• असार १६ २०८१, शनिबार

‘द भ्वाइस अफ नेपाल’ तेस्रो सिजनका विजेता किरण गजमेर को हुन् ?

श्रावण २४ २०७८, आईतवार

काठमाडौँ। गायनको प्रतिभा खोज्ने अन्तरराष्ट्रिय रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन किरण गजमेरलाई विजेता अर्थात टाइटल होल्डर बनाउँदै सकिएको छ । पाँच महिनासम्म चलेको सो गायन प्रतियोगिता गएराती ‘ग्राण्ड फिनाले’ गर्दै सकिएको हो । ‘द भ्वाइस अफ नेपाल’ तेस्रो सिजनको विजेता बनेसँगै सांगीतिक वृत्तमा गायक किरण गजमेरको चर्चा चुलिएको छ । उनी को हुन् ? कहाँका हुन् ? कसरी चर्चित रियालिटी शोको टाइटल हात पार्न सफल भए ? भनेर मानिसहरुले अहिले किरण गजमेरलाई चासोपूर्वक हेरिरहेका छन् ।

किरणको बाल्यकालः

आफू बसोवास गरिरहेको देश भूटानबाट लखेटिएका नेपालीभाषी भूटानी शरणार्थीहरु आएर बसेको झापाको गोलदाप शिविरकी युवती र खुदुनाबारी शिविरका युवाको बीचमा वैवाहिक सम्बन्ध गाँसिएर आजभन्दा करिब २२ वर्ष पहिले जन्मिएका बालकको नाम खुदुनाबारी शिविरमा नेपाली परम्परा अनुसार किरण राखियो । उनको उनको बुवाको थर गजमेर भएकोले उनी किरण गजमेरको रुपमा शरणार्थी शिवरमै हुर्किए बढे । हुर्कनु अनि बढ्नु के थियो र अनागरिक हुनुको पीडाका साथ उनले शरणार्थी शिविरमा बाल्यकाल बिताए ।

बाल्यकालमै संगीतको छाप

द भ्वाइसको उपाधी बिजेता किरण गजमेर
द भ्वाइसको उपाधी बिजेता किरण गजमेर

खुदुनाबारी शिविरको विद्यालयमा पढ्दा बालक किरणले अचानक कक्षा कोठामा एउटा गीत गुनगुनाए । उनले कक्षाकोठामा गीत गाउँदा एकाएक त्यहाँको माहोल सांगीतिक बन्यो । गर्दै जाँदा उनलाई विद्यालयमा सबैले चासो दिन थाले । शिविरमा सहयोग गर्ने एक संस्थाको सहायतामा १६ वर्ष पहिले बालक किरणको एक बालगीत समेत रेकर्ड भयो । सन् २००५ मा बाल्यकालमै बालगीत रेकर्ड गराउने अवसर पाएका उनले पछि अरु पनि गीतहरु रेकर्ड गराए । केही चलचित्रमा पनि गाए ।

अमेरिका प्रस्थान

शरणार्थी शिविरमा बाल्यकाल बिताइरहेका किरणको जीवनमा मात्रै होइन केही भूटानी शरणार्थीको जीवनमा पनि एउटा मोड आयो । भूटानले लखेटिसकेको नेपालले अपनत्व लिन नसकेको अवस्थाका त्यस्ता शरणार्थीहरुलाई संयुक्त राज्य अमेरिका र केही युरोपियन देशहरुले स्थायीरुपमा बसोबासको लागि लैजाने भए । विकसित देशमा पुनर्स्थापित हुने अवस्था आएपछि केही भूटानी शरणार्थीहरु उतै लागे ।

देश नभएपनि जीवनमा त केही परिवर्तन आउला भन्ने सोचेर शरणार्थी पराई देशमा पुनर्स्थापित हुन राजी भए । किरणको आमाबुवा अमेरिका जाने भएसँगै किशोर किरण पनि अमेरिका पुगे । त्यसपछि उनको उतैको कागजातहरु निर्माण भए । अहिले किरणको हातमा अमेरिकाको पासपोर्ट भएपनि उनले आफूलाई ‘नेपाली हुँ’ भनेर परिचय दिलाउनुमा गर्व ठान्छन् । पढाई लेखाई र जीवनको रेखा किरणको अब अमेरिकामै कोरिने भयो ।

