको हो ?
सहमतिका आधारहरु आफ्नो ठाउँमा छन् । एकता प्रक्रियाका कुरा पनि चलिरहेका छन् । तर पनि हामी बाध्यात्मक अवस्थाले घेरिएका छौं । २०७९ साल बैसाख १० गतेभित्र पार्टी महाधिवेशन गरिसकेर पार्टीको वैधानिकता बरकरार राख्नु छ । यसलाई ‘इग्नोर’ गर्न मिल्दै मिल्दैन । अर्को कुरा पार्टी महाधिवेशन पूर्व हामीहरुको विधान महाधिवेशन हुन्छ । विधान महाधिवेशनबाट पार्टी विधान बनिसकेपछि बल्ल हामी पार्टी महाधिवेशनतर्फ अघि बढ्न सछौं । योसँगै अब स्थानीय तहको निर्वाचनको समय आइसकेको छ । यी सबैले गर्दा हामीसँग समयको सीमा छ ।
६. यसले एमाले एकता प्रक्रिया नहुने भएरै टुंगिएको जस्तो पो अनुभूत गराउँछ त ?
एमाले पार्टीभित्रको एकता प्रक्रिया टुंग्याउनु पर्ने हुन्छ, यो यथार्थ हो । यसलाई यथासमयमै हल गरेर जानु पर्छ । पार्टी महाधिवेशनबाट निर्वाचित अध्यक्षसहितको टिम एकातिर छ, पार्टीको विधान, विधि र प्रक्रिया पनि छ । त्यसैअनुसार चल्नु पर्यो नि । पार्टी गतिहीन भएर अघि बढ्न सक्दैन । पार्टी एक गतिशील संस्था हो । यो त अघि बढ्छ नै । असझदारीका कुरा हल गर्दै अघि पनि बढिराखौं । पार्टीलाई जीवन्तता दिने कुराहरु पनि रोक्न भएन ।
७. माधव नेपाल विनाको एमाले बन्ने पो भयो त ? छाड्नु हुने भयो त ?
पार्टीका विधि विधान छाडेर हामीले पार्टीलाई ठीक किसिमले अघि बढाउन सक्दैनौं । फेरि एकताको आधार नखोजिएको पनि होइन । हामीले एकताका लागि १०-बुँदे आधारहरु तयार पारेकै छौं । त्यसैलाई टेकेर अघि बढौं । २०७५ सालको महाधिवेशनको जग छँदैछ । अहिल्यै त्यही पार्टीमा दुईवटा अध्यक्ष कसरी हुन सक्छ ? कुन विधि र विधानले भन्छ यस्तो ?
८. मिल्दा दुई अध्यक्ष भए के भो त ? पार्टी महाधिवेशनले एउटै अध्यक्ष चयन गरे हुँदैन ?
अझैं पनि एमाले सग्लो छ, एक छ । पार्टीको महाधिवेशन हुँदैछ । नेकपाबाट भिन्द भएको भनेको त एमाले र माओवादी केन्द्र हो, एमाले होइन नि । त्यसैले एमालेले २०७५ सालको पार्टी महाधिवेशनको जगमा टेकेर अघि बढ्नु पर्छ ।
दुई अध्यक्ष र भागबण्डाको कुरालाई लिएर असंगतिपूर्ण किसिमले अघि बढ्नु उचित हुँदैन । एकताका १०-बुँदे आधार तयार भैसकेको छ । यसलाई किन नटेक्ने ?
९. त्यसो भए बुझाइमा समस्या कहाँनेर आएको हो ?
एकताका लागि १०-बुँदे आधार तयार पार्ने कार्य दल सहमतिबाटै बनेको हो । कार्य दलले प्रतिवेदन बुझाएकै हो । यसमा बुझाइ त फरक छैन होला । तर यस लगत्तै दुई अध्यक्ष र भागबण्डाका कुरा कहाँबाट आए ? यो बुझि नसक्नुको छ । यो त विधि र पद्धतिसम्मत पनि छैन । यसरी पार्टी चल्दैन ।
१०. निषेधको राजनीतिले मन भाँचिएको हो कि मन भाँचिए पछि निषेधको राजनीति सुरु भएको हो । पूर्वाग्रह साह्रो देखियो त ?
यो मनोदशाको कुरा हो । भाँचिएका मन, भत्किएका मन भन्ने कुरा मनोदशाका कुरा हुन् । पार्टी नवौं राष्ट्रिय महाधिवेशनमा हामीले सौहाद्र्रपूर्ण अभ्यास गर्यौं । यो अभ्यासले हामीलाई यहाँसम्म ल्याएको छ । अहिले नै हामीले यो वा त्यो भनी निष्कर्षमा पुग्नुभन्दा पनि पहिले नै हाम्रो प्रयोग र अभ्यास हेरौं । विना आधार र गन्तव्य जाने कहाँ, पुग्ने कहाँ ? हामीले हुँदै गरेको महाधिवेशनमा नमिलेका कुराहरु मिलाएर एक ढिक्का बनाएर लैजानु छ । पावर शेयरिङ गरेर जाने भनेको के हो ? यसले कस्तो पार्टी बनाउँछ ?
११. त्यसो भए आउने आउँछन्, नआउने छुट्छन् ?
छुट्ने र छुटाउने कुरामा हामी छैनौ । सबै साथी एक भएर जाने पक्षमा हामी छौं । तर विसंगतिपूर्ण ढंगले अर्को व्यवस्था गरेर हामीहरु कसरी अगाडि जाने ? यो त संभव देखिदैन । यसका लागि महाधिवेशन समयमै सम्पन्न गर्नु एकमात्र उत्तम विकल्प हो ।