काठमाडौं । अध्यक्ष र महासचिव मात्र निर्वाचित हुनु पर्ने र अन्य पदाधिकारी मनोनयन भए पुग्ने भन्ने नेकपा (एमाले) को पार्टी विधान संशोधन प्रस्ताव स्थायी कमिटी बैठकबाट पाारित भएको छ । सोमबार बसेको स्थायी कमिटी बैठकबाट विधान संशोधन प्रस्ताव पारित भएसँगै यसलाई अनुमोदनका लागि केन्द्रीय कमिटी बैठकमा लगिने छ ।
उपल्ला कमिटीहरुमा पारित भएका प्रस्तावहरु पार्टी पद्धतिअनुसार तल्ला कमिटीमा लगिन्छ । यसै मान्यता अनुसार स्थायी कमिटीले पास गरेका दस्तावेज केन्द्रीय कमिटी बैठकमा छलफलका लागि पेश गरिने भएको हो ।
एमालेमा नेपाली कांग्रेसजस्तै केन्द्रीय समितिका अधिकांश सदस्य निर्वाचित हुनु पर्ने पार्टी विधानका ठाउँमा अध्यक्ष र महासचिव मात्र निर्वाचित हुने बनाइएको हो । अन्य वाम पार्टीमा निर्वाचन गर्ने पद्धति नै छैन, बरु सर्वसम्मतले पारित गर्ने पुरानो प्रचलन कायमै छ ।
एमाले संस्थापन पक्षले बोलाएको यो बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अनुपस्थित रहेको छ । आन्तरिक विवाद समाधान नहुँदासम्म बैठकमा सहभागी नहुने नेपाल पक्षको अडान रहेकाले यस पटक पनि एमाले बैठकमा नेपालपक्ष अनुपस्थित भएको हो ।