• मंसिर ११ २०८१, मंगलवार

माधव नेपालका दुई विकल्प : विद्रोही हुने कि विद्रुप !

श्रावण २२ २०७८, शुक्रबार

नेपाली वाम राजनीतिका एक शीर्ष नेतृत्व रहेका माधवकुमार नेपाल हाल पछिल्लो राजनीतिकै अक्करे भीरमा नराम्रो गरी फसेका छन् । फर्केर हेर्दा लाग्छ, ‘तिम्रो पनि अलिकति गल्ती भो, मेरो पनि अलिकति गल्ती भो, बाँकी गर्यो पापी संसार !’

नेकपा एमालेलाई हुर्काउँदै यो अवस्थामा ल्याउँदासम्म उनले खेलेको अब्बल भूमिकालाई कसैले पनि इन्कार गर्न सक्दैन । नियालेर अनुहार हेर्यो, वचन सुन्यो भने पनि एमाले नाम र पार्टीप्रति उनको भावनात्मक लगाव कुनै मानेमा कमी रहेको देखिदैन ।

उनी चर्को बोल्ने अवस्थामा पनि छैनन्, तर मधुरो स्वर सुनिने अवस्था पनि छैन । राजनीतिको लामो समयचक्र पार गर्दा उनका थुप्रै कमी कमजोरी हुन सक्छन् र हुन्छन् पनि । किनकि, उनी मानिस हुन् । तिक्ततापूर्ण पार्टी अन्तर संघर्षले उनलाई कहाँ पुर्यायो, आफ्नै सहकर्मीले ‘गद्दार’ घोषणा गर्दासम्मको स्थितिले स्पष्ट पार्छ ।

एमाले पार्टी फुटाउँदा उनीहरु सबैले वामदेव गौतमलाई ‘संसारकै नम्बर एक भ्रष्टाचारी’को संज्ञा दिएका थिए, सार्वजनिक समारोह आयोजना गरेर । राजनीतिक संस्कारका हिसाबले यो भद्र थियो वा अभद्र ? फर्केर समीक्षा गर्ने अवस्था आएको छ ।

बाह्य तथा अन्तर्राष्ट्रिय अन्तरविरोधले उनलाई कहाँसम्म उपयोग गर्यो र गर्दैछ, यो उनैले समीक्षा गरुन् । त्यो हैसियत राख्छन् उनी । आजको ‘रातो कोइला समातौं कि अङ्गार’ को दोबाटोमा रहँदा नै यस्ता यक्ष समीक्षा जरुरी छन् ।

महाभारतकी चर्चित महिला पात्र गान्धारीले श्रीकृष्णलाई कु्रुक्षेत्रको लडाइँ सकिएपछि श्रापका रुपमा दिएको भविष्यवाणी कृष्णलाई स्वीकार्य छ । यदि नेतामा राजनेता हुने हैसियत हुने हो भने भावी पुस्ताका लागि यो गतिलो पाठ हुने छ ।

नांगो आँखा साक्षी छ, एमाले पार्टी दुई खेमामा विभक्त छ । सापेक्षिक सांगठनिक आकारमा एउटा सानो र अर्को ठूलो होला । क्वै वात नही, भूल जाओ ! तर इतिहास, लिगेसी, मनोभाव र अस्तित्व दुवै खेमाको संकटमा छ । उता केपी ओलीले दूधले नुहाएका छैनन् । उनको पालामा कम्युनिष्ट सरकारको पतन हुन गएको छ ।

यता आफ्नो खेमाको केन्द्रीय समितिमा अधिकांश केन्द्रीय समिति सदस्यको धारणाछ– ‘सम्मानजनक एकता हुन सक्दैन भने विद्रोह !’ नेता माधव नेपालको मत र मन ‘एकताको प्रयास जारी राख्ने’ दुविधामा छ ।

तर उनका अगाडि मात्र दुई विकल्प छन् : ‘रातो कोइला समातौं कि अङ्गार !’ समय गतिवान छ । विद्रोह गरेर रातो कोइला समातौं हातै जलाउँछ, झुकेर एकतामा जाऔं अनुहारै कालो बनाउँछ । बीचमा रहने ठाउँ छैन ।

रातो कोइला समातेर विद्रोही हुने वा कालो अंगार समाएर विद्रुप ? तर यता आगो बल्न सक्छ, उता कचकच र अपमानको चीसो चूल्हो ! रोजाइ स्वयम्को !!