नारायणगढ । धौबादी फलाम कम्पनी लिमिटेडले नवलपुरको खानीको सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्न विभिन्न ६ ओटा कम्पनी छनोट गरेको छ ।
त्यसका लागि भारत, चीन, दक्षिण अफ्रिका र अस्ट्रियाका ६ ओटा कम्पनी छनोट गरिएको छ । उनीहरुलाई कामकालागि यसै हप्ता आर्थिक तथा प्राविधिक प्रस्ताव बुझाउने समय तोकिएको छ ।
कम्पनीले आह्वान गरेको टेन्डरमा यी कम्पनीसहित ११ कम्पनीले आवेदन दिएका थिए । तीमध्ये कम्पनीले ६ ओटालाई छनोट गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. जनकबहादुर चन्दले साउन पहिलो हप्ता ती कम्पनीहरु छनोट गरिएको जानकारी दिए ।
यी छनोट भएका कम्पनीमध्ये एउटा कम्पनीलाई सम्भाव्यता अध्ययन र डीपीआरका लागि ठेक्का दिइने उनले बताए । उक्त कम्पनीले ३ महिनाभित्र सम्भाव्यता अध्ययन गर्नेछ । कम्पनीका सीईओ चन्दले अध्ययनपछि मात्रै डीपीआर बनाइने र त्यसका लागि भने ७ महिनाको समय दिइने जानकारी दिए ।
धौबादी फलाम खानीबाट व्यावसायिक रुपमा फलाम उत्पादन गर्न सकिने पुष्टि भएको ९ महिनापछि कम्पनीले यी अध्ययन तथा प्रतिवेदन तयार गर्न कम्पनी छनोट गर्दैछ । उनले यो चालू आर्थिक वर्षमा अध्ययनको काम सम्पन्न गरेर उत्पादनतर्फ लाग्ने जानकारी दिए ।
यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।