‘द भ्वाइसको यात्रा’

द भ्वाइसको उपाधी बिजेता किरण गजमेर आफ्ना कोच प्रमोद खरेलको साथमा ट्रफी चुम्दै
द भ्वाइसको उपाधी बिजेता किरण गजमेर आफ्ना कोच प्रमोद खरेलको साथमा ट्रफी चुम्दै

नेपाल र नेपालीको माया सधैं शिरमा राख्छुु भन्ने गायक किरण संसारको जुनै ध्रुवमा रहेपनि आफ्नो पुर्खाको नासो नेपालीपन कहिल्यै छोड्न चाहेनन् । ‘द भ्वाइस’को यात्रा तय गर्नु भन्दा पहिले नै गायक बनेर अलिअलि चर्चा कमाइसकेका किरणले थुप्रै गीतहरु रेकर्ड गराएका छन् । ‘राधा’ र ‘साढेसात’ जस्ता चलचित्रमा समेत आफ्नो सुमधुर स्वरको जादु छरिसकेका उनले ‘द भ्वाइस’मा आउनुभन्दा पहिले नै इमेज र कालिका रेडियोले आयोजना गरेका अवार्डहरु जितिसकेका थिए ।

सात समुन्द्र पारीबाट आफ्नो पितृदेशमा चलिरहेको गायन प्रतियोगितामा पनि आफ्नो सहभागिता जनाउन उनलाई उत्सुकता जाग्यो । विश्वभरी छरिएर रहेको नेपाल, संसारभरी छरिएर रहेका नेपालीहरुको साझा आवाज बन्ने एउटा माध्यम हुनसक्छ भनेर उनले ‘द भ्वाइस’को तेस्रो सिजनमा अडिसन दिन नेपाल आए । छानिँदै छानिँदै गएर अन्तिममा उनले गायन रियालिटी शो को त्यो उपाधी समेत आफ्नै पोल्टामा पार्न सफल भए । ‘द भ्वाइस’को तेस्रो सिजनको उपाधी जितेको खुसियालीमा भावुकहुँदै उनले तातो प्रतिक्रिया दिए,‘यो उपाधी जित्दा नेपालको नागरिकता नै पाएको महशुस गरेको छु ।’

द भ्वाइसको उपाधी बिजेता किरण गजमेर
द भ्वाइसको उपाधी बिजेता किरण गजमेर

गायनसँगै समाजसेवी बन्ने चाहना

‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजनको विजेता भएबापत किरण गजमेरले नेपाली रुपैयाँ २५ लाख सहित ‘द भ्वाइस’को सुनौलो रङ भएको ट्रफी साथै केही गीति एल्बमको सम्झौता समेत पाउने भएका छन् । उनले आफूले पाउने नगद रुपैयाँ २५ लाखबाट नेपालमै सामाजिक काममा लगाउने घोषणा गरेका छन् । पाउने नगदबाट पूर्वीनेपालमा रहेका भूटानी शरणार्थी शिविरमा एउटा एम्बुलेन्स किनिदिने र पश्चिम नेपालमा पनि जहाँ आवश्यकता हुन्छ त्यहाँ पनि एम्बुलेन्स किन्न सहयोग गर्ने बताए ।

आफूले पाएको नगद पुरस्कारबाट एक हजार रुपैयाँ भने उनले आफ्नी आमालाई अमेरिकामा लिएर बुझाउने भनेका छन् । आफूले उपाधी जित्दा पाउने नगद पुरस्कारबाट नेपालमा कोरोना भाइरसको खोप लगाउन नपाएका वृद्ध र वृद्धाहरुको लागि पनि केही रकम छुट्याउने बताएका छन् । नेपाली संगीतलाई धनी बनाउने सपना साँचेको बताउने गायक किरण गजमेर आफ्नो बाटोमा सफल होउन् । शुभकामना ।