• बैशाख ९ २०८२, मंगलवार

अफ्गानिस्तानबाट तत्काल फिर्ता हुन अमेरिका र बेलायतले गरे आफ्ना नागरिकलाई आग्रह

श्रावण २३ २०७८, शनिबार

काठमाडौँ । संयुक्त राज्य अमेरिका र बेलायतले तत्काल अफगानिस्तान छाड्न आफ्ना नागरिकहरुलाई आग्रह गरेका छन् । अफगानिस्तानको सुरक्षा अवस्था नाजुक भएको भन्दै ती दुई देशले आफ्ना त्यहाँ रहेका आफ्ना नागरिकहरुलाई सो देश छोडेर आफ्नो देश फर्कन आव्हान गरेका हुन् ।

देश फर्कनको लागि तत्काल हवाई टिकट किन्न नसक्ने आफ्ना नागरिकलाई हवाई टिकटको लागि ऋण समेत उपलब्ध गराउने अफगानस्तानको राजधानी काबुलस्थित अमेरिकी राजदुतावासले जनाएको छ । त्यस्तै तालिवानी विद्रोहीहरुले अफगानिस्तानमा हमला गर्न सक्ने भन्दै गतराती बेलायतको विदेश मन्त्रालयले पनि चेतावनी दिएको थियो । बेलायतले आफ्ना नागरिकलाई त्यहाँबाट व्यापारिक उडानहरुबाट फर्कन र आफ्नो दुतावासले गर्ने भनेको आपतकालिन उद्धारमा भर नपर्न भनेको छ ।

अफगानिस्तानबाट अमेरिकी सेनाको अन्तिम समूह आफ्नो देश फिर्ता भएसँगै विद्रोही तालिबानहरुले देशको भू–भागमा कब्जा गर्न ठूल्ठूला हमला गर्न थालेपछि अमेरिका र बेलायतले आफ्ना नागरिकहरुलाई यस्तो चेतावनी दिएर फिर्ता हुन आग्रह गरेका हुन् । अफगानिस्तानमा तालिबानी विद्रोही लडाकूहरुले दक्षिण–पश्चिम क्षेत्रको एउटा प्रान्तीय शहर कब्जामा लिइसकेका छन् ।

समाचारहरुका अनुसार उनीहरुले निम्रोज प्रान्तको राजधानी जाञ्जरमाथि आफ्नो नियन्त्रण कायम गरेका छन् । अमेरिकी नेतृत्वको विदेशी सेनाको फिर्तीसँगै तालिबानी विद्रोहीले देशभरी आक्रमणलाई तिब्र बनाएका छन् । देशका अधिकांश ग्रामिण इलाकाहरु कब्जा गरिसकेका विद्रोहीले अहिले देशका महत्वपूर्ण शहर हरुलाई निशाना बनाइरहेका छन् ।