• असार १६ २०८१, शनिबार

जनयुद्धपछि फूल तथा बिरुवा व्यवसायमा जमेका रोका

श्रावण २२ २०७८, शुक्रबार

घोराही, २१ साउन ।
मोटर साइकलमा गुरुरुरु…..गर्दै घोराही १४ लोहासुर दाङका लोकेन्द्र रोका एभर ग्रिन गिफ्टस एण्ड म्यूजिकल घोराहीमा आउनुभयो । चारवटा सिसाका गमलामा रहेका प्लान्ट बुझाउनुभयो । शहिद उमेशमार्गस्थित गिफ्टसका सञ्चालक भोला खनाल (कुलराज) बाट हिसाब गरेर नगद पैसा लगि फर्किनुभयो ।

रोकाको यो क्रम चलिरहेको छ । प्लान्ट बेचेर रोकाले फटाफट कमाई गर्नुभएको छ । यता ग्राहकको शौख पुरा गरेकोमा खनाल पनि खुशी हुनुहुन्छ । यतिबेला गिफ्ट तथा घरको सुन्दरता बढाउन यसको माग बढेको छ । पैसाको फिकर भन्दा घर तथा कोठाको रोमाञ्चकता बढाउन चाहन्छन् । महंगै भएपनि देख्दा आकर्षक लागेपछि ग्रहकले पैसा निकाल्न फ्यासै मान्दैनन् ।

‘यसलाई मिनरल वाटर खुवाउने हो’ र्याकभरी सजिएका बिरुवा देखाउँदै जलजला पुष्पखेती घोराही १४ दाङका लोकेन्द्र रोकाले भन्नुभयो, ‘अरु स्याहार खास्सै गर्नु पर्दैन ।’ उहाँका अनुसार इन्डोर प्लान्ट । शो प्लान्टका अनेक थरी बिरुवा छन् । यति बेला यसको माग उच्च छ ।
लोहासुरस्थित बगैचामा रहेको सडक किनारको सटर भित्र पस्दा शिसाको गमला भित्रबाट हरियाली मौलाएको देखिन्छ । हरिया पात र नरम डाँठ सहितका प्लान्ट कोठाभित्रको र्याकमा कलकल पलाएको छन् । शिसाको गमला भित्र पलाएका जराहरु परैबाट छ्वाङ्ङै देखिन्छन् । उहाँका अनुसा त्यो प्लान्टको नाम लक्की ब्याम्बो हो ।

उक्त सटर भित्र थाईडान्सीङ, लोत्से लगायत जातका शो प्लान्टहरु रहेका छन् । ती इन्डोर प्लान्टलाई घर भित्र टेबल, र्याक लगायत न ढल्ने जुन ठाउँमा पनि राख्न सकिन्छ । उहाँका अनुसार अनलाईन माग बढेको छ । दाङ भन्दा बाहिर जिल्लाबाट समेत ग्राहकहरु आउन थालेका छन् ।
यति बेलासम्म अफिस तथा घरका कोठा भित्रको सजावटका लागि प्लाष्टिकका बोट तथा फूल प्रयोग हुँदै आएका छन् । त्यसको ठाउँमा प्लान्ट आएपछि अति उत्तम भनेका छन् । त्यसमा पनि यी जातका प्लान्ट मेहनत कम सुन्दरता बढी दिने मानिन्छन् । तिनले अतिथि कक्षा, बेडरुमलाई शोभायामान बनाउँछन् । कोठाभित्रको अक्सिजन पनि सन्तुलित बनाउने रोकाको दाबी छ ।

हजारीका फूल तिहारमा बेचेर रोकाले सात वर्षअघि व्यवसाय थाल्नुभएको थियो । यति बेला पनि ठूलो मात्रामा फूल तथा बेर्ना उत्पादन गरिरहनुभएको छ । उहाँले विकास गर्दैजाँदा अहिले कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेशले उपलब्ध गराएको पारदर्शी फ्रिज छ । सञ्चालक रोकाका अनुसार त्यसले ६ देखि १२ डिग्रीको तापकक्रम कायम राख्छ । त्यसमा तयार भएका माला र फूल राख्ने हो । कत्ति पनि बिग्रिँदैन । उहाँका अनुसार एक दिन अघिको टाइम दिए फूल उपलब्ध गराउन सकिन्छ । बारीमा भएको तुरुन्तै उपलब्ध हुन्छ । यति बेला साउनमा शुभ कार्य खास्सै नहुने भएकाले माग अनुसार ल्याइन्छ । भदौदेखि यहिँ फूल्छन् ।

बगैँचामा तिनथरी हजारीका बिरुवा तयार भएको रोकाको भनाई छ । उहाँका अनुसार हजारीका बिरुवा दिनहुँ बिक्री हुन थालेका छन् । तिहारलाई लक्षित गरेर रोकाले हजारीका बेर्ना तयार गर्नुभएको हो । आफैलाई नपुग्नेहो कि भन्ने जस्तो अवस्था आएको छ । अलि पछिसम्म फुल्ने र घरको शोभा बढाउने हजारीका बिरुवा भदौसम्म तयार गर्ने उहाँको योजना छ ।

