काठमाडौं । देशभर खोप सप्ताह मनाइने भएको छ ।
सरकारले साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाउने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले खोप सप्ताहका क्रममा दोस्रो डोजको खोप दिने कार्यलाई प्राथमिकता दिइने बताए ।
बिहीबार प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा बोल्दै राज्यमन्त्री श्रेष्ठले दोस्रो डोज खोप नपाएका १३ लाख ५० हजारलाई जापान र भुटानबाट आएको खोप लगाइने जानकारी दिए ।
जापान सरकारले नेपाललाई सहयोगको लागि प्रतिबद्धता गरेको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये करिब आधा (८ लाख डोज) आइपुग्दै छ । दुवै देशबाट शनिबार र आइतबारसम्म खोप आइसक्ने राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।