• फाल्गुन २७ २०८२, बुधबार

भिडभाड हुने गतिविधि नगर्न राजनीतिक दललाई प्रधानमन्त्री देउवाको आग्रह

श्रावण २३ २०७८, शनिबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूलाई भीडभाड हुने गतिविधि नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री  देउवाले व्यापार व्यवसाय सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्न पनि व्यवसायीहरूलाई आग्रह गरेका छन् ।‍

शनिबारदेखि सुरु भएको ‘नेपाल मास्क’ अभियानको सन्दर्भमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण राजनीतिक दलहरूलाई भीडभाड हुने गतिविधि नगर्न आग्रह गरेका हुन् ।

उनले नेपालमा पनि कोभिड-१९ महामारीको तेस्रो लहर सुरु हुने लक्षण देखिएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सुरक्षित रहन आग्रह गरेका छन् । साथै, प्रधानमन्त्री देउवाले अहिले खोप अभियान पनि जारी रहेकाले खोप लगाउन जाँदा सामाजिक दूरी कायम गर्न समेत आग्रह गरेका छन् ।

सरकारको एक्लो प्रयासले कोभिड नियन्त्रण गर्न नसकिने भन्दै प्रधानमन्त्री देउवाले सबैको साझा प्रयासले कोभिड महामारीलाई नियन्त्रण गर्न सफल हुने विश्वास पनि व्यक्त गरे ।

सरकारले शनिबारदेखि साउन २९ गतेसम्म ‘नेपाल मास्क अभियान’ सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता‚ मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ अभियान सुरु गरेको हो ।