तिन वर्ष अघिको तिहारमा हजारी माला बिकेनन् । त्यसबेला स्थानीयले प्रशस्त मात्रामा घरघरै फुल उत्पादन गरे । बचेको फूलको बिउ उत्पादन भयो । रोकाको बारीको फुल बिउमा परिणत गरियो । गतवर्ष अत्यधिक माग बढ्यो पूर्ती गर्नै महामुश्किल भयो । सबैले छोडेछन् क्यार ! हजारीका माला तथा फूल खोसाखोस गरे । अहिले बिरुवा पनि उत्तिकै विक्री भएको छ ।

बगैँचामा अनेकथरी फुलका बिरुवा थपिँदै गरे, उहाँमा रस पस्दै गयो रोकाले मेहनत बढाउँदै लग्नुभयो । रोल्पाको जेल्वाङबाट झर्नुभएका रोका फूल व्यवसायमा अब्बल हुँदै जानुभयो । संयोगले वडाअध्यक्ष शक्तिराम डाँगी सरसफाई अभियान अगुवा पर्नुभयो । उहाँको साथ सहयोग पुरापुर रह्यो । उहाँले फूल फुलेको घर सफा हुन्छ भन्ने मान्यतालाई व्यवहारिकता दिन रोकाको बगैँचाले सघायो । वडा, नगरहुँदै प्रदेश सरकारबाट पनि सहायता र प्रोत्साहन मिल्यो । रोकाले प्रशिक्षार्थी हुँदै अहिले फूल  खेतीको प्रशिक्षक र अनुभव साट्नेमा विकास गर्नुभएको छ । सरकारका तर्फबाट भएका प्रविधि, सिप र बिउ तथा बेर्नाको अनुदानले खेती थप विकसित बनेको छ ।

अहिले यति जातका यो बिरुवा छन् भन्नेमा रोका आफै अनविज्ञ हुनुहुन्छ । अनलाइन सर्च गरेर, कतै गएको बखत फेला पारेको बिरुवा ल्याएर, सरकारले उपलब्ध गराएका बिरुवा राखेर, नर्सरी वृहत बनाउनु भएको छ । केहि बिरुवाका नाम कापी हेरेर मात्रै भन्न सक्नु हुन्छ । हजारी, मखमली, गोदावरी लगायतका बिरुवा प्रशस्त मात्रामा तयार छन् ।

यसैगरी स्नेक प्लान्ट, धुपी, जीरोनियम, रेड लेडी मेवा, जापानी स्टेवरी, इन्डोर प्लान्ट, मनि प्लान्ट लगायतका शो प्लान्ट धेरै छन् । सिजन प्लान्ट पनि छन् । ‘बिरुवा उत्पादन गर्ने धेरै जग्गा चाहिने रहेछ’ रोकाले भन्नुभयो, ‘आठ दश विघाहाको बाँझो प्लट खोजिरहेको छु पाएको छैन ।’ उहाँका अनुसार प्लटिङ गरेर छोडेको १२ कठा जमिन सौँडियारमा फेला पारेको छ । लकडाउन पछि बाँझा जमिन भेटिन छोडेका छन् । खेती त गर्न चाहेपनि लिजमा पाइँदैनन् ।

खेतीमा बाह्रमासे फूल, हंंशराज, चेसीज, धुपी लगायतका जात छन् । उहाँका अनुसार ठूला व्यवसायीले विकसित देशमा एउटै जातको फूलखेती गर्छन् । यहाँ त्यसरी चल्दैन । एउटै बोटवाट ५०-६० वटा बिरुवा निकाल्न सकिन्छ । त्यसका लागि प्रशस्त ठाउँ चाहिन्छ । तर, गुजुमुजु पारेर अनेकथरी सो प्लान्ट, इन्डोर प्लान्ट, फूल तथा फलका बिरुवाहरु राखिएका छन् । तिनलाई आवश्यक पर्ने उसै किसिमका गमलाहरु छन् । फूल वा गमला चाहना अनुसार लैजान सकिने उहाँ बताउनु हुन्छ ।

घोराही बजारको मुटुमै उक्त खेती रहेको छ । बजारले मागे अनुसारको प्रशस्त फुल फुलाउनु भएको छ । भ्यालेन्टाइनमा चाहिने गुलाव फुलाउन खोजेको रोकाको भनाइ छ । त्यसका लागि ठूलो लगानी प्रशस्त जमिन चाहिने भएकाले सकिएको छैन । जनयुद्ध पछि व्यवसायमा लाग्नुभएका रोका हरेक बखत बारीमा काम गरिरहेको भेटिनु हुन्छ । फूल उद्यममा निकै उत्सुक हुनुहुन्छ । मिनरल वाटर खाने प्लान्ट समेत उपलब्ध गराउनु भएको छ ।