निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बिदाइ मन्तब्यमा असार २९ गते नेपालले थप १ करोड ५० लाख डोज खोप सहुलियत दरमा खरिद सम्झौता गरेको बताएका थिए । जोन्सन एण्ड जोन्सनबाट ६० लाख, मोर्डनाबाट ४० लाख, फाइजरबाट ४० लाख र एस्ट्राजेनिकाबाट २० लाख मात्रा गरी कुल १ करोड ५० लाख मात्रा खोपको खरिद सम्झौता भएको बताए ।
त्यस्तै जापानबाट कोभ्याक्समार्फत् १६ लाख एस्ट्राजेनिका भित्र्याउने पनि निर्णय भएको बताए । यस्तै कोभ्याक्स सुविधामार्फत् ३ लाख ५० हजार आउन थालेको बताए । बालवालिकालाई लगाउन मिल्ने थप ६० लाख डोज फाइजरको खोप पनि खरिद प्रक्रियामा रहेको बताएका थिए ।
चीनबाट अनुदान १८ लाख र खरिद ४० मध्ये ८ लाख तथा भारतबाट अनुदान ११ लाख र खरीद १० लाख आई लगाइसकेको बताए । नयाँ सरकारले पनि असोजसम्म एक तिहाई र चैत्रसम्म सम्पूर्ण नेपालीलाई खोप लगाइसक्ने गरी तयारी गरेको बताइसकेको छ ।
खोपको प्राथमिकता :
नेपाल सरकारको प्राथमिकताको सूचीमा पहिलो स्वास्थ्यकर्मी तथा सामाजिक कार्यकर्ता छन् । जुन कुल जनसंख्याको ३ प्रतिशत अर्थात् ९ लाख ११ हजार ३ सय ४२ छन् । दोस्रो प्राथमिकतामा ५५ वर्षमाथिका दीर्घरोगीहरु १२.२९ प्रतिशत अर्थात् ३७ लाख ३३ हजार ४ सय ६३ जना छन् ।
त्यसपछि क्रमशः तेस्रो ४० देखि ५४ वर्षका दीर्घरोगी ३.६८ प्रतिशत अर्थात् ११ लाख १७ हजार ९ सय १२ छन् । चौथो, बरियताका माइग्रेन्ट वर्करहरु १ प्रतिशत वा ३ लाख १२ हजार ८ सय ९४ छन् ।
पाँचौमा ४० देखि ५४ वर्ष उमेर समुहका ९.५५ प्रतिशत अर्थात् २९ लाख २ हजार १ सय ४ छन भने छैठौं अर्थात् अन्तमा १५ देखि ३९ वर्ष उमेर समुहका ४२.५५ प्रतिशत अर्थात् १ करोड २७ लाख ८० हजार ४८ छन् । २ मात्राको र १० प्रतिशत खेर जानसक्ने तथ्यसहित खोपको मात्रा निर्धारण गरिएको छ ।
करिब साढे ३७ लाखमध्ये २६ लाखले पहिलो मात्रा खोप लिँदा एकतिहाई बढी बागमती प्रदेशका छन् भने दोस्रो मात्रा लगाउने ११ लाखमध्ये झन ६० प्रतिशत बढी बागमतीकै छन् । जसले खोपको समतामूलक वितरण नभएको तथ्य उजागर गर्दछ ।
काठमाण्डौमा १८ वर्षीय युवा खोपको लाइनमा उभिँदा पहाड तथा गाउँमा रहेका जेष्ठ नागरिक टुलुटुलु हेरिरहन पर्ने हुनुहुँदैन । त्यस्तै खोप शुभारम्भ भएको ५ महिना बढीमा केहि प्रतिशतलाई मात्रै खोप लगाइएकाले यस्तै गतिमा लक्षित वर्ग ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउन १२ वर्ष लाग्ने देखिन्छ । साढे १३ लाख कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा छन् । नाम दर्ता गरिसकेका पनि साढे १३ लाख नै छन् ।
नेपाल सरकारले असार २९ गते देखि वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ५५ वर्षमाथिका नागरिक, सार्वजनिक यातायातका चालक र सहचालक, विश्वविद्यालय, विद्यालय शिक्षक र कर्मचारी तथा अत्याआवश्यक सेवामा संलग्न खोप लाउन बाँकी र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगायो ।
त्यस्तै कोभ्याक्स सुविधा अन्तर्गत आएको अमेरिकी खोप जेन्सनको १५ लाख ३४ हजार ८५० मात्रा ५० देखि ५४ वर्ष उमेर समुह, नेपालमा बसिरहेका शरणार्थी, पूर्ण र अतिअशक्त अपङ्गता अर्थात् वर्ग ‘क’ र ‘ख’ र यसअघि खोप लगाउन छुटेका स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाई कर्मीलाई साउन ४ बाट लगाउँदैछ ।
भाइरसलाई घेराबन्दी :
जनसख्यालाई कोरोनाविरुद्ध लड्न सक्षम बनाउनु अर्थात् हर्ड इम्युनिटीको विकास गर्नु हो, तर त्यसका लागि कम्तिमा ७० प्रतिशत जनसंख्यामा कोरोनासँग लड्न सक्ने क्षमताको विकास गर्नुपर्ने हुन्छ । यसका लागि पहिलो ठूलो जनसंख्या रोगबाट संक्रमित हुनुपर्छ । दोस्रो रोग विरुद्धको खोप प्राप्त गर्नुपर्छ ।
