काठमाडौँ। गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजनको अन्तिम भिडन्त आज (शनिबार) हुँदैछ । आज हुने अन्तिम कार्यक्रमलाई ‘द भ्वाइस’ले ‘ग्राण्ड फिनाले’ नाम दिइएको छ । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’लाई आयोजकले नेपालको सबिभन्दा ठूलो गायन रियालिटी शो भनेर दाबि गरेको छ ।
कोरोना महामारीकै बीचमा गतवर्षको चैतबाट सरु भएको तेस्रो सिजन ब्लाइण्ड अडिसन, ब्याटल राउण्ड, नकाउट चरणहुँदै लाइभ राउण्डमा पुगेको छ । ब्लाइण्ड, ब्याटल र नकआउट राउण्डबाट कोचहरुले प्रतिस्पर्धीहरुलाई राम्रो गाउनेहरुमध्ये आफूले रुचाएको प्रतिस्पर्धीलाई अगाडी बढाउने तर लाइभ राउण्डबाट जुन प्रतिस्पर्धीको भोट बढी आउछ त्यही प्रतिस्पर्धी अगाडी जाने गरेको आयोजकले बताउने गरेका छन् । पाँच महिना लगाएर प्रतियोगिताको टाइटल विजेता आज घोषणा गरिन लागेको छ ।
अघिल्लो हप्ता भएको सेमी फाइनलमा आफ्ना बलिया प्रतिस्पर्धीलाई हराउँदै उत्कृष्ट आठबाट कोच दिपको समूहबाट आर्यन तामाङ, कोच प्रमोदको समूहबाट किरण गजमेर, कोच राजुको समूहबाट तारा श्रीषमगर र कोच तृष्णाको समूहबाट ज्वाला राई उत्कृष्ट चार अर्थात फाइनलमा प्रवेश गरेका छन् ।
दर्शक तथा स्रोताहरुले गरेको भोटको आधारमा आफ्ना बलिया प्रतिस्पर्धी गोविन्द पुनलाई हराउँदै आर्यन तामाङ, रबी गहतराजलाई हराउँदै किरण गजमेर, सोनाम शेर्पालाई हराउँदै तारा श्रीषमगर र अफ्रिता खड्गीलाई हराउँदै ज्वाला राई फाइनलमा पुगेका हुन् । आज राती आठबजे सुरु हुने फाइनलबाट दर्शक तथा स्रोताहरुको भोटको आधारमा तेस्रो सिजनको टाइटल बिजेता घोषणा गरिने ‘द भ्वाइस अफ नेपाल’ले जनाएको छ ।
यस्ता छन् प्रतिस्पर्धीहरु
१) तारा श्रीषमगर
तारा श्रीष मगर ‘द भ्वाइस अफ नेपाल’का तीनवटै सिजनसम्म पनि कोही महिला प्रतिस्पर्धी फाइनलमा पुग्न नसकेको रेकर्ड तोडेर तेस्रो सिजनमा फाइनलमा पुगेकी एकमात्र महिला प्रतिस्पर्धी हुन् । बाग्लुङ्गमा जन्मिएकी तारा धेरै गीत गाइसकेकी भएपनि उनको नाम यस अघि धेरैलाई थाहै थिएन । खासगरी लोकसंगीतको उर्वरभूमिको रुपमा चिनिएको बाग्लुङ्ग जिल्लामा जन्मिएर पहिले पोखरालाई अनि पछि राजधानी काठमाडौँलाई संगीत संघर्षको थलो बनाएकी उनी प्रायजसो लोकगीत गायरै फाइनलमा पुगेकी हुन् । ब्लाइण्ड राउण्डमा चारैजना कोचहरुको कुर्सी आफूतिर घुमाउन सफल भएकी ताराले आफ्नो कोचको रुपमा कोच राजु लामालाई रोजेर भ्वाइसका अरु सबै राउण्ड पार गर्दै फाइनलमा पुगेकी प्रतिस्पर्धी हुन् । उनलाई भ्वाइसको यो सिजनको सबैभन्दा बलियो प्रतिस्पर्धीको रुपमा हेरिएको छ ।
