काठमाडौँ । एमसीसीका विरुद्धमा सरकारलाई दबाव दिने उद्धेश्यले काठमाडौँमा ‘राष्ट्रिय स्वाधिनता र एमसीसी परियोजना’ विषयमा एक बृहद अन्तरक्रिया गरिएको छ । अखिल (क्रान्तिकारी) केन्द्रिय समितिको आयोजनामा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । अन्तरक्रियामा बोल्ने वक्ताहरुले अमेरिकी सहयोग नियोग भनिएको एमसीसी कार्यक्रम नेपालमा लागु गर्न नहुनेका जोड दिए ।
प्रमुख वक्ताको रुपमा बोल्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रिय अध्यक्ष चद्रप्रकाश गजुरेल ‘गौरव’ले नेपालमा एमसीसी लागु गर्नु भनेको डरलाग्दो रुपमा राष्ट्रघात गर्नु भएको बताए । अमेरिकाले एमसीसी मार्फत चीनलाई घेर्न नेपालमा सैन्य अखडा खडा गर्ने बहाना खोजेको उनको भनाई रहेको छ । एमसीसी मार्फत् नेपालको भूगोल कब्जा गरेर यहाँको प्राकृतिक सम्पदा कब्जा गर्ने अमेरिकाको योजना रहेको बताउँदै गौरवले भने,‘एमसीसी मार्फत् हाम्रो देशको भूगोल कब्जा गरेर नेपालको बहुमूल्य युरेनियम कब्जा गर्ने उसको योजना रहेको छ ।’

उनले देशमा केही मानिसहरु राष्ट्रघाती महाकाली सन्धि गरेको जस्तो रातारात अर्को राष्ट्रघाती एमसीसी पास गर्ने षड्यन्त्रमा लागेको आरोप लगाए । गौरवले अमेरिकी साम्राज्यवाद कुनैपनि देशमा एउटा बहाना बनाएर पस्ने अनि त्यो देशलाई ध्वस्त बनाएर मात्रै निस्कने बताए । उनले मानव बिनासक हतियार राखेको छ भनेर सार्वभौम देश इराकमा हमला गरेर त्यहाँका निर्वाचित राष्ट्रपतिलाई मारेर निस्कँदासम्म पनि त्यो देशबाट कुनै मानव बिनासक हतियार निकाल्न नसकेको तर त्यत्रो अपराधमा पनि अन्तिममा ‘सरी’ मात्रै भनेर उम्कने अमेरिकी साम्राज्यवादले नेपालमा पनि त्यस्तै गर्न सक्ने धारणा व्यक्त गरे ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय अध्यक्ष ऋषि कट्टेलले तत्काल एमसीसी परियोजना खारेज गरेर नेपालमा यसको कार्यालय बन्द गर्नुपर्ने धारणा व्यक्त गरे । कट्टेलले एमसीसी परियोजना यो देशमा लागु भएको खण्डमा नेपाललाई अमेरिकाले अफगानिस्तान जस्तो बनाउने भन्दै जसरी भारतमा इष्ट इण्डिया कम्पनीको नाममा अंग्रेजहरु छिरेर भारतमा शासन गरे त्यसरी, अझ त्यो भन्दा पनि माथिबाट नेपाललाई शासन गर्ने हिसाबले अमेरिकाले नेपालमा एमसीसी लागु गर्न चाहेको दावी गरे । उनले भने, ‘इष्ट इण्डिया कम्पनी भन्दा माथिबाट एमसीसी आएको छ ।’

कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले नेपाललाई विकास गर्न एमसीसी खारेज गर्नुपर्ने धारणा व्यक्त गरे । उनले अमेरिकाको राष्ट्रिय सुरक्षा नीतिलाई ध्यानमा राखेर अगाडी सारिएको एमसीसी परियोजना हाम्रो देशको लागि घातक भएको बताए । उनले चीनसँग युद्ध लडेर टुक्रयाउन र कमजोर बनाउन एमसीसी लागु गरेर नेपालमा हतियार ओसार पसार गर्ने अखडा बनाउन अमेरिकाले नेपालमा सो परियोजना लागु गर्न खोजेको बताए । उनले भने,‘अमेरिकाको युद्ध सामग्री ओसार पसार गर्नलाई नै अमेरिकाले त्यो लागु गर्छ ।’ अमेरिकाको एक सुको नआउँदै नेपालको बजेटबाट सरकारले १३ अर्ब एमसीसीको नाममा खर्च गरेको उल्लेख गर्दै पोखरेलले कच्चा पदार्थ बेचेर कुनैपनि देश समृद्ध नहुने बरु कच्चा पदार्थ उपयोग गरेर मात्रै देश समृद्ध हुने धारणा व्यक्त गरे । बिजुली पनि कच्चा पदार्थ भएकोले बिजुली बेचेर भन्दा बिजुली खपत गरेर देश धनी हुने उनले बताए ।

कार्यक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढामगरले एमसीसी परियोजना परिमार्जन वा सुधार होइन कि खारेज गर्नुपर्छ भन्ने आफ्नो पार्टीको स्पष्ट धारणा रहेको बताए । उनले नेपाल बाहेक संसारका अरु १३ देशसँग अमेरिकाले एमसीसी सम्झौता गरेको भएपनि सो कार्यक्रम कुनैपनि देशमा लागु नभएको बताए । अमेरिकाले आफ्नो साम्राज्यवादी विचारधारामा आएको चुनौती र संकटलाई समाधान गर्न यस्तो गुलियो जाल बुनेको भन्दै साम्रज्यवादको यस्तो गुलियो जालमा हस्ताक्षर नगर्न उनले सांसदहरुलाई अनुरोध गरे । यदी कुनै सांसदले एमसीसी जस्तो राष्ट्रघाती सम्झौतामा हस्ताक्षर गरे जनताले त्यस्ता सांसदहरुलाई दण्डित गर्ने उनले बताए ।

कार्यक्रममा अखिल नेपाल आदीवासी जनजाति महासंघका अध्यक्ष ओम गुरुङले अमेरिकाको एमसीसी नेपालमा विकास गर्न होइन विनास गर्न आउन लागेको बताए । एमसीसी संसारभरीका आदीवासी जनजातिहरुको विरुद्धमा भएकोले जनजातिले यस्तो राष्ट्रघाती सम्झौता खारेज गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा नेकपा मालेका स्थायी समिति सदस्य सुरेन्द्र ढकालले एमसीसी मार्फत् नेपाललाई अमेरिकाले बल्छीको टुप्पोमा राखेको गँड्यौला जस्तै बनाउन खोजेको धारणा व्यक्त गरे ।
कार्यक्रममा बोल्दै एमसीसी खारेज अभियानका संयोजक नारायण शर्माले राष्ट्रघाती एमसीसी परियोजना कुनैपनि हालतमा नेपालमा लागु हुन नहुने धारणा व्यक्त गरे । शर्माले पुर्खाले स्वतन्त्र राखेको देशलाई अत्याधुनिक जमानामा पराधिन बनाउने एमसीसीलाई देश र जनताले एकढिक्का भएर खारेज गर्नुपर्ने उनले बताए ।

अन्तरक्रिया कार्यक्रम अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलले सञ्चालन गरेका थिए ।


