• मंसिर ११ २०८१, मंगलवार

अब जुटौं देश खोक्रो पार्ने दलालतन्त्र विरुद्ध

श्रावण २७ २०७८, बुधबार

नेपालमा समाजवादउन्मुख संघीयतासहितको गणतान्त्रिक संविधान छ । यसको आफ्नै संघीय, प्रादेशिक तथा स्थानीय गरी तीन तहको संरचना छ । यसको प्रयोग र रक्षाका लागि अहिले राजनीतिक लडाइँ चलिरहेको छ ।

यही लडाइँका कारण केपी ओलीको सरकार बाहिरिएको छ । शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्न पुगेको छ । आन्दोलन र परिवर्तनका पक्षधरहरुको ध्रुवीकरण हुन थालेको छ ।

यो अन्ततः राजनीतिक ध्रुवीकरण र रुपान्तरणको बाटोमा अघि बढ्दै छ । यति बेला देशीय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु सलबलाइरहेका पनि छन् । अबका दिनमा समाजवादी दिशामा अघि बढ्ने र शक्ति केन्द्रहरुको दलाल बन्ने भन्ने दुई विकल्प रहेको देखिएको छ ।

आजको राजनीतिक संघर्षमा पनि समाजवाद उन्मुख संविधानको रक्षाका लागि को अघि बढ्ने र संविधानसहित संघीय संरचनाको खारेजीमा को अघि बढ्ने भन्ने प्रतिस्पर्धाजस्तो देखिएको छ । रक्षाका खातिर नेकपा माओवादी केन्द्रका अध्यक्षसहितको टिम देखा परेको अनुभूत हुन थालेको छ ।

यस अतिरिक्त पश्चगाामी पार्टी र शक्तिहरुको काम देशलाई अस्थिरतातर्फ धकेल्नु हो । अग्रगामीहरूको दायित्व देशलाई त्यस अवस्थामा जानबाट बचाउनु हो । आजका समस्याहरू समाधान गर्नु र भोलिको मार्गचित्र कोर्नु पनि हो ।

समाजमा रहेको न्युनचेतना र पिछडिएको धरातलमा टेक्दै थप समाजलाई विकृत बनाउनु तथा जनताको जीवनस्तरलाई भीखमगुवा र पराश्रित गराउने काममा प्रतीगामीहरू लागिरहेका छन् । समयको गतिसँगै अग्रगामीहरू झनै दशौंगुणा चलाख हुँदै राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक पक्षमा केन्द्रित भै ब्यापक भण्डाफोर गर्नु तथा जनतालाई सचेत्तापूर्वक भ्रम मुक्त गर्नु आजको आवश्यकता बनेको छ ।

अग्रगामीले राज्यसत्ताका समग्र अंगहरूको समुचित परिचालनमा ध्यानाकर्षित गराउन जरूरी छ । किनकि, आजको सुरक्षा अंग, अदालत, कर्मचारी, सरकार र प्रेश तथा पेसाकर्मी वा नागरिक अभियन्ता आदि अंगहरू पुरानो सत्ताबाट पालितपोषित र जगेर्ना गरिएका शक्तिसम्बद्ध भएकाले कतै न कतैबाट प्रभावित हुने सम्भावना रहन्छ ।

उनीहरूमा आउने समस्यालाई विचारधारात्मक र राजनीतिक तवरले हल गर्नु हाम्रो दायित्व हो । यिनै अंगहरूमा पश्चगमनकारीहरुको बढी चलखेलका कारण सरकारमा समस्याहरू उत्पन्न गर्दछन् । दलाल संयन्त्रको विशेषता नै राज्यसत्ताका अंगहरूमा प्रभावित पार्दै उनीहरूको मिलेमतोमा देश खोक्रो बनाउने हो ।

हामीहरूले आफ्नो शक्तिलाई जनताको सेवा गर्न लायकको अग्रगामी दस्तामा परिचालित गराउन जरूरी छ । आफ्नो शक्तिलाई परिवर्तनको साधनका रुपमा जनतामा लोकप्रियता हासिल गर्न सक्ने बनाउन सक्नु छ । नेतृत्व एकआपसमा मिलेर सही कार्यदिशा बनाई आफू र समग्र जनता एउटै सुत्रमा चल्ने बनाउन आवश्यक छ ।

परिवर्तनकामी शक्ति पनि विपरीतहरूको एकत्व र एक दुईमा विभाजनमा आधारित हुन्छ । पार्टी पनि आफैमा अस्तित्वमा रहेको वस्तु भएकाले भौतिक जीवनप्रति खेलवाड नगरी वस्तुगत नियमका आधारमा चल्न जरूरी छ । समाज गतिशील छ ।

मानवजातिको इतिहासमा हजारौं वर्षहरू संघर्षमा बितेका छन् । इतिहास आफै बोल्छ, केही सय वर्षहरू संघर्षको तयारीका रुपमा बितेका पनि छन् । तर पनि परिवर्तनकारीहरु मानव भविष्य सुनिश्चित गर्न सचेततापूर्वक अघि बढिरहन्छन् । उनीहरु शान्तिपूर्वक विचारधारात्मक संघर्षको राजनीतिलाई आत्मसात् गर्दै अघि बढिरहन्छन् । यो कार्यभार पूरा गर्नका लागि आफ्नो स्थानबाट गतिशील पाइलाहरु चलिरहन्छन् ।