२) किरण गजमेर
अमेरिका निवासी किरण गजमेर नेपाली मुलका भुटानी हुन् । नेपालको झापाको खुदुनाबारीमा रहेको भुटानी शरणार्थी शिविरमा जन्मिएका किरण गजमेर पछि केही भुटानी शरणार्थीहरुलाई अमेरिकाले लिने भएपछि अमेरिका पुगेका हुन् । नेपाली संगीतलाई धेरै माया गरेर गाउने किरण अमेरिका पुगेपनि सोही देशमा हुने कार्यक्रमका विभिन्न मञ्चहरुमा नेपाली गीत गायर अमेरिकामा बस्ने नेपालीको मन जितिसकेका गायक हुन् । अमेरिकाबाट सो गायन प्रतियोगितामै भिड्नको लागि नेपाल आएका उनी सुगम संगीतका प्रतिभावान गायक हुन् । तेस्रो सिजनमा उनलाई पनि बलियो प्रतिस्पर्धीको रुमपा हेरिएको छ ।
३) ज्वाला राई
भोजपुरका ज्वाला राईलाई भ्वाइसमा ‘चुलबुले भाई ज्वाला राई’ भनेर तेस्रो सिजनमा उपनाम दिइएको छ । उनी कोच तृष्णाको समूहबाट फाइनलमा पुगेका प्रतिस्पर्धी हुन् । आफ्नो टिमबाट विभिन्न चरणमा अरु १५ जना प्रतिस्पर्धीहरुलाई हराउँदै आएका राई समूह तृष्णाबाट बलियो प्रतिस्पर्धीको रुपमा देखिन्छन् ।
३) आर्यन तामाङ
आर्यन तामाङ ‘महागुरु’ कोच दिपको सिमूहबाट फाइनलमा पुगेका प्रतिस्पर्धी हुन् । तेस्रो सिजनका सबैभन्दा कान्छा प्रतिस्पर्धी तामाङ नपत्याउदो पारामा उत्कृष्ट चार अर्थात फाइनलमा पुगेका गायक हुन् । नेपालीहरुले अत्यन्तै माया गर्ने भारतको दार्जिलिङबाट प्रतियोगितामा सहभागी हुन आएका तामाङलाई बलियो टिमको बलियो प्रतिस्पर्धीको रुपमा हेरिएको छ ।
नेपालको सबैभन्दा ठूलो भनिएको गायन रियालिटी शोको कार्यक्रमका प्रमुख तथा निर्देशक लक्ष्मण पौड्याल रहेका छन् भने कार्यकारी निर्माता तथा संचालक सुशील नेपाल छन् । करणराज कार्कीले संगीत निर्देशन गर्ने सो साङ्गितिक कार्यक्रमको रेकर्ड गिरिष श्रेष्ठले गर्ने गर्छन् ।
सो गायन रियालिटी शोको सिर्जना अमेरिकाका टेलिभिजन प्रस्तोता जोन डि मोल जेआरले गरेका हुन् भने यसको विश्वव्यापी परामर्शदाताको रुपमा नोर्फा जलिल रहेका छन् ।
१४५ देशमा चलिरहेको यो फ्रेंचाइज सांगीतिक प्रतियोगिता नेपालमा आएर ‘द भ्वाइस अफ नेपाल’ भएको हो । वरिष्ठ संगीतकर्मी दीप श्रेष्ठ, चर्चित संगीतकर्मी प्रमोद खरेल र सुनौलो आवाजका धनी संगीतकर्मी राजु लामा यसका पुरानै निर्णायक हुन् भने सिजन ३ बाट नयाँ निर्णायकको रुपमा लोकप्रिय गायिका तृष्णा गुरुङ आएकी छिन् ।