हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्दछ । अन्य मौसमभन्दा वर्षातको समयमा बढी देखा पर्दछ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । यसलाई एड्सभन्दा पनि खतरनाक मानिन्छ ।
हेपाटाइटिसबाट मर्नेको संख्या एड्सबाट मर्नेको संख्याभन्दा १० गुणा बढी हुन्छ । मानव शरीरमा कलेजो महत्वपूर्ण अङ्ग हो । यो सुन्निएको अवस्था नै हेपाटाइटिस हो । विभिन्न विषाणुको संक्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन् ।
मुख्य रूपमा हेपाटाइटिस भाइरस ए, बी, सी, डी र ई पर्दछन् । संसारमा १४ लाख व्यक्तिलाई प्रत्येक वर्ष हेपाटाइटिस ‘ए’ ले आक्रमण गर्दछ भने २ करोड हेपाटाइटिस ‘बी’ को सिकार भएको पाइन्छ । हेपाटाइटिस ‘सी’ ले भने १५ करोडलाई आक्रमण गरिसकेको छ । प्रत्येक वर्ष करिब १० लाखको मृत्यु हेपाटाइटिसबाट भइरहेको छ भने ७८ प्रतिशत कलेजोको क्यान्सरको कारण हेपाटाइटिस बी र सी देखिएको छ ।
हेपाटाइटिस ए :
हेपाटाइटिस ए (पहिले संक्रामक हेपाटाइटिसको रूपमा परिचित) एक जीर्ण संक्रामक रोग हो जुन हेपाटाइटिस ए भाइरस (HAV) को कारणले गर्दा कलेजोमा हुने गर्छ । धेरै मामिलामा केही मात्र लक्षणहरू देखिन गर्छ वा नदेखिन समेत सक्छ, विशेषगरी भर्खरका बच्चाहरूमा ।
लक्षण देखिने व्यक्तिहरूमा संक्रमण भएको दुईदेखि छ हप्ताको बीचमा लक्षण देखा पर्ने गर्छ ।
लक्षण देखिँदा सामान्यतया तिनीहरू आठ हप्तासम्म देखा परिरहन्छन् । यसमा निम्न पर्न सक्छन् :
वाकवाकी लाग्ने, वान्ता हुने, पखाला लाग्ने, छाला पहेंलो हुने, ज्वरो आउने, र पेट दुख्ने ।
लगभग १० देखि १५ प्रतिशत मानिसले प्रारम्भिक संक्रमणपछि छ महिनासम्म यी लक्षणहरु बारम्बार अनुभव गर्ने गर्छन् । जीर्ण कलेजो खराबी (कलेजोले काम गर्न छाडेको अवस्था) पनि हुन सक्छ तर यो बिरलै रुपमा हुने गर्छ र प्रायः वृद्धवृद्धालाई हुने गर्छ ।
यो सामान्यतया संक्रमित दिसा (विष्ठा) मिश्रित खानेकुरा खानाले वा त्यस्तो पानी पिउनाले फैलने गर्छ । पर्याप्त रूपमा नपकाइएका शीपदार माछा तुलनात्मक रूपमा यसको सामान्य स्रोत हो ।
यो संक्रमित व्यक्तिसँग नजिकबाट सम्पर्क गर्नाले पनि फैलन सक्छ । संक्रमित बालबालिकामा प्रायः लक्षणहरू नदेखिने भए तापनि, उनीहरूबाट यो संक्रमण अन्यहरुमा सर्न सक्छ । एकपटक संक्रमित भएपछि उक्त व्यक्ति जीवनभर यसबाट फेरि संक्रमित हुँदैन ।
यो रोग लागेको पत्ता लगाउनको लागि रगत परीक्षण गर्न आवश्यक हुन्छ किनभने यसका लक्षणहरू अन्य केही रोगहरू लाग्दा देखिने लक्षणहरू जस्तै हुन्छन् । यो पाँचवटा ज्ञात हेपाटाइटिस भाइरस मध्ये एक हो– ए, बी, सी, डी र ई ।
