• असार २५ २०८१, सोमबार

दाङमा मन्दिरको पुजारी र शिलान्यास गर्ने दलित

श्रावण २७ २०७८, बुधबार

घोराही, २७ साउन ।
नागेश्वर पार्वती महादेव मन्दिर घोराही–१८ मसिना दाङमा पुजारी रीता सार्की दुई वर्षदेखि कार्यरत हुनुहुन्छ । उहाँलाई ब्रहामण समाज नेपालका केन्द्रिय उपाध्यक्ष जयानन्द शर्माले सम्मान गर्नुभयो । त्यसको केहि दिनपछि नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सदस्य मानबहादुर विकको टोली पनि सम्मान गर्न पुग्यो । उहाँ साउनमै दुईचोटी सम्मानित हुनुभयो ।

‘हजार रुपैयाँ दिने दलितको घरमा पुगेर कर्म गर्ने ब्रहामण छन्’ शर्माले आफ्नै जाततिर कमजोरी स्विकार्दै भन्नुभयो, ‘पाँच दश रुपैयाँ दिनेको घरलाई दलित भनेर हेलाँ गरी नजाने छन् ।’ उहाँका अनुसार जातीय विभेद हुने गलत काम ब्रहामणबाट पनि भएका हुन् । खासमा हिन्दु धर्मका लागि १६ संस्कार छन् । ती संस्कार ब्रहामणलेपनि पुरा गर्न सकेका छैनन् ।

तिनै संस्कार पुरा गराउन ब्रहामणको आवश्यकता पर्छ । जुनसुकै जातले बोलाएपनि ब्रहामण जानुपर्छ । जन्म, विवाह, मृत्यु लगायत सबै कर्म गरिदिनुपर्छ । त्यसोगर्दा कुन जातमा जाने कुनमा नजाने भनेको छैन । सनातन हिन्दु धर्मबाहेक अरुमा यी संस्कार मिल्दैनन् र ब्रहामण खोज्दैनन् । त्यसबाहेक छुवाछुत, उचनिच र पानी चल्ने नचल्ने भन्ने सनातन हिन्दुधर्ममा छँदै छैन ।

यसैगरी प्रमुख अतिथि रीताले सबै सुध्रिएपछि मात्रै समाज राम्रो बन्ने बताउनुभयो । पुजा गरेको विषय चर्चा भएकोमा खुशी व्यक्त गर्नुभयो । सम्मान गरेको भन्दै समाजप्रति हादिक नमन व्यक्त गर्नुभयो । उहाँका अनुसार भगवानले पानी चल्ने नचल्ने, तल माथिको जात भनेका छैनन् ।

घोराहीका ७२ वर्षे ब्रहामण शर्माले रीता सार्की सामु टिका थाप्न खुशिले शिर निहुराउनु भयो । उहाँले व्यक्तिलाई नभई भगवानलाई शिर झुकाएको बताउनुभयो । सार्की २६ वर्षीय र नातिनी सरहकी हुनुहुन्थ्यो । रीताले हर्षितहुँदै निधारमा टिका लगाइदिनु भयो । ‘प्रणाम हजुर बुवा’ भनेर आदर गर्नुभयो ।

यति भनिरहँदा शर्मा निकै गम्भिर देखिनुहुन्थ्यो । उमेरले नातिनी समान भएपनि मन्दिरमा बस्ने त्याग र समर्पणलाई ब्रहामण समाजका केन्द्रिय उपाध्यक्ष समेत रहनुभएका शर्माले सम्मान गर्नुभयो । सानै उमेरमा माता बनेकी रीतामा पनि अहंकारको एक अंश पनि झल्किएन । आदर सत्कार गर्नुपर्ने मान्यजनलाई सम्मान गर्छु, मेरो तर्फबाट सबलाइ नमन छ भन्नुभयो ।
सरल स्वभाव, बोलिमा मिजास, सामान्य पहिरण, सानो खुरीको ज्यानकी रीता त्यस जातबाट पहिलो माता बन्नुभएको छ ।

मन्दिर स्थापनाकालमा पार्वती विक हुनुहुन्थ्यो । उहाँ अन्यत्र गएपछि रीता आउनु भयो । त्रिमुर्ती नागेश्वरी मन्दिर जलुकेबाट रीताको माता बन्ने यात्रा शुरु भएको थियो । त्यहाँ जोल्ठीएका (आपसमा बेरिएका) सर्प देखिएपछि स्थानीयले देउता माने । मन्दिर बनाइदिए । रीता काँपिन र पुजा गर्ने माता बनिन् । अहिले दुवै मन्दिरकी पुजारी बन्न सफल भइन् ।

उहाँ आफूलाई जान्ने भएर माता नबनेको बताउनुहुन्छ । भगवानको अह्रन खटनमा मन्दिरमा बसी सेवा गरेको रीताको भनाई छ । ‘मैले केहि जानेको छैन’ माता सार्कीले भन्नुभयो, ‘भगवानले जे भन्नुहुन्छ त्यहि गर्ने हो ।’ उहाँका अनुसार मन्दिरको संरक्षण र पुजा गर्न बसेको हो ।

