• माघ १८ २०८१, शुक्रबार

निमिट्यान्न कविकुञ्ज र पहिचान देखिनसहने आधुनिकताको भूत

श्रावण २३ २०७८, शनिबार

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काएर संग्रहालय निर्माण थालेको छ । कविकुञ्जका रुपमा रहेको लक्ष्मीप्रसादको घर भत्काएर त्यही जगमै संग्रहालय निर्माण सुरु भैसकेको छ । यसो किन गर्नु पर्यो ? प्रतिष्ठान केही पनि बोलेको छैन ।

साहित्य क्षेत्रका सरोकारवालाले चिन्ता प्रकट गरिरहे पनि महाकविकै योगदानको विरासतमा टेकेर ठडिएको प्रतिष्ठान अहिले उनकै घरको जगमा संग्रहालय ठड्याउन अहोरात्र जुटेको छ ।

‘हिंड्दैछ पाइला मेट्दैछ’ भने झैं नेपालीहरुको सोच र बानीमा सुधार आएन । बरु पुरानो निमिट्यान्न पारेर नयाँ निर्माण गर्ने आधुनिकताको राक्षसी भोकले अठ्याउँदै लगिरहेको छ ।

अब त न इतिहासको ख्याल छ, न त ऐतिहासिकताको ? ठेक्कापट्टा, जीविकोपार्जन र आफ्नो जगबिनाको आधुनिक काम गराइको बखान मात्र ! कविकुञ्जको जगमा प्रतिष्ठानले ७ करोड ११ लाख ७६ हजार रुपैयाँ लागतमा सङ्ग्रहालयको आधुनिक कंक्रिट भवन उभ्याउँदै छ ।

हामीले पढेका पनि छौं, कुनै जातिलाई नष्ट गर्नु छ भने उसको इतिहास नष्ट गर । गर्दै छौं पनि त्यहीं । शायद बुझाइ पनि यही छ– पुरानो भनेको अगति र रुढीवादिता र नयाँ भनेको सभ्याता र आधुनिकता !

देवकोटाको घर सबलीकरण गर्नुको सट्टा स्वाहा ! ‘ना रहेगी बाँस, ना बजेगी बाँसुरी !’ शायद देवकोटा भन्दा अग्लो कद आफूहरुलाई चाहियो, त्यो साहित्य सिर्जनामा होइन, बरु पद, पैसा र प्रतिष्ठामा ! धन्य प्रतिष्ठान !