रोकथामका लागि हेपाटाइटिस ए खोप प्रभावकारी हुन्छ । केही देशहरूमा पहिले खोप नलगाएका बालबालिका र उच्च जोखिममा रहेकाको लागि यसलाई नियमतः सिफारिस गरिएको हुन्छ । यो जीवनभरको लागि प्रभावकारी रहेको देखिएको छ ।
रोकथामका अन्य उपायहरूमा हात धुने र खानेकुरालाई राम्ररी पकाउने पर्दछन् । यसको कुनै निश्चित उपचार छैन । वाकवाकी वा पखालाको लागि आवश्यकता अनुसार विश्राम र औषधि सिफारिस गरिन्छ । संक्रमण सामान्यतया कलेजोको रोग जारी रहेबिना पूर्ण रूपमा निको हुन्छन् । जीर्ण कलेजो खराबी भएको अवस्थामा, यसको उपचार भनेको कलेजो प्रत्यारोपण हो ।
प्रत्येक वर्ष विश्वभर लगभग १५ लाख लक्षणात्मक मामिला देखिने गर्छ । समग्रमा सम्भवतः सयौँ लाख संक्रमण हुने गर्छ । यो विश्वका ती क्षेत्रहरूमा बढी हुने गर्छ, जहाँ सरसफाइको अवस्था एकदमै नाजुक हुन्छ ।
पर्याप्त रूपमा सुरक्षित पिउने पानी उपलब्ध हुँदैन । विकासशील मुलुकमा लगभग ९० प्रतिशत बालबालिका १० वर्षको उमेरसम्ममा यसबाट संक्रमित भइसकेका हुन्छन् । त्यसकारण वयस्क हुँदासम्ममा उनीहरू यसबाट प्रतिरक्षित भइसकेका हुन्छन् । सामान्य रूपमा विकसित देशहरूमा यसले प्रकोपको रूप लिने गर्छ ।
त्यहाँ बालबालिक सानै छँदा यसको सम्पर्कमा आउँदैनन् । व्यापक रूपमा खोप लगाइएको पनि हुँदैन । सन् २०१० मा, जीर्ण हेपाटाइटिस ए को कारणले गर्दा १,०२,००० जनाको मृत्यु भएको थियो । भाइरल हेपाटाइटिसको बारेमा जागरुकता फैलाउन प्रत्येक वर्ष जुलाई २८ का दिन विश्व हेपाटाइटिस दिवस पर्ने गर्छ ।
हेपाटाइटिस बी :
हेपाटाइटिस बी मानिसमा मात्र लाग्ने हेपड्ना समूहको डिएनए भाइरसबाट सर्ने रोग हो । विश्वमा ४० करोड व्यक्ति यस रोगका सिकार भइरहेका छन् । यीमध्ये १५ देखि ४० प्रतिशत मानिस सिरोसिस वालिभर क्यान्सरबाट पीडित छन् भने कसैको अकालमा मृत्यु भइरहेको छ ।
विकसित देशहरू अमेरिका र यूरोपमा एक्युट लिभर फेलरका बिरामीको समयमा लिभर ट्रान्सप्लान्टेसनले गर्दा मृत्यु घटेर गएको छ र वृहत् खोप कार्यक्रमले गर्दा नयाँ बिरामीको संख्या घटेको छ भने क्रोनिक हेपाटाइटिस बी र लिभर क्यान्सरका बिरामी बढिरहेका छन् ।
सन् १९८० को सुरुबाट हेपाटाईटिस बी विरुद्ध प्रभावकारी खोप कार्यक्रम थालेपछि यस रोगको महामारीमा कमी आएको छ । यो रोग संसारभर फैलिएको छ । सबभन्दा बढी दक्षिण–पूर्वी एसिया (जापान बाहेक) को चाइना र अफ्रिकी मुलुकका मानिस बढी प्रभावित छन् ।
