नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर भित्रिइसकेको सङ्केत चिकत्सकहरुले गरिरहेका छन् । संक्रमण दर उच्च भएको यो एक साताभरि तेस्रो लहर आयो कि आउँदै छ भन्ने बहसले पनि निकै चर्चा पाएको छ ।
यही बेलामा काठमाडौंलगायत अन्य स्थानमा संक्रमित बिरामीको चाप पनि थेगिनसक्नु भएर बढेको छ । यो क्रम रोकिएको पनि छैन । बरु बढेर गैरहेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले तेस्रो लहर सुरु भइसकेको संकेत गरिसकेको छ । तर यसलाई तेस्रो लहर नामाकरण नगरेर तेस्रो लहर आगनको परिपक्व स्थितिका रुपमा औल्याएको छ ।
टेकुलगायतका अस्पतालका बेडमा कोरोना संक्रमित बिरामी खचाखच भरिएका छन् । अब परिस्थितिले खतराको कोल्टे फेरिरहेको त होइन भन्ने चर्चा पनि छ । आफैमा तेस्रो लहर निकै विनाशकारी हुने ठानिएको पनि छ ।
यसको पूर्व तयारी के गर्ने त ? भन्ने प्रश्न पनि उठिरहेको छ । निषेधाज्ञा, स्मार्ट लकडाउन वा लकडाउन आदिका कुरा पनि चर्चामा छन् । उता अस्पतालमा कोरोना उपचारका लागि छुट्याइएका बेडहरु भरिभराउ छन् ।
अबका दिनमा कोरोना कक्ष र स्थान बिस्तारका लागि स्थानाभाव छ । नेपालको एकमात्र सरुवा रोग अस्पताल टेकुमा संक्रमितका लागि बनाइएको वार्डमा छुट्याइएको ४० वटै बेड भरिइसकेका छन् ।
त्यहाँ गम्भीर बिरामीका लागि भनी छुट्याइएका २४ बेडको आईसीयु कक्षमध्ये २३ वटाामा जटिल अवस्थाका संक्रमित बिरामीको उपचार भइरहेको छ । यीमध्ये २० भन्दा बढी बिरामीको भेन्टिलेटरको सहायतामा उपचार भैरहेको छ ।
उपत्यकाका निजी अस्पताल पनि भरिभराउ हुन थालेका छन् । प्रायजसो अस्पतालले कोरोना संक्रमित बिरामीका लागि बेड नै नभएको सार्वजनिक घोषणा गरिरहेका छन् । स्वास्थ्य बजारमा अक्सिजन अहिले पनि अभाव छ ।
संक्रमित बिरामीका लागि डाक्टर र नर्सको संख्या पर्याप्त छैनन् । अस्पतालमा उपलब्ध उपकरण पनि बढ्दो संक्रमणका कारण अपुग हु्ँदै गैरहेका छन् । महामारीले च्याप्दै लगेको अनुपातमा उपकरण, औषधि तथा आवश्यक सामग्रीको जोहो समयमै गरिएन भने अवस्था भयाबह हुने देखिन्छ ।
संक्रमित उपचारको अग्र मोर्चाका खटिरहेका डाक्टर तथा नर्सहरुका लागि आकर्षक सेवासुविधा प्रदान गर्ने प्याकेज कार्यक्रम समयमा ल्याइनु जरुरी छ । खोपको बिस्तारका साथै अन्य आवश्यक औषधिको मूल्य निर्धारण, अनुगमन, निरीक्षण र मूल्यांकन पनि उत्तिकै जरुरी छ ।
आमजनताका लागि मास्कको उचित प्रयोग, भौतिक दुरीको ख्याल, स्यानिटाइजरको प्रयोग, अनावश्यक हिंडडुलमा रोक, खोप लिने कुरामा ख्याल आदि निकै ध्यान दिन योग्य कुराहरु छन् । पहिलो लहर आउँदा खाएका हण्डर ठक्करबाट सिकेको पाठअनुसार दोस्रो लहर आउँदा व्यवहार नभएपछि यो अवस्था बेहोरिरहेका हामी तेस्रो लहर निम्तदाँसम्म हेलच्याक्राइँ नगरौं ।