• मंसिर ११ २०८१, मंगलवार

आपसमा हेलमेल हुने र हुल बाँधेर हिंड्दा संक्रमण बढेर गयो  : डा.शेरबहादुर पुन

श्रावण २२ २०७८, शुक्रबार

(कोरोना महामारीको दोस्रो लहरको संक्रमण उच्च भैरहँदा तेस्रो लहर आउने वा कतिपयले आइसकेको अभिव्यक्ति दिइरहेका बेला टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर तथा क्लिनिकल रिसर्च युनिटका प्रमुख शेरबहादुर पुनसँग कोरोना महामारीको तेस्रो चरण सुरु भैसकेको चर्चा परिचर्चाका बारेमा गोलमेडियान्युज डटकमका संवाददाताले गरेको समसामयिक अन्तर्वार्ताको मुख्य अंश–सम्पादक ।)

 १.कोरोना महामारीको तेस्रो लहर आइसकेको हल्लाखल्ला छ डाक्टरसाब, आएकै हो ?

दोस्रो लहर निकै उच्च विन्दुमा छ । तेस्रो लहर आइसकेको घोषणा गर्न अति हतार हुन्छ । तर मानिसको जुन ‘मुभमेन्ट’ देखिएको छ, यसले तेस्रो लहर आगमनका लागि वातावरण राम्रो बनाएको छ । मानिस हुलमुल गरिरहेका छन् । भिडभाड व्यापक छ । दोस्रो लहरले पनि संक्रमणलाई उच्च विन्दुमा पुर्याएको छ ।

२. तेस्रो लहर आएमा निकै विपत्ति ल्याउँछ भनिन्छ ?

तेस्रो लहर आइसकेको पनि छैन । यसले दोस्रो लहरको जस्तो विपत्ति निम्त्याउने पूर्वाकलन पनि गरिएको छैन । यसका केही आधारहरु पनि छन् । खोप लगाउँदै गरिएको छ । हालसम्म नेपालमा देखिएका भेरियन्ट नयाँ छैनन् । सबै अन्य देशबाट आयातित छन् । नेपालमा पछि फैलिएका छन् । नेपालमा कुनै नयाँ भेरियन्ट सिर्जना भएका छैनन् । नेपालमा प्रभाव पारिरहेको दोस्रो लहर पनि डेल्टा भेरियन्टको कारणले हो । यो पनि बाहिरबाट आएको हो । नयाँ भेरियन्ट नेपालमा सिर्जना भए मात्र हो, नत्र भने तेस्रो लहर पनि हल्ला गरे झैं भयंकर हुने पुष्टि भैसकेको होइन ।

३. तेस्रो लहरको प्रतिरोधका लागि के गर्नुपर्छ हामीहरुले ?

हामीहरुले अपनाउँदै आएको सावधानी नै हो । मास्क सही तरीकाले लगाउनु पर्छ । अनावश्यक रुपमा जम्मा हुने, भिडभाड हुने र हुलमुल गर्ने नगरी आवश्यक दुरी कायम गरेर सतर्कता अपनाउनु जरुरी छ । साबुन पानीले हात धुने बानीलाई निरन्तरता देऔं । आलस्य वा लापर्वाही नगरौं । बन्द कोठामा नबसौं । बसेको स्थानमा हावा वारपार हुने व्यवस्था गरौं । मानिस जम्मा भएको स्थान वा ठूलो परिवारमा खुल्ला भेन्टिलेसनको व्यवस्था गर्न नभुलौं । स्यानिटाइजरको उचित व्यवस्था गरौं । सकेसम्म कोठा बाहिर ननिस्कौं र भिडभाड पनि नगरौं ।

४. अहिले पनि संक्रमण त चर्कै छ, संक्रमण घट्ने संभावना … ?

हो, संक्रमण बढेकै हो । तर विगत पहिलो संक्रमणसँग तुलना गरेर हेर्यौं भने यो पहिलो संक्रमणजस्तो दिनै पिच्छे ह्वात्तह््वात्ती बढेको होइन । दोस्रो लहरमा आएको संक्रमणको उचाइ त मानिसको अनावश्यक मुभमेन्ट भएपछि न हो । सतर्कता पनि त कमै मात्र अपनाइएको छ यो दोस्रो लहरमा । हेलच्याक्राइँ बढी छ ।

५. निषेधाज्ञा पनि त जारी छ नि ?

जनजीविका निकै कठिन भयो भनेर निषेधाज्ञा खुकुलो पारेसँगै भिडभाड बढ्न थाल्यो । वैदेशिक रोजगारका लागि खुल्ला गरियो । यसले पनि संक्रमणमा बृद्धि गरायो । हरेक दिन हरेक सेक्टरहरु एकपछि अर्को गरी खुल्दै गए । मानिसहरु एकअर्काको सम्पर्कमा आउने र हेलमेल हुँदै हुल नै बाँधेर हिंड्ने गतिविधि सुरु भयो । यसले संक्रमणलाई बढायो ।