त्यहाँ करीब ८ प्रतिशतभन्दा बढी जनसंख्या यो रोगबाट ग्रस्त छन् । जसलाई क्रोनिक हेपाटाइटिस बी क्यारियर भनिन्छ । त्यस्ता क्यारियरहरु ६० देखि ८० प्रतिशत जीवनको कुनै पनि समयमा रोगको सिकार बन्छन् ।
त्यस्तै, नेपालमा पनि ८ प्रतिशत जनसंख्या क्रोनिक हेपाटाइटिस बीबाट संक्रमित छ । यहाँ गरिएका केही अध्ययनले हिमाली भेगमा बस्ने बहुसंख्यक तिब्बतीयन समुदायका मानिस, लामा, भोटेहरु करिब ५ देखि १० प्रतिशत यो भाइरसबाट संक्रमित फेला परेका छन् ।
अफ्रिका, पूर्वी युरोप, मध्यपूर्वी एसिया र इन्डियन सबकन्टिनेन्टमा बस्ने मानिस जीवनको कुनै पनि समयमा यो रोग सर्ने खतरा २० देखि ६० प्रतिशत रहेको छ र नेपाल पनि त्यसमा पर्छ ।
सर्ने माध्यम :
हेपाटाइटिस बी मुख्यगरी तीन किसिमको माध्यमबाट सर्छ ।
प्रत्यक्ष सम्पर्क :
प्रमुख माध्यम भनेको प्रत्यक्ष सम्पर्कबाट हो । जस्तै यौन सम्पर्क (पुरुष–पुरुष, महिला–पुरुष) त्यस्तै बिरामीको शरीरबाट निस्कने विभिन्न तरल पदार्थहरूको सम्पर्कबाट (बीर्य, र्याल, पसिना, आँसु, पेटभित्रका रसहरु आदि) बाट ।
रगतको माध्यम :
दोस्रो तरिका रगतको माध्यम हो । जस्तैः दूषित र ब्लड प्रोडक्ट ट्रान्सफ्युजनले गर्दा, ड्रगको कुलतमा फसेकाहरूले एउटै सुई धेरैले प्रयोग गर्दा, दाह्री काट्ने ब्लेड, दाँत माझ्ने ब्रस सेयर गर्दा पनि सर्न सक्छ । हेपाटाइटिस क्यारियर अङ्गदान (मिर्गौला, मुटु, कलेजो आदि) बाट पनि सर्न सक्छ ।
रोगी आमाबाट ः तेस्रो माध्यम भनेको रोगी आमाबाट जन्मेका बच्चाहरूमा सर्छ । यो भाइरस एचआईभी भाइरस भन्दा ५० देखि १०० गुणा र हेपाटाइटिस सीको भाइरसभन्दा १० गुणा बढी संक्रमण गर्ने क्षमता हुन्छ ।
क्लिनिकल कोर्स :
हेपाटाइटिस बी भाइरस मानव शरीरभित्र प्रवेश गरेपछि यसले आफ्नो उपस्थिति जनाउन वा लक्षण देखाउन चार हप्तादेखि छ महिनासम्म लाग्छ । वयस्क अवस्थामा रोग प्रवेश गर्दा ९० देखि ९९ प्रतिशत एक्युट एबीभीका रूपमा देखापर्छ ।
त्यसमध्ये लक्षण देखाउने २५ प्रतिशत मात्र बिरामी हुन्छन् । त्यसको १ प्रतिशतको लिभर फेलर भएर मृत्यु हुन्छ । ६५ प्रतिशतले रोगको कुनै लक्षण देखाउँदैन । लक्षण र बिना लक्षणबाट प्रभावित बिरामी ९९ प्रतिशतभन्दा बढी आफैं निको भएर जान्छन् । तिनको शरीरमा भाइरस देखिँदैन ।