पहिलो उपाय ठेउलामा लागु भयो । जानीजानी ठेउला लगाई प्रतिरोधी क्षमता बनाउन सके तर कोरोनामा यसको अन्य फ्लूभन्दा १० गुणा बढी जटिलता, जोखिम समुह, मृत्यृदरले गर्दा यसो गर्न संभव छैन । त्यसैमा नेपालको कमजोर स्वास्थ्य प्रणाली र उपलब्ध स्वास्थ्यकर्मीले धान्न सक्दैन ।
जति मानिस इम्युन हुन्छन्, त्यति नै संक्रमण फैलिने दायरा साँघुरिदै जान्छ । जसबाट संक्रमणमा नपरेका र त्यस बिमारीका लागि इम्युन नभएका मानिस पनि सुरक्षित हुनपुग्छन् । अधिकांश मानिस भाइरसबाट इम्युन भएपछि उनीहरुको झुण्ड हर्ड बीचमा रहेका अन्यमा संक्रमण पुग्न पाउँदैन र त्यसको फैलावट रोकिन्छ ।
नेपालमा २ मात्रा खोप लगाएकामा २ हप्तापछि संक्रमण नभएको र भएपनि अस्पताल भर्ना हुन परेको छैन भने मृत्युको त कुरै आएन । पहिलो मात्रा मात्रैले पनि अस्पताल भर्ना र मृत्य हुन नदिएको दोस्रो लहरमा जेष्ठ नागरिकमा देखिएको छ । भारतमा एक थिङ्क ट्याङ्क संस्था एन आईटीआईले गरेको खोजमा कोभिडको दुवै डोज खोप लगाउँदा कोभिडबाट हुने मृत्युमा ९८ प्रतिशत सुरक्षा हुने अध्ययनले देखाएको छ ।
एक मात्राले पनि कोरोना संक्रमणबाट हुने मृत्युबाट ९२ प्रतिशत जति सुरक्षा दिन्छ । जुलाई ३,२०२१ मा सार्वजनिक उक्त पञ्जाबका प्रहरीमा गरिएको खोज रिर्पाेटमा कोरोना विरुद्धको खोपले कोरोना लाग्न नदिने भन्दा पनि कोरोना लागिसकेपछि मृत्युबाट बचाउन निकै प्रभावकारी देखाएको छ ।
चुनौती :
नेचर मेडिसिन जर्नलमा प्रकासित १९ देशका १३ हजार बढीमा गरिएको सर्वेक्षणमा कोरोनाको खोप ७१.५ प्रतिशतले लगाउने १४ प्रतिशतले सिधै नलगाउने र बाँकी १४ प्रतिशतले खोप लगाउनेमा सन्देह ब्यक्त गरेका थिए । ल्यान्सेटमा एमएमआर खोपको साइड इफेक्ट अटिज्म भनेर १३ अनुसन्धानकर्ताको लेख प्रकाशित भएपछि धेरै देश तथा खोजकर्ताले विरोध जनाएपछि ४ महिनापछि हटाएको थियो ।
नेपालमा पनि षड्यन्त्रको सिद्धान्तमा विश्वास गर्नेहरु कोरोना केहि होइन भन्ने हौवा फैलाइरहेका छन् । त्यस्ता अतिवादीहरुले खोपलाई साम्राज्यवादीको पैसा लुट्ने मेलो भन्दैछन् । तसर्थ, स्वास्थ्य सरोकारवालाहरुले जनचेतना जगाउने, भ्रम चिर्ने र कट्टर धार्मिक नेतालाई खोप लगाउन प्रेरित गर्न जरुरी भएका बेला दोस्रो लहरले धेरै हदसम्म चिरिसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व लिने मन्त्रीहरु छोटो छोटो समयमा फेरिदा नेपालले अपेक्षाकृत रुपमा खोप भित्र्याउन सकेको छैन । यद्यपि सुरुमा अनुदानका खोपमा भर परेर सरकार बस्यो । कोरोना महामारीयता ४ जना स्वास्थ्यमन्त्री भइसकेका छन् । बारम्बार मन्त्री परिवर्तन हुँदा दाता र खोप उत्पादनकर्ताले पत्याउन छाडेका छन् ।
संक्रमण सुरु हुँदा भानुभक्त ढकाल स्वास्थ्यमन्त्री थिए भने २०७७ पुष १० मा हृदयेश त्रिपाठी, २०७८ जेठ २१ मा शेरबहादुर तामाङ जो १९औं दिनमा पदमुक्त भएपछि असार १० गते शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ तब असार २९ मा स्वयम् नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्री भइआए ।
अन्तमा, कोरोना भाइरसको भेरियन्टको फरकफरक रुप पनि विगत २ वर्षदेखि भोगिँदै आएको छ । २ पटकसम्म महामारी झेल्दा स्वास्थ्य मापदण्डका विषयमा आजसम्म सबै नागरिकलाई राम्रो ज्ञान छ । बुझेर पनि नअपनाउनु फरक कुरा हो । यसका कारण लकडाउन खुलेसँगै संक्रमण दर बढेको छ ।
आजसम्मको उत्तम विकल्प भनेकै पहिलो खोप छ र अन्यमा सामाजिक दुरी, मास्क, स्यानिटाइजरको प्रयोग र साबुन पानीले हात धुनु, आफूलाई स्वस्थ राख्न प्रयास गर्नु छ ।
तसर्थ, अब निषेधाज्ञा र लकडाउनलाई कोरोना नियन्त्रणको विकल्प बनाउनेभन्दा सबैलाई खोप दिन सरकार गम्भीर रुपमा लाग्न र नागरिक जनस्वास्थ्य सुरक्षाप्रति आफै सचेत बन्नैपर्छ ।