पैसा कमाउन, नाम कमाउन वा अरु केहि लाभ होला भन्ने आशले सेवामा लागेको होइन ।
टिका लगाउनुस् अर्का व्यक्तिलाई रिताले भन्नुभयो, मैले मुखै धोएको छैन भनेर जवाफ दिएपछि रीताले भन्नुभयो, ‘भगवानले नुहाएर आ भन्नुहुन्छ र ?’ प्र्रश्न गर्नुभयो । पुजारी रीताका अनुसार सबै सुध्रिनुपर्छ । सबैथरी फुलको माला बनाए राम्रो देखिन्छ । त्यसैगरी सबैजना सुध्रिएपछि समाज राम्रो बन्छ ।

संसारकै पुरानो सभ्यतामध्ये सिन्धु सभ्यता पनि एक हो । त्यहि सिन्धुबाट विकसित भएको शब्द ‘सिन्धु’ हिन्दु भएको हो । हालको पाकिस्तानमा पर्ने सिन्धु नदीको किनारमा विकास भएको सभ्यतालाई सिन्धु सभ्यता भनिएको हो । इरानीहरुको भाषाको शब्दकोषमा ‘ह’ अक्षर छैन र ‘स’लाई उनीहरु ‘ह’ भन्थे । उनीहरु सिन्धु भन्थे भने त्यही शब्दलाई पछि हिन्दू भन्न थालिएको इतिहास रहेको छ ।

हिन्दू सभ्यता करिब ५,००० वर्ष पुरानो मानिन्छ । सुरुमा हिन्दू सभ्यतामा छुवाछुत जस्तो विभेदको कुरा केही छैन तर पछि समाजमा धर्मको आडमा शासन गर्नेहरुले यसलाई विकृत बनाए र आजसम्म आउँदा कथित ठूलो जातकोले कसथत सानो जातकोे भनिएको मानिसलाई छुनै नहुनेगरी बहिष्कार गर्दै आएका छन् ।

अब त्यसलाई अन्त गर्न जरुरी रहेको छ । भगवानले यो खा त्यो नखा भनेका छैनन् । खाए नखाएको हेर्न पनि आउँदैनन् । छुवाछुत मानव निर्मित नियम हो । भगवान निर्देशित होइन । त्यसैले यसलाई मानवले नै हटाउनु पर्छ । त्यो बेला आएको छ । त्यहाँ पुगेका कसैले पनि जातीय आडम्बर देखाउँदैनन् । रीता पुजारी भएपछि जातीय समानताको गतिलो सन्देश प्रवाह भइरहेको छ । सबैजातका मानिसहरु पुजा गर्न जान्छन् ।

यसैगरी घोराही–१९ बिलौनी बजारमा साउन महिनामै मन्दिर शिलान्यास गरियो । संयोगले मन्त्र जप पाठ गर्ने ब्रहामण ब्रहामण समाजका केन्द्रिय सदस्य जयानन्द शर्मा पर्नुभएको थियो । त्यहाँ जीवराज शर्मा पनि हिन्दु धार्मिक विधिको मन्त्र पाठ गर्न थपिनु भयोे । सावित्रादेवि बेल्वासेले पुजा गर्नुभयो । समाजसेवी तेजबहादुर विकले जगमा ढुंगा राखेर शिव शिवालय मन्दिरको शिलान्यास गर्नुभयो । त्यसो गर्दा उपस्थित अतिथि कसैले पनि विरोध जनाएनन् ।

उक्त धार्मिक कार्य शुभारम्भ गर्न भारतको पाटन मन्दिरका पवन दास, स्वर्गदारीका रघुनाथ गिरी महाराज, हुमानन्द गिरी महाराज लगायत हिन्दु धर्मका गुरुहरु उपस्थित हुनुहुन्थ्यो । आठ दश लाख लगानी गरेर भव्य मन्दिर बनाउने योजना रहेको समितिले जनाएको छ । प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ हुनुहुन्थ्यो तर शिलान्यास दलितबाट गराइयो ।

घोराही बजारदेखि उत्तरपूर्व करिब तिन किलोमिटरको दुरीमा शिलान्यास गरिएको मन्दिर समाजसेवी एवं नेपाली कांग्रेसका स्थानीय नेता गणेश बेल्वासेले दिवंगत पिता गुमानसिंह बेल्वासेको स्मृतिमा स्थापना गर्न लाग्नु भएको छ । त्यसमा शिव, शिवलिंग र स्वर्गद्धारी महाप्रभुको मुर्ती राखिने छ । निर्माण सम्पन्नपछि स्वर्गद्धारी पुग्न नसक्ने तिर्थालु भक्तजनले त्यहि तिर्थ गर्न सक्ने छन् ।

पीपल चौतारी छेउमा स्थापना गर्न लागिएको मन्दिरको सुन्दर हावा र धार्मिक रुपमा पनि थप महत्वको हुने बताइएको छ । उसैपनि स्थापित बिलौनी बजार मन्दिरले थप आकर्षक बन्ने स्थानीय बताउँछन् । स्वर्गद्धारी महप्रभुको दर्शन गर्न जाने भारतीय तिर्थालुको मुख्य मार्ग त्यहि हो ।

यसरी दाङमा मन्दिरको पुजारी हुने र शिलान्यास पनि दलितले गर्न थालेपछि जातीय समानताको अर्को उचाई हासिल भएको छ । यो कर्मले जातीय विभेद मेट्नेमा भूमिका खेल्ने विश्वास गरिएको छ ।