काठमाडौं । एमाले व्युँतिए पश्चात् एमालेभित्र देखिएको विवाद पुनः उत्कर्षमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालबिना नै पार्टीको विधान संशोधन गरेपछि एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेको एमाले उपमहासचिव तथा नेपालनिकट नेता घनश्याम भुषाल बताउँछन ।
एमालेको नवौँ महाधिवेशन २०७१ असार १९ गते काठमाडौँमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनबाट ओलीले वरिष्ठ नेता नेपाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि उनले पार्टीभित्र एकाएक सर्वसत्तावाद लाद्दै शक्तिशाली बने । त्यतिले मात्रै नपुगेपछि ओलीले आफ्नै पार्टी भित्रका विरोधी खेमालाई किनारा र राष्ट्रवादको नारा लगाउँदै झन् शक्तिशाली बन्न खोजे । अझैँ यतिले पनि नपुगेपछि नवौँ महाधिवेशनबाट अध्यक्ष पदमा ओली निर्वाचित भएपछि नै आफू निर्वाचित अध्यक्ष भएको भन्दै पार्टी कमिटीमाथि सर्वेसर्वावाद लाद्न थालेका छन् ।
यद्यपि २०६६ मा बुटवलमा भएको आठौँ महाधिवेशनबाट विधान संशोधन गर्दै बहुपदीय संरचना अर्थात् उक्त महाधिवेशनबाट अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहसचिव र पाँच सचिव निर्वाचित भएका थिए । यो सांगठानिक संरचना एमालेको नावौँ महाधिव्शनसम्म आइपुग्दा उसले निरन्तरता दिन भ्याएन । त्यसपछि नवौँ महाधिवेशनले नयाँ विधान संशोधन गर्दै अधिवेशन सम्पन्न गर्यो ।
त्यसयता अध्यक्ष ओली आफू बहुबली बन्ने चहाना अनुरूप अगाडि बढेको र बुनेको सपना पूरा गर्ने ध्याउन्नमा छन् । उनले सोचेको र चाहेजस्तो बन्न एमाले महाधिवेशनबाट एक जना अध्यक्षबाहेक अन्य पद निर्वाचित गर्नेगरी विधान संशोधन गर्न प्रस्ताव गरेका छन् । हिजो (सोमबार) ओलीनिकटको राजधानी उपत्यकाको ललितपुरमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष मात्र निर्वाचित हुनेगरी पार्टीको विधान संशोधन गर्न प्रस्ताव पारित गरेको हो ।
ओलीले महाधिवेशनबाट अध्यक्षमात्रै निर्वाचित हुने व्यवस्था राख्न प्रस्ताव गरिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । आगामी दसौँ महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य निर्वाचित हुने प्रस्ताव गरिएको सचिव तामाङले बताए । अध्यक्षज्यूले एमाले पार्टीलाई नयाँ र व्यवस्थित ढंगले अगाडि बढाउन यस्तो प्रस्ताव गरेको एमाले उपमहासचिव तथा ओलीनिकट नेता संगठन विभाग प्रमुख विष्णु पौडेलले बताएका छन् । पौडेलको संयोजकत्वमा गठित विधान संशोधन मस्यौदा कार्यदलले सो विधान संशोधन गरेको छ ।
संशोधित विधानमा पार्टी अध्यक्ष एक जना र उपाध्यक्षको केही संख्या घटाइएको छ । नवौँ महाधिवेशनमा पाँच जना उपाध्यक्ष निर्वाचित भएका थिए । तर, त्यसलाई घटाएर दुई जनामात्रै राखिने विधानमा उल्लेख गरिएको छ । विधान बमोजिम सचिवको संख्या पनि बढाएर ७ पुर्याएको छ भने प्रादेशिक संरचनामा जान सचिवको संख्या ७ पु¥याउने संशोधित विधानमा उल्लेख छ । त्यस्तै पोलिटब्युरो सदस्य र वैकल्पिक केन्द्रीय सदस्य पद पूर्णरूपमा खारेज गरिने भएको छ । अब एमाले पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था हुनेछ । स्थायी कमिटी ३५ सदस्यीय रहने भनी उल्लेख गरिएको छ ।
‘विधान संशोधन हुनुमा अध्यक्षलाई काम गर्न सहज होस् भन्नका लागि यसो गरिएको छ । विगतका वर्षहरूमा उहाँलाई काम गर्न निकै प्रतिकूल अवस्था सृजना भएकोले यसपटक विधान संशोधन गर्नु परेको हो । विगतका वर्षहरूमा जसरी काम गर्न बाधा अड्चन आइपरे उप्रान्त त्यस्ता समस्या नआउन भन्नका लागि विधान संशोधन गरिएको छ भन्छन्, ओलीनिकट नेता प्रदीप ज्ञवाली ।’
‘अर्का एमाले असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षसँग कुनै सल्लाह नगरी ओलीले विधान संशोधन गरेको भन्दै उनीनिकट नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । पार्टी एकताको प्रयास भैरहेको समयमा ओलीले एक्कासी विधान संशोधन गर्नु एकताको मर्मविपरीत कार्य भएको पार्टी उपमहासचिव तथा नेपालनिकट नेता घनश्याम भुषाल बताउँछन् ।’
त्यस्तै नेपालनिकट नेतृ ‘रामकुमारी झाँक्रीले सामाजिक सञ्जालमार्फत कमरेड खड्ग ओलीको नजरमा मान्छे (विरोधी) हरू शत्रु र चाकर भएको भन्दै रोष पोखेकी छन् । उहाँ (ओली) के गर्न चहानु हुन्छ भन्ने स्पष्ट छ । त्यसैले जे गर्दै हुनुहुन्छ, जस्तो पार्टी बनाउन खोज्दै हुनुहुन्छ, त्यो अनौठो होइन भन्दै थप व्यंग्य गर्छिन् ।’
यद्यपि विगत लामो समयदेखि एमाले विभाजन उन्मुख छ । त्यसलाई सल्टाउन ओली–नेपाल दुवै पक्षका दोस्रो वरियताका नेता सक्रिय हुँदै आएका थिए । उनीहरूको सक्रियताले झन्डै सहमतिको नजिक पुगेको एमाले एकता प्रयास अन्ततः अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसँगको सल्लाह र परामर्श बिना नै विधान संशोधन गर्नु एकता विरोधी कार्य भएको भन्दै राजनीतिक वृत्तमा चर्चा चलेको छ । एमालेले विधान अधिवेशन आउँदो महिना भदौ २७ र २८ गते गर्ने तयारी गरेको छ ।