इन्फेक्सन भएकामध्ये १ देखि १० प्रतिशत बिरामी क्रोनिक हेपाटाइटिस बीमा परिणत हुन्छन् । तीमध्ये १० देखि ३० प्रतिशत २० वर्षपछि मात्र लिभर सिरोसिस र लिभर क्यान्सरबाट ग्रसित हुन्छन् । ७० देखि ९० प्रतिशत व्यक्ति केवल हेपाटाइटिस बीको क्यारियर (अरुलाई सार्न सक्छन् तर आफूमा देखिँदैन) भएर लामो समयसम्म जीउन सक्छन् । राम्रो जीवनशैली र उपचार नगर्दा अन्तिम अवस्थामा उनीहरूमा पनि सिरोसिस र लिभर क्यान्सर हुन सक्छ ।
लक्षण :
हेपाटाइटिस बी रोग दुई किसिमको हुन्छ । एक्युट र क्रोनिक एक्युट हेपाटाइटिस बीको ६५ प्रतिशत संक्रमण सुषुप्त हुन्छ र बिरामीले आफूमा कुनै रोगको महसुस गर्दैन भने ३५ प्रतिशत संक्रमितमा हेपाटाइटिस एजस्तै लक्षणहरु शरीर दुख्ने, घुँडा दुख्ने, अति साह्रो ज्वरो आउने, खानामा अरुचि हुने, माथिल्लो पेट फुलेर आउने, दायाँपट्टि असजिलो महसुस हुने, वाकवाकी लाग्ने, बान्ता आउने, आँखा पहेलो हुने, आदि लक्षण देखा पर्छन् । यीमध्ये १ प्रतिशत बिरामीको एक्युट लिभर फेलिएर भएर मृत्यु हुन्छ ।
क्रोनिक हेपाटाइटिस बी भनेको बिरामीको शरीरमा हेपाटाइटिस बीका भाइरस नगन्यदेखि प्रशस्त मात्रामा हुन्छन् । सुरु २० देखि ४० वर्षसम्म कुनै लक्षण देखिँदैन । अन्त्यमा गएर लिभर सिरोसिस लिभर काम नलाग्ने भई काठजस्तो कडा भएर जम्ने अवस्था, लिभर क्यान्सर र लिभर फेलर भएर मृत्युशैयामा पुर्याउँछ ।
लिभर सिरोसिस हुँदा हाम्रो शरीरलाई दैनिक चाहिने प्रोटिन, महत्वपूर्ण इन्जाइम र को–फ्याक्टरको उत्पादन घटेर जान्छ र भिटामिन, आइरन, मिनरल्सको भण्डारण घट्छ । हामीले खाएका खानेकुरा र औषधि सबैको मेटाबोलिजम र निस्कासन लिभरबाट हुने भएकाले यो नै कमजोर भई काम नलाग्ने भएपछि शरीरको सबै प्रणालीमा असर गर्छ । शरीरलाई चाहिने चीजहरूको कमी हुन्छ र विशालु चिजहरु शरीरमा संकलित भइरहन्छ ।
यसले दिमागमा असर परी अर्धचित्त र बेहोसी अवस्थामा बिरामीलाई पुर्याउँछ । अहिलेको एन्टिभाइरल औषधि पत्ता लगाउनुभन्दा पहिला कलेजोको सिरोसिस भइसकेपछि ५ वर्षसम्म बाँच्ने क्षमता जम्मा ५५ प्रतिशत थियो र सिरोसिस नभएर हेपाटाइटिस मात्र हुँदा ९७ प्रतिशत भएको केही अध्ययनलाई देखाएका छन् ।
हेपाटाइटिस बी भाइरस डीएनए भाइरस हो । एक्युट इन्फेक्सन हुँदा ६ हप्तादेखि ३ महिनासम्म एचबिएसएजी देखिन्छ र पछि हटेर जान्छ । एचबिएसएजी सुरुमा निकै बढ्छ र तुरुन्तै हटेर जान्छ ।
शरीरमा एन्टी एचबीएसएबी इन्फेक्सन भएको धरै समयपछि पैदा हुन्छ र हेपाटाइटिस बी विरुद्ध रोग निरोधक शक्ति पैदा भएको छ भन्ने जनाउँछ । शरीरमा पैदा हुने पहिलो एन्टिबडी एन्टी एचबिसी हो ।
