शिम्ला । भारतको हिमाञ्चल प्रदेशमा रहेको सिरमौर जिल्लामा चालकको चलाखीले ठूलो दर्घटना हुनबाट जोगिएको छ । पान्वटा शिलाई नेशनल हाईवे–७०७ को बोहराडको नजिकै एक निजी यात्रुबाहक बस ठूलो भिरबाट ३०० मिटर तल खस्नबाट जोगिएको हो ।
बस दुर्घटना हुनबाट जोगिएपछि बसमा सवार ३० जना सकुशल रहेका छन् । शुक्रबार साँझ ४ बजे ३० जना सवार बस पान्वटाबाट शिलाईतर्फ गइरहेको थियो । बस चालकको चलाखीले दुर्घटना हुनबाट जोगिएको प्रत्यक्षदर्शीले भारतीय सञ्चार माध्यमलाई बताए । कफोटाबाट करिब १० किलोमिटर टाढा पुगिसकेको बसको स्टेयरिङको रड टुट्यो ।
जसको कारण बस सडकको छेउमा रहेको प्यारापिटलाई तोडेर हावामा अड्कियो । तब, बसमा सवार सबै यात्रु रुन र कराउन थाले । बसको आधा हिस्सा सडकबाट बाहिर गइसकेको थियो । तर, उक्त समयमा पनि चालकले होस गुमाएनन् र ब्रेक लगाइरहे ।
जसको कारण बस एउटा मात्र टायरको साहारामा अड्कियो । चालकले उभिएर सबै यात्रुलाई बाहिर निकाले त्यसपछि सबै मिलेर बसलाई ठूलो ढुङ्गाको आड दिएर रोके र चालकलाई पनि बाहिर निकाल्न सफल भए ।