• बैशाख ९ २०८२, मंगलवार

अफगानिस्तानबाट पछि हट्दै गरेको अमेरिका

श्रावण २६ २०७८, मंगलवार

काठमाडौं । अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिन्केनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भए पनि आफूहरु अफगानिस्तानकै साथमा रहेको बताएका छन् । सेना फिर्ता गरिए पनि विभिन्न अमेरिकी सहयोगका कार्यक्रम अफगानिस्तानमा सञ्चालन भैरहेको उनले जिकिर गरेका छन् ।

उनले थपेका छन्, ती कार्यक्रमहरुको सुरक्षा र कार्यान्वयनमा अमेरिका साथमा रहेको छ । विकास निर्माणका कार्यक्रमको सुरक्षा पनि अमेरिकाले नै लिने बताएका छन् ।

कुटनीतिक सम्बन्ध कायमै रहेको र आर्थिक सहयोगका कार्यक्रम जीवितै रहेको संकेत गर्दै उनले भने– ‘आफगानिस्तानमा हामीसँग सबल दूतावास मात्र होइन, विकास र सुरक्षालगायतका महत्वपूर्ण कार्यक्रम पनि छन् ।’

 

ब्लिंकेनले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी एस जयशंकरसँगको कुराकानीको सिलसिलामा यसो बताएका हुन् ।

अमेरिकी सेना फिर्ता भएसँगै तालिबानी विद्रोही समूहले अफगानिस्तानका प्रान्तीय राजधानी सहरहरु कब्जा गर्दै जाँदा छिमेकी देशहरुले चिन्ता जाहेर गरिरहेका छन् । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुनुमा अमेरिका–चीनका बीचमा सहमति हुनसक्ने आशंका पनि विश्लेषकहरुले गरिरहेका छन् ।

तालिवान नेताहरुको चीन भ्रमणपछि यो आशंकामा व्यापकता आएको हो । अमेरिकी विदेशमन्त्रीले आफूले अफगानिस्तानमा शान्तिबाहेक अरु केही हेर्न नचाहेको पनि बताएका छन् । तर यो शान्ति तालिवानको सत्तारोहणपछि आउने हो कि तालिवान निमिटयान्न भएपछि ? यसबारे उनी स्पष्ट बोलेका छैनन् । बल प्रयोगको बाटो छोडेर वार्ताको टेबुलमा आउन उनले सुझाएका छन् ।

यसै सन्दर्भमा अमेरिका गैरजिम्मेवार रुपमा बाहिरिँदा अफगानिस्तानमा समस्या उत्पन्न भएको पाकिस्तानी विदेशमन्त्री शाह मोहमद कुरेसीले बताएका छन् । गैरजिम्मेवाररुपमा अमेरिकी सेना बाहिरिंदा यी सबै समस्या आएको कुरेसीको भनाइ छ ।

अमेरिकाले अमेरिकी तथा नेटो सेनालाई विनाकुनै तयारी गैरजिम्मेवाररुपमा अफगानिस्तानबाट फिर्ता लगेपछि तालिबान विद्रोहीहरु प्रान्तीय राजधानी कब्जा गर्दै काबुलतर्फ अघि बढिरहेका छन् ।