आईजीएम एन्टी एचबीसीले एक्युट इन्फेक्सन भएको छ र शरीरमा भाइरस निकै बढिरहेका छन् भन्ने कुरा जनाउँछ र धेरै महिनासम्म रहन्छ । आईजीएम एन्टी एचबीसीले लगत्तै हेपाटाइटिस बीको संक्रमण भएको छ भन्ने सङ्केत दिन्छ र यो समयमा एचबिएसएजी हटिसकेको हुन्छ र सिरममा एन्टी एचबिसी बनिसकेको हुँदैन ।
एन्टी एचबीई एन्टिबडी एन्टी एचबीसी एबी बनिसकेपछि मात्र बन्छ र यसले हेपाटाइटिस बीको संक्रमण घटेर गएको र संक्रमण गर्ने शक्ति कम भएर गएको जनाउँछ ।
क्रोनिक हेपाटाइटिस बीको रगत परीक्षण गर्दा एचबीएसएजी सधैं देखिन्छ र यो दीर्घकालीन संक्रमण (क्यारियर) हो भन्ने जनाउँछ ।
एचबीईएजी पोजिटिभ देखिएमा यसको संक्रमण शक्ति बढी छ र रोगले महामारीको रुप लिन सक्छ । साथै, कलेजो खराब हुँदैछ भन्ने जनाउँछ । यति बेला लिभर इन्जाइमको मात्रा बढेर जान्छ र एचबीभी डिएनए भाइरसको वृद्धि भइरहेको हुन्छ ।
हेपाटाइटिस बीका १० वटा जिनोटाइप (एदेखि जेसम्म) छन् । भौगोलिक आधारमा यिनीहरूले आफ्नो विशेषता जनाउँछन् । दक्षिणपूर्वी एसिया, जापान, इन्डिया र नेपालमा जिनोटाइप बी र सी पाइन्छ । जिनोटाइप अनुसार हेपाटाइटिस बीले आफ्नो रोगको स्वरुप जनाउँछ ।
जेनोटाइप बीले जेनोटाइप सीले भन्दा एचबीइएजीको परिवर्तन र एचबीएसएजी बिरामीको शरीरबाट हटाएर जाने क्षमता कम राख्छ तापनि कलेजोको खराबी सीकोे तुलनामा बीले कम गर्छ । लिभर क्यान्सर हुने खतरा बीमा सीभन्दा बढी देखिन्छ ।
उपचार :
क्रोनिक हेपाटाइटिस बीको औषधि उपचारको मुख्य उद्देश्य भनेको कलेजोलाई नष्ट हुन दिनबाट बचाउने र यसको जटिल रूपमा परिवर्तन हुन् । जस्तैः लिभर सिरोसिस, लिभर फेलिएरबाट बचाउनु साथै बिरामीको आयु बढाउनु हो । यसमा प्रयोग हुने औषधिले हेपाटाइटिस बीका भाइरसलाई वृद्धि हुनबाट रोक्छन् । एच्बीइएजीलाई नेगेटिभ बनाउँछन् । एबीभी डिएनए भाइरल लोड घटाउँछन् । केही प्रतिशत बिरामीमा भाइरसलाई निर्मूल पार्छ ।
रोकथाम :
हेपाटाइटिस बीको रोकथामको सबैभन्दा राम्रो उपाय हेपाटाइटिस बीको भ्याक्सिन लगाउनु हो । उच्च रिस्क ग्रुपमा पर्ने समुदाय जसले हेपाटाइटिस बीका बिरामीलाई दैनिक सेवा दिनुपर्छ, सम्पर्कमा रहनुपर्छ साथै उनीहरूलाई सेवा दिँदा उनीहरूकोे शरीरबाट निस्केको तरल पदार्थ साथै रगतसँग काम गर्नुपर्छ ।
साधारण तया हेपाटाइटिस बी भ्याक्सिन तीन डोजमा लगाइन्छ । ०, १ र ६ महिनाको अन्तरमा लिइन्छ । अहिलेको बिस्तारित खोप कार्यक्रम अनुसार बच्चालाई डीपीटी र पोलियो भ्याक्सिनसँगै हेपाटाइटिस बी भ्याक्सिन दिइन्छ । एचआइभीका बिरामी, क्यान्सर र अन्य रोगबाट इम्युनो कम्प्रोमाइज्ड व्यक्तिमा चार डोज हेपाटाइटिस बीको खोप लगाउँदा उपयुक्त हुन्छ ।