काठमाडाैँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबारका लागि सारिएको छ । नेपाल–खनाल समूहले एकताका लागि बैठक रोकेर संवादमा जुट्न आग्रह गरेपछि केन्द्रीय कमिटी बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो । विधान महाधिवेशनको तयारी भन्दै आज बैठक बस्ने तय भएको थियो ।
एमालेको स्थायी कमिटी बैठकले विभिन्न विभागहरुलाई पूर्णता दिने, सदस्यता नवीकरण गर्ने तथा पालिकास्तरको अधिवेशनको मिति तोक्ने लगायतका निर्णय गरिसकेको छ ।
अबको केन्द्रीय कमिटी बैठकमा विधान अधिवेशनको तयारीबारे छलफलको एजेण्डा छ । संस्थापन पक्षले सहमतिको प्रयास नगरेको भन्दै नेपाल पक्षले समेत गत बिहीबार र शुक्रबार केन्द्रीय कमिटी बैठक गरेको छ ।
बैठकले समान आधारमा एकताका लागि संस्थापन पक्षसँग संवाद गर्नेलगायतका निर्णय गरेको थियो ।