काठमाडौँ। पछिल्लो चरणमा निकै आक्रामक र संक्रामक देखिएको डेल्टा भेरियन्टसँगै विश्वभर खोपको माग बढिरहेको बेला चीनले विभिन्न देशहरुलाई करोडौं डोज खोप अनुदान सहयोग उपलब्ध गराएर आफ्नो खोप कुनीतिमा अब्बल स्थान कायम गरिरहेको छ ।
कम विवादित र कम साइड इफेक्ट हुनुका साथै चीनमा महामारीको संक्रमण रोकिएकाले पनि विश्वको ध्यान चिनियाँ खोपमा तानिएको छ । यही सदाशयता कायम रहेका बेला चीनले पनि आफ्नो खोप सहयोगको कूटनीति सफलतापूर्वक बिस्तार गरिरहेको छ ।
डेल्टा भेरियन्टको सङ्क्रमण तीब्र रूपमा फैलिएसँगै विश्वमा महामारी संक्रमण अनियन्त्रणमा अबका दिनमा खोपभन्दा अर्को उत्तम विकल्प अरु केही नभएको धारणा बनिसकेको छ । खोप पनि विकसित देशहरुले निर्माण गरिरहेकाले निर्मित खोपहरुमा कुनचाहिं बढी प्रभावकारी र कम हानिकारक भनेर तुलनात्मक अध्ययन हुँदै आएको छ ।
सबै देशमा बिना ढिलाइ आफ्ना नागरिकलाई खोप दिलाउन चाहना व्यक्त भैरहेको छ । यसका साथै कुन खोप भन्ने रोजाइ पनि जनताका माझमा चर्चा हुँदै आइरहेको छ । पछिल्ला दिनमा खोपको मागअनुसार अनुदान सहयोग र खरीदमार्फत् आपूर्ति हुन थालेको छ ।
यही माहौलका बीचमा चिनियाँ राष्ट्रपति सी जिनफिङले बिहीबार यो वर्ष अर्थात् सन् २०२१मा विश्वभर २ अर्ब डोज खोप पुर्याउने लक्षय रहेको सार्वजनिक घोषणा गरेका छन् । घोषित यो मात्रामा चीनले अन्य देशहरुलाई दिने अनुदान सहयोग र बिक्री गर्नेमात्रा रहेको छ ।
राष्ट्रपति सीले विश्व स्वास्थ्य सङ्गठनले सञ्चालन गरिरहेको ‘कोभ्याक्स कार्यक्रम’लाई १० करोड डलर उपलब्ध गराउने घोषणा पनि गरिसकेका छन् । यस कार्यक्रम अन्तरगत विश्वका गरिब देशहरुलाई अनुदान खोप उपलब्ध गराइने छ ।
विश्वका अति महाशकित राष्ट्रको प्रतिस्पर्धामा रहेका चीन र अमेरिकाबीच ‘भ्याक्सिन डिप्लोमेसी’ (खोप कूटनीति) को होड चलिरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले विश्वका १०० गरिब देशलाई अमेरिकी फाइजर खोपको ५० करोड डोज वितरण गरिने बताइसकेका छन् ।