काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको दावी गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेस आफैंले गर्नुपर्ने बताएका छन्।
बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदारले आफ्नो ५० वर्षे राजनीतिक इतिहास नै समाप्त पार्ने गरी ललिता निवास प्रकरणको नाममा अख्तियार दुरुपयोग अनुसन्धानले आफूमाथि दुश्मनी साँध्ने काम गर्नु अन्तत: संविधानमा त्रुटी हुनु रहेको उल्लेख गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेस आफैले गर्नुपर्ने तर्क गरे।
‘तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले जग्गाको लालपुर्जा बाँड्छ? मोहीको जग्गा छुटाउने दायित्व मेरो थियो? त्यो दायित्व भूमि सम्बन्धी मन्त्रालयको होइन र? तर राज्यले मलाई तह लगाउने नाममा ललिता निवास जग्गा प्रकरणमा फसायो। मलाई सो विषयमा थाहा पनि थिएन। तर मलाई तह लगाउने नाममा अख्तियार लगाइयो।’ उनले भने
गच्छदारले भने,’मेरो राजनीतिक जीवनलाई समाप्त पार्न खोजियो। यी सब काम संविधान, कानुनको आडमै गरिएको हुनाले यसमा रहेको त्रुटि सच्याउने काम नेपाली काँग्रेसले गर्नु पर्छ। आदिवासी, जनजातिको छोरालाई फसाउने संविधानका ती प्रावधान हटाउनु पर्छ।’
उपसभापति गच्छदारले आफूले वर्तमान संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको कुरा पटकपटक दोहोर्याए ।