काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच आज सोमबार शिष्टाचार भेटवार्ता भएको छ ।
मन्त्रालयमा भएको भेटमा उर्जामन्त्री र राजदूत बेरीबीच आपसी हित र चासोका विषयमा छलफल भएको ऊर्जा मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
भेटवार्ताका क्रममा राजदूत बेरीले ऊर्जा एवं जलस्रोतका क्षेत्रमा नेपाललाई आफ्नो देशको आर्थिक तथा प्राविधिक सहयोग रहेको बताउँदै आगामी दिनमा थप सहकार्य हुने विश्वास व्यक्त गरे ।
अमेरिका मानव विकास संशाधन एवं बहुपक्षीय सहयोगमा सक्रिय रहँदै आएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनका मुद्दामा थप सहकार्य गर्ने विश्वास व्यक्त गरे । राजदूत बेरीले ऊर्जाको विकासका लागि मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसिसी) महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई अगाडि बढाउन पहल गरिदिन आग्रह गरे । उनले भने, “एमसिसीबारे कुनै पनि कुरा प्रष्ट पार्न हामी तयार छौँ, यसको उद्देश्य सीप र ज्ञान हस्तान्तरण गर्नु हो ।”
जवाफमा मन्त्री भुसालले नेपालको विकास निर्माण र विपद्का बेला अमेरिकी सरकार र जनताले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् । उनले भनिन्, “अमेरिकी सरकारले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको छ, त्यसप्रति हार्दिक धन्यवाद छ ।”
एमसिसीबारे राजदूतले गरेको आग्रहप्रति मन्त्री भुसालले जनता र राष्ट्रको हितमा नेपालले सहयोग स्वीकार गर्ने बताइन् । उनले भनिन्, “एमसिसीको विषयमा पार्टी, सरकार र संसद्ले निर्णय लिन्छ, त्यो विषयमा उपयुक्त समयमा छलफल होला ।”